बिजनेसमा आईएमई लाइफ एग्रेशिभ, कुन कम्पनीले कति उठाए प्रिमियम ?

काठमाडौं । जीवन बीमा कम्पनीमध्ये आइएमई लाइफ इन्स्योरेन्स बिजनेसमा एग्रेशिभ देखिएको छ । सबैभन्दा बढी प्रतिशतले बीमाशुल्क संकलन गरेसँगै कम्पनी अन्य कम्पनीको तुलनामा बिजनेसमा एग्रेशिभ देखिएको हो । कम्पनीले एक वर्षको अवधिमा २४.७९ प्रतिशत बढी प्रिमियम उठाएको छ । २०७९ जेठमा २ अर्ब ८५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको कम्पनीले २०८० जेठसम्ममा ३ अर्ब ५६ करोड रुपैयाँ बढी प्रिमियम संकलन गरेको छ । समीक्षा अवधिमा अधिकांश कम्पनीले बिजनेस व्यवसाय बढाएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १५ कम्पनीमध्ये ४ वटा कम्पनीको घटेको भने बाँकी सबै कम्पनीको बिजनेस बढेको देखिन्छ । बिजनेस घट्नेमा हिमालयन लाइफ (साविक प्राइम, यूनियन र गुराँस लाइफ), रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र मेट लाइफ इन्स्योरेन्स रहेको छ । रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक र महालक्ष्मी लाइफले सबैभन्दा कम बीमाशुल्क संकलन गरेका छन् । नेपाल लाइफले ३२ अर्ब ३६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ भने महालक्ष्मी लाइफले एक अर्ब ४२ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । समीक्षा अवधिमा जीवन बीमा व्यवसाय ४.२४ प्रतिशतले बढेको छ । २०७९ जेठमा एक खर्ब १९ अर्ब ४७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको जीवन बीमा क्षेत्रमा गत जेठमा एक खर्ब २४ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रिमियम उठेको छ । कुन कम्पनीले कति उठाए प्रिमियम ?

सन नेपाल लाइफले दुई महिनामै भुक्तानी गर्यो १४ लाखको मृत्यु दावी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाख रुपैयाँ बराबरको मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले बीमित स्व. शिव प्रसाद खत्रीको श्रीमती इन्द्रा देवी खत्रीलाई सो रकम बराबरको दावी भुक्तानी गरेको हो । मंगलबार धनगढी कैलालीमा आयोजित एक कार्यक्रममा कम्पनीले उक्त रकमको चेक हस्तान्तरण गरेको हो । स्व. खत्रीले बीमालेख नं.एफई१०००५१३६५४ अन्तर्गत रहि वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । उनको गत बैशाख १८ गते मलेसियामा मृत्यु भएको हो । यससँगै कम्पनीले बीमितले इच्छाएको व्यक्ति श्रीमती इन्द्रादेवी खत्रीलाई किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी जम्मा रकम १४ लाख रुपैयाँ दिएको हो । उक्त रकमको चेक कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले इन्द्रादेवी खत्रीलाई हस्तान्तरण गरेका हुन् ।

एशियन लाइफले ३ रोपनी घरजग्गा किन्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले घरजग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले काठमाडौं र ललितपुरमध्ये एक ठाउँमा घर तथा जग्गा नै खरिद गर्ने जनाएको छ । इन्स्योरेन्स कम्पनीका अनुसार काठमाण्डौं महानगरपालिका वा ललितपुर महानगरपालिका वरपर, रिङ्गरोडभित्र वा रिङ्गरोडसँग जोडिएको क्षेत्रमा २ देखि ३ रोपनी घर तथा जग्गा खरिद गर्ने छ । नेपाल बीमा प्राधिकरणबाट जारी भएको जीवन बीमकको एकीकृत निर्देशिका २०७९ को अधिनमा रही घर र जग्गा खरिद गर्न लागेको कम्पनीले जनाएको छ । घरजग्गा बिक्री गर्न ईच्छुक व्यक्ति र संघ संस्थाहरुले कम्पनीको प्रधान कार्यालय एशियन लाईफ भवन मैतीदेवीमा शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ । घरजग्गा बिक्री गर्न इच्छुकले १५ दिनभित्र पेश गर्नु पर्नेछ । प्रस्तावित जग्गा कम्तीमा २० फिट फराकिलो सडकसँग जोडिएको हुनुपर्नेछ । भवन सहितको जग्गालाई प्राथमिकता दिइने कम्पनीले बताएको छ ।