३ सय रुपैयाँमा नेपाल रिको २० लाख कित्ता सेयर बेच्दै हिमालयन एभरेष्ट

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपाल रिइन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले रिन्स्योरेन्समा रहेको आफ्नो २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीका अनुसार आज मंसिर २६ गते एक सूचना प्रकाशन गर्दै संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । ईच्छुक संस्थापकले खरीद गर्न चाहेको प्रतिकित्ता मूल्य उल्लेख गरी आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ भित्र निवेदन दिन कम्पनीले आग्रह गरेको छ । यदि सो अवधिभि बिक्री नभएमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। २० लाख कित्ता सेयर बेच्दै हिमालयन एभरेष्ट, किन धमाधम बाहिरिँदै छन् नेपाल रिका संस्थापक ?

एम च्याम नेपालको अध्यक्षमा निर्मलकाजी श्रेष्ठ नियुक्त

काठमाडौं । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एम च्याम नेपाल) को अध्यक्षमा नियुक्त भएका छन् । अमेरिकी व्यवसाय र नेपाली बजारबीचको सम्बन्ध थप सुमधुर बन्ने उद्देश्यसहित एम च्याम नेपालले उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । उनको नियुक्तिसँगै बीमा क्षेत्र र व्यावसायी समुदायमा नयाँ अनुभव र नेतृत्वलाई झल्काउने बताइएको छ । साथै, उनको नेतृत्वले संयुक्त राज्य अमेरिका र नेपालबीच व्यापार, लगानी र आर्थिक सहयोगलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । एम च्याम नेपालमा सञ्चालित अमेरिकी व्यापारिक संस्थाहरूको एक संगठन हो । मेटलाइफ नेपालको महाप्रबन्धकको भूमिकामा उनले कम्पनीलाई सफलताको दिशामा लैजान र व्यवसायिक परिदृश्य भित्र सकारात्मक सम्बन्धहरू बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् । उनी नेपाल लाइफ इन्स्योरेन्स एसोसिएसन (जेबिसान) का भूतपूर्व अध्यक्ष तथा संस्थापक सदस्य पनि हुन् ।

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन मन्त्री बस्नेतको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आइतबार पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा उनले नवनियुक्त बोर्डका अध्यक्ष डा गुणराज लोहनी तथा सदस्यहरू डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्री बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नवनियुक्त अध्यक्ष र सदस्यलाई निर्देशन दिए । मन्त्रालयले बीमा कार्यक्रम प्राथमिकता राखेको भन्दै उनले बीमा कार्यक्रमलाई अझै व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताए । मन्त्री बस्नेतले स्वास्थ्य बीमालाई सबैको पहुँचमा पुर्याउनुपर्नेमा जोड दिए । रासस