बीमा कम्पनीरू शहर केन्द्रित हुँदा ग्रामीण क्षेत्रसम्म बीमा पुगेन : मुख्यमन्त्री शर्मा
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले बीमाको पहुँच विस्तारका लागि बीमा कम्पनीहरू शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रसम्म पुग्नुपर्ने र बीमा सम्बन्धी जनचेतना अविृद्धिमा जोड दिनुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणले कर्णाली प्रदेश सरकारसँग सुर्खेतमा आयोजना गरेको बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री शर्माले बीमा गर्न चाहनेले सहजै बीमा गर्न पाउने र विना झन्झट समयमा नै दाबी भुक्तानी पाउने सुनिश्चित गर्न आग्रह गर्दै बीमाबाट कसरी लाभ प्राप्त गर्न सकिन्छ भन्ने बारेमा स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश सरकारले बीमा सम्बन्धी नीति ल्याउनुपर्ने र सेवासँग बीमालाई जोडेर बीमाको दायरा विस्तारमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले बीमामार्फत थोरै रकमबाट धेरै आर्थिक सुरक्षण हुने भएकाले घर तथा सम्पत्तिको बीमा गर्नुपर्ने र ठेक्कापट्टाका क्रममा मात्र नभई निर्माण सम्पन्न भएपछि पनि भौतिक पूर्वाधारहरूको बीमा गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । प्रदेश सरकारले लक्षित स्थान र समूह पहिचान गरी बीमामा अनुदानको व्यवस्था गर्नु उचित हुने सुझाव दिँदै अध्यक्ष सिलवालले कर्णाली प्रदेशको आवश्यकताका आधारमा बीमाको व्यवस्था गर्न प्राधिकरण तयार रहेको जानकारी दिए । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा क्षेत्रको विकास तथा बीमाको दायरा विस्तार गर्ने, बीमा सम्बन्धी सचेतना बढाउने र बीमा सम्बन्धी समस्याहरूको समाधान गर्ने सन्दर्भमा प्राधिकरणले प्रदेश सरकार र स्थानीय सरकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको बताए । सहभागीहरूले बीमा कम्पनीहरूले पशुबीमा गर्न ध्यान नदिएको, सुँगुरको बीमा नगरेको, बीमा कम्पनीहरू जिल्लाको सदरमुकाममा मात्र केन्द्रित हुने गरेको, गाउँ गाउँमा बीमा कम्पनीहरू नपुगेको, कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको भूमिका निर्वाह नगरेको, कम्पनीका क्रियाकलापबाट बीमा नाफा मात्र नभई सेवा पनि हो भन्ने नदेखिएको, बीमा दाबी गर्न धेरै ठाउँ धाउनुपर्ने बाध्यता रहेको, कृषिबीमामा धेरै समस्या रहेको, कर्णालीमा भूकम्प पश्चात् पनि विपद् कोषमा बीमा कम्पनीहरूको योगदान नभएको जस्ता गुनासाहरू आउने गरेको जानकारी दिए ।
सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा गल्फ टुर्नामेन्ट हुँदै
काठमाडौं । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा ‘सालिको गल्फ टुर्नामेन्ट २०२३’ हुने भएको छ । उक्त गल्फ टुर्नामेन्ट मंसिर १५ र १६ गते हुन लागेको हो । इन्स्योरेन्सले सोमबार एक पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता दुई दिनसम्म हुने जानकारी गराएको हो । प्रतियोगिता मंसिर १५ र १६ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा हुने छ । उक्त प्रतियोगितामा १६ विधाका खेलहरु आयोजना गरिनेछ । जसमा विभिन्न महिला पुरुष तथा बिभिन्न उमेर समुहका खेलहरु आयोजना गराईने छ । यस खेलकुद प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य गल्फ खेलमा रुची राख्ने खेलाडीहरुको खेलको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेल प्रति रुची राख्ने जो कोही लागि खेलको आनन्दानुभूती गराउन समेत प्रतियोगिताको आयोजना गरिएको कम्पनीले जनाएको छ । विश्वमा अधिक रुचाईएको खेल मध्ये गल्फ पनि एक रहेको भएतापनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षित रुपमा हुन नसकेको परिप्रेक्षमा यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
भगवान कोइरालाको अस्पताललाई नेशनल लाइफको ७५ लाख सहयोग
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रा.डा. भगवान कोइरालाको अस्पताललाई ७५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । इन्स्योरेन्सले बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थलाई सो रकम बराबरको सहयोग गर्ने भएको हो । नेशनल लाईफले उक्त अस्पतालको निर्माण परियोजनाका लागि ३ वर्षसम्म प्रतिवर्ष २५ लाख रुपैयाँका दरले वित्तीय सहयोग उपलब्ध गराउने गरी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट कम्पनीको कार्यकारी प्रमुख सुरेश प्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् । सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीले पहिलो किस्ता रकम २५ लाख रुपैयाँको चेक पनि सो संस्थालाई हस्तान्तरण गरे । समारोहमा प्रा.डा. भगवान कोइरालाले नेपालका सबै बाल बालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पुर्याउने उद्देश्यले परियोजना संचालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरुमा समेत वाल स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको बताए । यसैगरी कम्पनीको तर्फबाट कार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीले काठमाडौं इन्ष्टिच्यूट अफ चाईलड हेल्थबाट निर्माणधिन वाल अस्पतालको परियोजनामा योगदान पुर्याउन पाएकोमा खुशी व्यक्त गरे । त्यस्तै, अस्पताल सञ्चालन पछि नेपालका बाल बालिकाहरुले सहज रुपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको उनले बताए ।