सेयर कारोबारमा सुधार, शिवमपछि आइजीआई प्रुडेन्सियलको सर्वाधिक किनबेच
काठमाडौं । सोमबारको सेयर बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएका २७७ वटा स्क्रीप्समध्ये शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको हो । एकैदिन कम्पनीको १९ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमसँगै कारोबार कित्ता र संख्याको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको दिनभरमा एक हजार ९३८ पटकको कारोबारमा ४ लाख १४ हजार ६१६ कित्ता सेयर किनबेच भएका छन् । त्यस्तै, सोमबार सर्वाधिक कारोबार गर्ने सूचीमा शिवम् पछि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको एकैदिन ९ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । समग्रमा सोमबारको बजारमा कारोबार रकम बढेको छ । आइतबार एक अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार एक अर्ब ९७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । कारोबार रकम बढेको बजारमा नेप्से परिसूचक भने घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९१ प्रतिशतले घटी हो । बजारमा रिभर फल्स पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतितशत अर्थात २६.८० रुपैयाँले बढेर प्रतिकित्ता २९४.८० रुपैयाँमा किनबेच भएको छ । यता टप लुजरको शीर्ष स्थानमा शिवम् सिमेन्ट देखिएको छ । सर्वाधिक कारोबार भएको कम्पनीको सेयर मूल्य भने ४.५० प्रतिशत अर्थात २१.९० रुपैयाँले घटेर प्रतिकित्ता ४६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, सोमबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये पनि जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १२४ अंकले घटेर राताम्मे देखिएको छ ।
घरजग्गा र जलविद्युतमा लगानी बढाउँदै नेशनल लाइफ, चालु आवमै सहायक कम्पनी स्थापना गर्ने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले घरजग्गा व्यवसाय र जलविद्युतमा लगानी बढाउने भएको छ । जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले लगानी निर्देशिका अनुसार उक्त क्षेत्रमा विशेष लगानी बढाउने भएको हो । नियामक निकायबाट जारी भएको लगानी निर्देशिका अनुरुप कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न लागेको हो । यस्तै, कम्पनीले चालु आर्थिक वर्षभित्रै एक सहायक लगानी कम्पनी स्थापना गर्ने प्रक्रृयालाई अगाडि बढाउने योजना बनाएको छ । जेठ २२ गते सम्पन्न आफ्नो ३५औं वार्षिक साधारणसभा मार्फत कम्पनीले उक्त जानकारी गराएको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनश सेयर र ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीको प्रस्तावलाई पारित गरेको छ । सभामा अध्यक्ष प्रेमा सिंहले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले बीमा व्यवसाय चुनौतिपूर्ण भएको बताइन् । चुनौतिपूर्ण अवस्थामा पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आर्थिक वर्ष २०७८/७९ मा बीमाको पहुँचमा उल्लेखनीय वृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फष्टाउनेमा उनी आशावादी छिन् । आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क १५ प्रतिशतले वृद्धि भई १४ अर्ब ४० करोड, जीवन बीमा कोष २०.८४ प्रतिशतले वृद्धि भई ५० अर्ब ८० करोड र कूल लगानी १९.८५ प्रतिशतले बढी ४७ अर्ब ३ करोड पुगेको इन्स्योरेन्सले जानकारी गराएको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न इन्स्योरेन्स प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आर्थिक वर्ष २०७८/०७९ मा सो दर ९.९० प्रतिशत कायम रहेको छ ।
प्रभु इन्स्योरेन्सको सञ्चालकमा शान्ता गौतम
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा शान्ता गौतम नियुक्त भएका छन् । गौतम कर्मचारी सञ्चय कोषको तर्फबाट इन्स्योरेन्स कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि कोषको तर्फबट महेश प्रसाद खनालले प्रतिनिधित्व गर्दै आएका थिए । तर, कोषले खनाललाई फिर्ता पठाएर गौतमलाई सञ्चालकमा पठाएको हो । इन्स्योरेन्स कम्पनीका अनुसार सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गौतमलाई सञ्चालकमा नियुक्त गरेको हो ।