एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद जारी गर्ने, प्राधिकरणले दियो स्वीकृति
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । नेपाल बीमा प्राधिकरणले तोकिएको पुँजी वृद्धि गर्नको लागि इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । ‘एनएलजीलाई ६६ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न अनुमति दिएका हौं,’ प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले विकासन्युजसँग भने । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले पनि कम्पनीको योजनाअनुसार नै हकप्रद सेयर जारी गर्न प्राधिकरणको स्वीकृति पाएको बताएका छन् । प्राधिकरणले कम्पनीहरुको पुँजी वृद्धि गराउने नीति लिएसँगै कम्पनीले हकप्रद मार्फत पुँजी बढाउने प्रस्ताव बीमा प्राधिकरणमा पेश गरेको थियो । जुन असार १८ गते मात्रै औपचारिक रुपमा पारित भएको छ । निर्जीवन बीमा व्यवसाय गर्दै आएको एनएलजी इन्स्योरेन्स नेशनल लाइफ इन्स्योरेन्सको सब्सिडायरी कम्पनी हो र कम्पनीको हालको सेयर संरचना साविकको बीमा समितिको ऐन तथा निर्देशन अनुसार नै भइरहेको छ । त्यसैले पनि प्राधिकरणले एनएलजीलाई हकप्रद सेयर मार्फत पुँजी बढाउनको लागि बाटो खुला गरिदिएको हो । प्राधिकरणले हालसम्म कुनै पनि कम्पनीलाई पुँजी बढाउनको लागि हकप्रद सेयर जारी गर्न अनुमति दिएको थिएन । हकप्रदमार्फत पुँजी बढाउन पाउने एनएलजी इन्स्योरेन्स नै पहिलो कम्पनी भएको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ छ । प्राधिकरणले दिएको स्वीकृति अनुसार अर्थात ६६ प्रतिशत हकप्रद जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४० करोड रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । बाँकी अपुग पुँजी भने बोनस सेयर मार्फत पुर्याउने कम्पनीको योजना छ । प्राधिकरणको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्छ ।
मर्जर बिनै शिखर इन्स्योरेन्सले उठायो सर्वाधिक प्रिमियम, सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रुडेन्सियलबीच प्रतिस्पर्धा
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब रुपैयाँ बराबरको कूल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जेठ महिनासम्मको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका हुन् । साथै, ११ महिनाको अवधिमा बीमा कम्पनीहरुले २५ लाख ३७ हजार ४१६ वटा बीमा लेख जारी गरेका छन् । समीक्षा अवधिमा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेको सूचीमा शिखर इन्स्योरेन्स कायमै छ । कम्पनीले २ लाख ४२ हजार ११९ वटा बीमालेख जारी गरी कूल ४ अर्ब ७६ करोड ८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो । त्यसपछि दोश्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र तेश्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । बीमाशुल्कमा यी दुई कम्पनीबीच कडा टक्कर देखिएको छ । सीमीक्षा अवधिमा सगरमाथा लुम्बिनीले ४ अर्ब ८ करोड ८६ लाख र सिद्धार्थ प्रिमियरले ४ अर्ब एक करोड ७४ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । तीन अर्ब बढी बीमाशुल्क संकलन गर्नेको सूचीमा मर्जरमा गएका अन्य तीन कम्पनी रहेका छन् । जसमा हिमालयन एभरेष्ट, आईजीआई प्रुडेन्सियल र युनाइटेड अजोड इन्स्योरेन्स रहेका छन् । यीमध्ये युनाइटेड अजोडले सबैभन्दा बढी अर्थात ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, हिमालयन एभरेष्टले ३ अर्ब ६ करोड र सिद्धार्थ प्रिमियरले ३ अर्ब एक करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । नेको इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, एनएलजी इन्स्योरेन्स र सानिमा जीआईसीले ११ महिनामा २ अर्बभन्दा बढी प्रिमियम संकलन गरेका छन् । त्यसैगरी, एक अर्ब माथि र दुई अर्बभन्दा कमको बीमाशुल्क संकलन गर्नेको सूचीमा नेपाल इन्स्योरेन्स, दि ओरियन्टल र प्रभु इन्स्योरेन्स रहेका छन् । सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा नेशनल इन्स्योरेन्स रहेका छन् । इन्स्योरेन्सले ११ महिनामा ३० हजार ५६३ वटा बीमालेख जारी गरी ९० करोड ७५ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।
नेको इन्स्योरेन्सको सञ्चालकमा नीलिमा श्रेष्ठ
काठमाडौं । नेको इन्स्योरेन्सको सञ्चालकमा नीलिमा श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालकमा नियुक्त गरेको हो । उनी तराई भिलेज इन्भेष्टमेन्ट प्रा. लि. को तर्फबाट सञ्चालक समितिको बाँकी कार्यकालको लागि नियुक्त भएकी हुन् । नवनियुक्त सञ्चालक श्रेष्ठले असार १५ गते नै पद बहाली गरेकी हुन् ।