मेटलाइफ नेपालले ल्यायो नयाँ मोबाइल एप, स्वास्थ्य सुविधासँगै बीमाका सबै सेवा एपबाट

काठमाडौं । मेटलाइफ नेपालले डिजिटलमाध्यमद्वारा स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरू एकै प्लेटफर्ममा संयोजन गरी देशमै पहिलो किसिमको मोबाइल एप वान बाई मेटलाइफ सार्वजनिक गरेको छ । एपको शुभारम्भ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठद्वारा काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममार्फत गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मेटलाइफ एसियाका बङ्गलादेश, मलेसिया, नेपाल र भियतनामकी प्रमुख एलेना बुटारोभा, एसिया प्रमुख माकेटिङ्ग अधिकृत सञ्जीव कपुर, एसिया वितरण प्रमुख योङ्ग हो हान, एसिया प्रमुख सोलुसन्स् डेलिभरी कोक चोए वङ्ग तथा एसिया एजेन्सी प्रमुख मारवान माटरको उपस्थिति रहेको थियो । एपले बीमा पोलिसीहरुलाई थप पहुँचयोग्य, व्यवस्थित र पारदर्शी बनाउनुका साथै प्रयोगकर्ताहरूलाई उनीहरूको वित्तीय भविष्यमा नियन्त्रण राख्न अझ सशक्त बनाउने कम्पनीले जनाएको छ । मेटलाइफका ग्राहकहरु आजैदेखि एपमा दर्ता भई आफ्नो बीमा पोलिसीका बारेमा सूचनाहरू प्राप्त गर्न, मेटलाईफका विभिन्न बीमा सुविधा तथा सेवाहरूका बारेमा खोजी गर्न, बीमा सुविधाका प्रिमियम गणना गर्न, एजेन्टहरूलाई सम्पर्क गर्न र थप जानकारीका लागि कम्पनीसँग जोडिन सक्छन् । एपमा रहेको ३६०हेल्थ सुविधाले स्वास्थ्य सेवा समाधानहरूलाई डिजिटल बीमा सेवाहरूसँग सहज रूपमा एकीकृत गरेको छ । ३६०हेल्थ प्रयोगकर्ताहरूलाई उनीहरूको स्वास्थ्य र स्वकल्याणका लागि मद्दत गर्न र सोको सक्रिय रूपमा प्रबन्ध गर्न मिलोस् भनी सिर्जना गरिएको बताइएको छ ।  यसको अर्को उद्देश्य भनेको प्रयोगकर्ताहरू लामो समयसम्म स्वस्थ रहन सकुन् भन्ने पनि हो । नेपालमा एक चौथाइ जनसङ्ख्या उच्च रक्तचापबाट पीडित छन् र क्यान्सर, हृदय रोग र पक्षाघात जस्ता गम्भीर रोगहरू मृत्युको प्रमुख कारणहरू हुन् ।

सिटिजन लाइफको ‘सिटिजन हिरोज कनक्लेभ’ को तेश्रो संस्करण सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिने ‘सिटिजन हिरोज कनक्लेभ’ कार्यक्रमको तेश्रो संस्करण सफलताका साथ सम्पन्न भएको छ । धुलिखेल स्थीत आगन्तुक रिसोर्टमा भाद्रमा सम्पन्न सो कार्यक्रम ‘सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा’ नाराका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले हरेक आर्थिक वर्ष आफ्ना सिनियर एजेन्सी मेनेजर सहित केहि उत्कृष्ट कार्य गर्ने एजेन्सी मेनेजरहरुलाई सो कार्यक्रमको लागि छनौट गर्ने र उनीहरुलाई थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न विषयमा तालिम दिएर हरेक ढङ्गबाट उत्कृष्ट बनाउन यस कार्यक्रमको आयोजना गर्ने गरेको छ । यस्तो किसिमको कार्यक्रमले लिडर्सहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्र्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । लिडर्सहरुलाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने कम्पनीले जनाएको छ । कम्पनीको यस ‘सिटिजन हिरोज कनक्लेभ’ कार्यक्रममा ६० जना लिडर्सहरुको सहभागिता रहेको थियो भने, कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम साथै प्रमुख व्यवसाय अधिकृत र प्रदेश प्रमुखहरुको उपस्थिती थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक श्री बिजय कुमार झा ले उपस्थित सम्पूर्ण लिडर्सहरुलाई प्रशिक्षण प्रदान गरेका थिए । प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फल्दायी रहेको कम्पनीले जनाएको छ ।

सिटिजन लाइफको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि १९ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बिहीबार आफ्नो कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार आवेदन दिएकामध्ये ९ लाख आवेदकले कम्पनीको १० कित्ताको दरले सेयर पाएका छन् । मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँड गर्दा सो आवेदकले १० कित्ताको दरले सेयर पाएका हुन् । आईपीओको नतिजा सीडीएस एण्ड क्लियरिङ्ग (सीडीएससी)ले सञ्चालनमा ल्याएको आईपीओ रिजल्ट सीडीएससी डट कम डट एनपीमार्फत हेर्न सकिने छ । इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा १५ लाख ८४ हजार ५९७ जनाले कुल १ करोड ७५ लाख ६८ हजार ७५० कित्ता सेयरका लागि आवेदन दिएका थिए । सोमध्ये १४ लाख ७ हजार २३७ जनाको मात्रै आवेदन स्वीकृत भएको छ । त्यस्तै, एक लाख ७७ हजार ३ सय जनाको आवेदन भने रद्ध भएको छ । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २४४ रुपैयाँमा ९० लाख कित्ता सेयर निष्काशन गरेको थियो ।