कृषि बीमाको अनुदानबापत सरकारले दियो ७२ करोड, बाँकी किस्ता किस्तामा दिने

काठमाडौं । नेपाल सरकारले कृषि तथा पशुपन्छी बीमाको अनुदान बापत ७२ करोड रुपैयाँ निकासा गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले सरकारले अनुदान नदिएको भन्दै पोलिसी नै बन्द गरेपछि सरकारले पहिलो चरणमा सो मात्राको रकम निकाशन गर्ने भएको हो । सरकारले बजेटमार्फत कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत रकम अनुदान दिने घोषणा गरेको थियो । तर घोषणा गरेअनुसार सरकारले समयमै अनुदान नदिएपछि बीमा कम्पनीहरुले यो बीमा पोलिसी बिक्री बन्द गरेका थिए । सरकारले दिने भनेर घोषणा गरेर पनि नदिएको अनुदानमध्ये हाल करिब २५ प्रतिशत रकम मात्रै निकासा गर्ने भएको हो । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीका अनुसार सरकारले करिब ३ अर्ब अर्थात २ अर्ब ९४ करोड रुपैयाँ अनुदान दिन बाँकी थियो । जसमध्ये पहिलो चरणमा ७२ करोड रुपैयाँ दिने भएसँगै अझै सरकारले २ अर्ब २२ करोड रुपैयाँ निकासा गर्न बाँकी छ । ‘सरकारले पहिलो चरणमा ७२ करोड रुपैयाँ दिने भएको छ, बाँकी रकम भने सक्दो छिटो सल्टाउने निर्णय भएको छ,’ अध्यक्ष चंकी क्षेत्रीले भने । उनका अनुसार सरकारले विभिन्न चरणमा रकम निकासा गर्ने छ । अब दोश्रो चरणको रकम आगामी साउनभित्रमा निकासा गर्ने सम्भावना बढी रहेको अध्यक्ष क्षेत्रीले बताए । त्यस्तै, हाल निकासा भएको उक्त रकम नेपाल बीमा प्राधिकरणको खातामा जाने र त्यसपछि मात्रै कम्पनीहरुलाई वितरण गरिने क्षेत्री बताउँछन् । चरणवद्ध रुपमा रकम निकासा भएपनि कम्पनीहरुले बन्द गरेका कृषि बीमाको पोलिसी बिक्री सुचारु गर्ने भएका छन् । तर पशुपन्छी बीमालेख भने तत्काल बिक्री नगर्ने संघको मनसाय छ । ‘सरकारले दिनुपर्ने तीन अर्ब रुपैयाँ छ, अहिले ७२ करोडमात्रै आएको छ,’ सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ समेत रहेका क्षेत्रीले भने- ‘कृषि बीमा पोलिसी बिक्री खुलाइए पनि पशुको अहिले सकिन्न होला, यसमा संघले छलफल गरेपछि मात्रै थप निर्णय गर्नेछ ।’

