नेपाल पुनर्बीमाले बीमा कम्पनीहरूलाई भुक्तानी गर्यो डेढ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा पुगेको सम्पत्ति क्षतिको बीमाबापतको भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई सुरु गरेको छ । कम्पनीका अनुसार हालसम्म बीमा कम्पनीहरूमा डेढ अर्ब रुपैयाँभन्दा बढी रकम एडभान्स स्वरूप गइसकेको छ । कम्पनीले शुक्रबारदेखि बीमा कम्पनीहरूलाई दाबीबापतको भुक्तानी दिन सुरु गरेको जनाएको छ । कम्पनीका अनुसार ठूला दाबी परेका कम्पनीहरू सिद्धार्थ प्रिमियर, आइजीआई प्रुडेन्सियल, हिमालयन एभरेष्ट, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको)लाई भुक्तानी दिइसकेको छ । कम्पनी स्रोतका अनुसार पहिलो चरणमा ठूला दाबी परेका कम्पनीहरूलाई भुक्तानी भइसकेको र दोस्रो चरणमा साना दाबी परेका कम्पनीहरुलाई पनि भुक्तानी दिन सुरु भइसकेको छ । ‘पहिलो चरणमा ठूला दाबी परेका कम्पनीहरुलाई हामीले भुक्तानी दिइसकेका छौं । अब दोस्रो चरणमा अरु दाबीहरुलाई पनि भुक्तानी दिन सुरु गरेका छौं, तिहारसम्मसबै कम्पनीहरुलाई एडभान्स बाँड्छौं,’ कम्पनी स्रोतले भन्यो । नेपाल बीमा प्राधिकरणको बुधबार (असोज २२ गते) सम्मको तथ्यांकअनुसार जेनजी आन्दोलनको क्रममा भएको क्षतिमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको दाबी परेको छ । प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका ३ हजार ९९ वटा दाबीका आधारमा उक्त रकम बराबरको दाबी परेको हो । नेपाल पुनर्बीमा कम्पनीले कम्तीमा तिहारअघिसम्म कम्पनीहरुलाई ४ अर्ब रुपैयाँ हाराहारीमा भुक्तानी गर्ने गरी आन्तरिक तयारी गरिरहेको समेत स्रोतको दाबी छ । ‘बढीमा ४ अर्ब रुपैयाँसम्मको भुक्तानी तिहारअघि गर्ने गरी पैसाको व्यवस्थापन भइसकेको छ,’ स्रोतले भन्यो, ‘त्यसपछि बाँकी भुक्तानी सर्भेयरहरूको रिपोर्ट आएपछि बिना झन्झट अगाडि बढाउने हाम्रो तयारी छ ।
‘बीमितहरू आत्तिनु पर्दैन, हामी पैसा दिन्छौं’
‘नेपालका बीमा कम्पनीहरू बलिया छन् र बीमितको दावी भुक्तानी गर्न सक्षम छन् । शिखर इन्स्योरेन्स झनै बलियो छ । जेनजी आन्दोलनबाट नोक्सानी बेहोरेका बीमितलाई बीमा दावी भुक्तानी सुरु गरिसकेका छौं, ’ शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डेले विकासन्युजसँग भने, ‘जेनजी आन्दोलनले हाम्रा ४३३ बीमितलाई नोक्सान पुगेको छ । त्यसमा २ अर्ब ४१ करोड रुपैयाँ बराबर बीमा दावी परेको छ । १७३ बीमितलाई सर्भेयरको सिफारिस अनुसार २५ देखि ५० प्रतिशत अग्रिम भुक्तानी दिइसकेका छौं ।’ उनले बीमितहरूलाई नआत्तिन आग्रह गरे । उनले भने, ‘जसले विधिसम्मत बीमा गराउनु भएको छ, तपाईंहरूले दावी भुक्तानी पाउनु हुनेछ । हामी ग्राहकसँग नियमित छलफलमा छौं । संकटको यस घडीमा तपाईंहरूको आर्थिक सुरक्षाको प्रत्याभूति हामी दिन्छौं ।’ जेनजी आन्दोलनबाट शिखरका २३० बीमितको गाडी जलेको छ । ११५ जनाको घर सम्पत्ति नोक्सान भएको छ । ७८ वटा इन्जिनियरिङ बीमा र १० वटा अन्य बीमा दावी परेको छ । शिखर इन्स्योरेन्सको सेयर पुँजी २ अर्ब ९२ करोड रुपैयाँ छ । गत असार मसान्तसम्म कम्पनीको नेटवर्थ ५ अर्ब ८१ करोड रुपैयाँ छ । ‘जेनजी आन्दोलनको असर कम्पनीलाई अधिकतम ३६ करोड रुपैयाँ भार पर्न सक्छ । यसको असर चालु आर्थिक वर्षको नाफा गत वर्षको तुलनामा कम हुनेछ । तर कम्पनीको समग्र वित्तीय सूचकांकलाई नकारात्मक बनाउँदैन, ’ उनले भने । नगद प्रवाह नियमित एकै पटक ठूलो रकम बीमा दावी हुँदा बीमा कम्पनीहरूको नगद प्रवाहमा समस्या हुने हो कि भन्ने आशंका बजारमा छ । तर शिखर इन्स्योरेन्सका लागि त्यस्तो कुनै समस्या नभएको सीईओ पाण्डेले बताए । ‘हामीले आइतबार साँझसम्म ४१ करोड भुक्तानी दिइसकेका छौं । सोमबारसम्म ५० करोड भुक्तानी गर्दैछौं, ’ उनले भने, ‘नेपाल पुनर्बीमा कम्पनीले ३७ करोड रुपैयाँ अग्रिम भुक्तानी दिने जानकारी दिएको छ । बीमा प्राधिकरणले एयर मार्क (मुद्दती रकम नियन्त्रण) खुला गरेको छ । कम्पनीको सञ्चालक समितिले ५० करोड रुपैयाँ बैंकबाट कर्जा लिने निर्णय गरेको छ । अब नगद प्रवाहमा पनि कुनै समस्या हुँदैन । कात्तिक महिनाभित्र अधिकांश बीमितको दावी भुक्तानी गर्नेछौं ।’ गत सातासम्म नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी देला कि नदेला भन्न दुविधा भएको तर यस साताबाट पुनर्बीमाले दावी भुक्तानी गर्न थालेपछि बीमा क्षेत्रमा मनोबल बढेको सीईओ पाण्डेले बताए । भदौ २३ र २४ गते हुलदंगा बीमातर्फ नेपालले इतिहासकै सबैभन्दा ठूलो क्षति बेहोरेको छ । बीमा कम्पनीहरूको लागि यो बिलकुल नयाँ भोगाइ पनि हो । ‘हामीले २०७२ को भूकम्प पनि पार लगायौं । गत वर्षको ठूलो बाढी पहिलो पनि पार लगायौं । यस वर्ष पनि बाढी पहिरोको असर ठूलै छ । तर बाढी पहिलोबाट हुने जोखिम नेपालका बीमा कम्पनीको लागि सामान्य लाग्न थालेका छन्, ’ पाण्डेले भने, ‘यस पटक पनि हामी जिम्मेवारीपूर्वक काम गरिरहेका छौं । समस्यामा परेका ग्राहकसँग नियमित छलफलमा छौं । सर्भेयरहरूले काम गरिरहेका छन् । डकुमेन्टेशनको काम भइरहेको छ । स्टकहरूको भ्यालुएशनका काम भइरहेका छन् । पूरै नष्ट भएका गाडीहरूको दर्ता खारेजीको काम पनि सुरु भइसकेको छ ।’ बीमा कम्पनीहरूको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड बनाएर नियामकले सही समयमा सही निर्णय गरेको सीईओ पाण्डेले स्मरण गराए । ‘पुँजी बृद्धिसँग कम्पनी बलिया भएका छन् । अब ग्राहकहरू पनि सुरक्षित भएका छन् । यति ठूलो विपत्मा पनि बीमा दावी भुक्तानीमा बीमा सक्षम भएका छन् । हामीले कम्पनीका प्रवर्द्धक सेयरधनीसँग पनि छलफल गर्यौं । कम्पनी बलियो छ, चालु आर्थिक वर्षमा पनि कम्पनी नोक्सानीमा जाँदैन भनेर जानकारी दिएका छौं । कम्पनीको रेटिङ डबल ए माइनस छ । त्यो कायम नै हुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने । गत आर्थिक वर्षका कम्पनीले ४५ करोड खुद नाफा गरेको थियो । असार मसान्तमा कम्पनीको बीमा कोष १ अर्ब ९२ करोड रुपैयाँ छ । कम्पनीको नेटवर्थ प्रतिसेयर १९९ रुपैयाँ छ ।
जेनजी आन्दोलन : २३ अर्ब २२ करोडको बीमा दाबी, डेढ अर्ब भुक्तानी
