एनएलजी इन्स्योरेन्सको ७.३६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४ सय ३२ रुपैयाँ चुक्ता पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांशअन्तर्गत कम्पनीले ४ प्रतिशत बोनस सेयर वितरण गर्नेछ, जसको मूल्य १० करोड २६ लाख ८ हजार ९ सय ७८ रुपैयाँ रहेको छ । साथै ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ, जसको मूल्य ७ करोड ६९ लाख ५६ हजार ७ सय ३३ रुपैयाँ रहेको छ । दुवै प्रकारका लाभांशका लागि कर प्रयोजनार्थ कम्पनीले ०.३६८४ प्रतिशत, अर्थात् ९४ लाख ५० हजार ८ सय २७ रुपैयाँ छुट्याएको जनाएको छ । कम्पनीका अनुसार उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

इसेवाबाट सबै प्रकारका बीमा योजना खरिद अब झन् सहज र लाभदायक

काठमाडौं । इसेवाले बीमा योजना खरिदलाई अझ सहज बनाउँदै अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत इसेवाका प्रयोगकर्ताहरूले इसेवाबाट बीमा योजना खरिद गर्दा स्मार्ट वाच तथा स्मार्ट टिभी जित्ने अवसर पाउनेछन् । इसेवाका अनुसार यो अफर पौष १ देखि पौष ३० सम्म सञ्चालन हुनेछ । यस अवधिमा इसेवा एपमार्फत जीवन बीमा, स्वास्थ्य बीमा, गैरजीवन बीमा, व्यवसाय तथा मोटर बीमा योजना खरिद र ब्लूबुक नवीकरण गर्ने प्रयोगकर्ताहरू स्वचालित रूपमा पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् । इसेवा एपमार्फत यी बीमा योजनाहरू घरमै बसि, केही क्लिकमै खरिद गर्न सकिन्छ । अफर अन्तर्गत हरेक हप्ता इसेवामार्फत बीमा खरिद गर्ने एक जना प्रयोगकर्ताले स्मार्ट वाच जित्ने अवसर पाउनेछन् भने अफर अवधि समाप्त भएपछि एक जना विजेतालाई स्मार्ट टिभी प्रदान गरिनेछ । विजेताको छनोट लकी ड्रमार्फत गरिनेछ । डिजिटल प्रक्रिया र विश्वासिला बीमा साझेदारमार्फत बीमा योजना खरिद अब छिटो, सुरक्षित र झन्झटमुक्त भएको छ । यस अफर मार्फत इसेवाले प्रयोगकर्तालाई डिजिटल रूपमा बीमा खरिद गर्न प्रोत्साहित गर्नुका साथै आर्थिक सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको इसेवाले जनाएको छ ।

जीवन बीमा अभिकर्ताको परीक्षामा अनियमिता गर्ने ११ परीक्षार्थीलाई प्राधिकरणले गर्‍यो कारबाही

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी भएका ११ जना परीक्षार्थीलाई कारबाही गरेको छ । परीक्षामा अनियमिता गरेको भन्दै प्राधिरकणले कारबाही गरी परीक्षा रद्द गरेको हो । कारबाहीमा पर्ने परीक्षार्थीमा धनुषा चीरेश्वरनाथ नगरपालिकाका अम्बिका शाह, नुवाकोट राउतबेसीका गोपीकृष्ण आचार्य, तनहुँ व्यासका अमृत नेपाली छन् । शाह हिमालयन लाइफ, आचार्य नेपाल लाइफ र नेपाली सूर्यज्योति लाइफका तर्फबाट परीक्षामा सहभागी भएका थिए । यसैगरी, संखुवासभा पाथीभराका छिरिङ डोमा शेर्पा, सर्लाही लालबन्दीकी कान्तिकुमारी शर्मा र पर्वत जलजलाकी सिर्जना कारबाहीमा परेका छन् । तीनै जना सन नेपाल लाइफबाट परीक्षामा सहभागी भएका थिए । त्यस्तै, कपिलवस्तु भृकुटीका सन्दीप थारु, लमजुङ दूधपोखरीका रमेशचन्द्र दवाडी र लमजुङ दोर्दीकी आश्का मिश्र पौडेल छन् । थारु सन नेपाल लाइफ, दवाडी नेपाल लाइफ र पौडेल सूर्यज्योति लाइफबाट परीक्षामा सहभागी भएका थिए ।  त्यस्तै, भक्तपुर सूर्यविनायकका विवेक विष्ट र कास्की रूपाका मन्दीप सुवेदीलाई कारबाही गरेको छ । दुवैजना एसियन लाइफबाट परीक्षामा सहभागी भएका थिए ।