जेठ २५ गतेदेखि एशियन इन्स्योरेन्स मिट गर्दै बीमा प्राधिकरण

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले जेठ २५ देखि २७ गतेसम्म काठमाडौंमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘एशियन इन्स्योरेन्स मिट २०२३’ आयोजना गर्ने भएको छ । प्राधिकरणले आईएआईएस, एशियन डेभलपमेन्ट बैंक र एटुआईआईको सहयोगमा सम्मेलन आयोजना गर्ने भएको हो । सम्मेलनले बीमा क्षेत्रमा देखा परेका नयाँ नयाँ जोखिमहरूको पहिचान,जोखिम न्यूनीकरणका लागि प्राविधिक क्षमताको विकास र बीमा क्षेत्रको दिगो विकासका लागि आपसी सहयोग एवंम् साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको प्राधिकरणले जनाएको छ । सम्मेलनमा जलवायु परिवर्तन, महामारी लगायतका कारण बीमा क्षेत्रमा देखिएका जोेखिम, जोखिम न्यूनीकरणका अन्तर्राष्ट्रिय अभ्यास, जोखिम न्यूनीकरण सम्बन्धी आपसी अनुभव, जोखिम न्यूनीकरणका लागि क्षमता अभिवृद्धिर बीमा क्षेत्रको भावि गन्तव्य लगायतका विषयमा प्रस्तुतीकरण एवम् छलफल समेत हुने बताइएकाे छ । यसैगरी, विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका काम कारवाही, नयाँ नयाँ जोखिमहरूको व्यवस्थापनका लागि बीमा कम्पनीहरूलाई तयारी अवस्थामा राख्न नियामक निकायहरूले निर्वाह गर्दै आएको भूमिका, नियामक निकायहरूबीचको सम्बन्ध सुदृढीकरण, बीमा व्यवसायको स्वच्छ विकासका लागि नियामक निकायहरू बीचको आपसी सहयोग एवंम् साझेदारी अभिवृद्धि, बीमा क्षेत्रलाई सबल, नवीन सोच र जवाफदेही किसिमले अघि बढाउने लगायत विषयमा छलफल हुने प्राधिकरणले जनाएकाे छ । सम्मेलनमा रिक्स बेस सल्भेन्सीको कार्यान्वयन, बीमामा नवीनतम् डिजिटल प्रणाली अवलम्बन, बीमा व्यवसायको विकासका लागि नियामक निकायको क्षमता अभिवृद्धि, बीमा क्षेत्रमा जलवायु परिवर्तनका कारण आउने चुनौतीहरूको न्यूनीकरणका लागि नियामक निकाय, बीमक रपुनर्बीमकहरूको भूमिका, भूकम्प बीमाका सम्बन्धमा एसियाली अनुभव, कृषि बीमाको विकास तथा अभ्यास, जोखिममा आधारित सुपरीवेक्षण सम्बन्धी संरचना, जीवन बीमा व्यवसायका अभ्यास, अवसर र चुनौती लगायतका विषयहरूमा बीमा क्षेत्रका नियामक निकाय, बीमक, पुनर्बीमक र बीमा विज्ञहरूबाट कार्यपत्रहरू प्रस्तुती र कार्यपत्रहरू माथि छलफल एवम् अन्तरक्रिया हुने कार्यक्रम रहेको छ । सम्मेलनको आयोजनाबाट विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरू बीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन, नियामकीय काम कार्यवाहीलाई अझ परिष्कृत बनाउन, बीमा क्षेत्रमा नवीनतम् प्रविधिको प्रयोगलाई बढावा दिन, बीमा क्षेत्रका समस्याहरू शीघ्र पहिचान गरी न्यूनकरण गर्न, बीमा क्षेत्रलाई बदलिँदो परिवेश अनुसार नवीन सोचका साथ अगाडि बढाउन र समग्र बीमा क्षेत्रलाई सबल, विश्वसनीय, जवाफदेही र दिगो बनाउन महत्वपूणर् योगदान पुग्ने विश्वास गरिएको प्राधिकरणले जनाएकाे छ । प्राधिकरणकाे अनुसार तीन दिनसम्म हुने सम्मेलनमा पहिलो दिन नेपाल लगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, चीन (मकाओ), जोर्डन र मलेसिया लगायतका देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरूको सहभागिता रहनेछ । यसैगरी, सम्मेलनको दोस्रो र तेस्रो दिन विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायका पदाधिकारीहरूका साथै बीमा क्षेत्रसँग सम्बन्धित सरकारी निकायका पदाधिकारी, बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमाङ्की, बीमा ब्रोकर, बीमा विज्ञ र विभिन्न बीमा सेवा प्रदायक सङ्घ संस्थाका पदाधिकारीहरूको सहित करिब ३५० जनाको सहभागिता रहने प्राधिकरणले जनाएको छ ।

‘आइएमई पे’बाट आइएमई लाइफकाे प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक

काठमाडौं । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले क्यासब्याक पाउने भएका छन् । प्रिमियम भुक्तानी गर्दा ग्राहकले आफ्नो प्रिमियम रकमको ०.५५ प्रतिशत वा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् । साउन ३१ गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्नेछन् ।