काठमाडाैं। गत भदौ २३ र २४ गते देशभर जेनजी आन्दोलनका क्रममा हुलदंगाबाट क्षतिग्रस्त सम्पत्तिको बीमा कम्पनीहरुले १ अर्ब ५८ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी (अग्रिम भुक्तानीसहित) गरेका हुन् । प्राधिकरणका अुनसार आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कूल बीमा दाबी रकम करिब २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ । १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमाबाट कम्पनीहरुमा २३ अर्ब २२ करोड ८७ लाख पुगेको हो । आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७१० वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको प्राधिकरणले जनाएको छ । तथ्यांकअनुसार कूल बीमा दाबीमध्ये सम्पत्ति बीमातर्फ ६५३ वटा दाबी परेको र दाबी रकम करिब १९ अर्ब ६ करोड ७६ लाख रुपैयाँ रहेको छ । यसैगरी, मोटर बीमामा २ हजार २०६ वटा दाबी परेको र दाबी रकम करिब ३ अर्ब ४१ करोड ६ लाख रूपैयाँ रहेको छ । बीमकहरूबाट मोटर बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब २४ करोड ९१ लाख रूपैयाँ दाबी भुक्तानी भएको छ । आन्दोलनका क्रममा मोटरहरूमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १ हजार ९३९ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३१४ को सङ्ख्यामा सर्भे प्रतिवेदन बुझाएको तथ्यांक प्राधिकरणमा प्राप्त भएको जनाएको छ । यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९० वटा दाबी परेको छ भने दाबी रकम करिव रू. ३८ करोड ३ लाख रहेको छ । बीमकहरूले इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ८७ लाख दाबी भुक्तानी गरेका छन् । आन्दोलनका क्रममा इञ्जिनीयरिङ तथा ठेक्कामा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १२६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइसकिएको र सर्भेयरहरूबाट हालसम्ममा ५ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बीमकहरूले दिएका छन् । यसैगरी, परिवहन बीमातर्फ बीमा दाबी १२ वटा र दाबी रकम करिव रू. १ करोड ६३ लाख रहेको छ । परिवहनमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि बीमकहरूले ११ वटा दाबीका लागि बीमा सर्भेयर खटाएका छन् । अन्य बीमातर्फ बीमा दाबी ३८ वटा परी दाबी रकम करिव रू. ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिव रू. ५ लाख ५० हजार दाबी भुक्तानी भएको प्राधिकरणले जनाएकाे छ । अन्य बीमातर्फको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि ३६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट ३ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् । नेपाल बीमा प्राधिकरणले बीमितहरूको हित संरक्षणलाई प्रमुख प्राथमिकतामा राखी बीमा दाबी प्रक्रियालाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आएको छ । बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन र समयमैं सम्पन्न गर्नका लागि सर्भे प्रतिवेदन प्रस्तुत गर्ने समयसीमा, दाबी छानविनको पारदर्शिता र बीमितको सहज पहुँचलाई विशेष प्राथमिकतामा राखिएको छ । साथै, प्राधिकरणले बीमकहरूबाट भइरहेको दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन समेत गरिरहेको छ । बीमितहरूको अधिकार सुनिश्चित गर्नका लागि दाबी भुक्तानी सम्बन्धी कार्यमा थप सुधार ल्याउँदै तीब्रता दिन समेत प्राधिकरणले बीमा कम्पनीहरूलाई निर्देशन छ ।