नेप्सेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सेयर सूचिकृत भएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्ज भई एकीकृत कारोबारपश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट सेयर सूचिकृत भएको हो । इन्स्योरेन्स कम्पनीको सेयर आइजीआई सिम्बोलबाट सूचिकृत भई कारोबार हुनेछ । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३ करोड २ लाख ९३ हजार ३४६.३९ कित्ता शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनका लागि संलग्न संझौता बमोजिमका शर्तहरु पालना गर्ने गरी जेठ १८ गते आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सूचिकृत भएको हो । इन्स्योरेन्स कम्पनीको सो सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
अब कम्पनीलाई होइन, व्यक्तिलाई कारवाही हुन्छ
बीमा कम्पनीमा अहिले भइरहेको वर्तमान पुँजीले बढ्दो जोखिमलाई नियन्त्रण गर्न सक्दैन भन्ने निर्क्यौलमा पुगेपछि हामीले पुँजी वृद्धिको कार्यक्रम ल्यायौं । त्यसको लागि कम्पनीहरुलाई समय दियौं । त्यो अवधिमा धेरै कम्पनीहरु स्वतस्फूर्त रुपमा मर्जर भए । नियामकले के गर्नुपर्छ भन्नेमा नियामक प्रष्ट छ । बीमाको बजारलाई एउटा उद्योगको रुपमा विस्तार गरेर कसरी विश्वसनीय बनाउन सक्छौं, त्यो ठूलो चुनौति हो । जबसम्म हामीले बीमाको बजारलाई विश्वसनीय बनाउँदैनौं, तबसम्म बीमाको बजारले गति लिन सक्दैन । पहिला बजार विश्वसनीय हुनुपर्यो । त्यो कसरी हुन्छ ? तपाईंले जुन हातले पोलिसी काट्नु भयो, र त्यो पोलिसीको क्लेम पर्यो भने तत्काल त्यसको सेटलमेन्ट गर्नुपर्यो । गत वर्ष बीमा प्राधिकरणले क्लेम सेटलमेन्टमा कडाई गरेसँगै अघिल्ला वर्षभन्दा गत वर्ष दावी भुक्तानी राम्रो भएको छ । त्यो क्रम यो वर्ष पनि जाने छ । हामी कहाँ वर्षभरिमा १५० वटा उजुरी पर्छन् । लाखौंको क्लेम सेटलमेन्ट हुन्छ । तर १५० को पछि लागेर हामीले हाम्रो मार्केटलाई एक्स्पोज नै गर्न सकेनौं । त्यसैले मैले कम्पनीका सीईओ, अध्यक्षलाई बोलाएर प्रत्येक तीन तीन महिनामा सार्वजनिक हुने वित्तीय विवरणमा यति यति क्लेम सेटलमेन्टको रिपोर्ट गर्यौं भन्ने आएपछि बजारमा एकाएक विश्वसनीयता छाउँछ । मेरो पालामा थप लाइसेन्स आउँदैन । जबसम्म हामीसँग शुशासन छैन तबसम्म हामीसँग पारदर्शीता छैन । पारदर्शीता छैन भने हामीले बदमासी गरेका छौं । बीमा प्राधिकरणमा मै आएपछि करिब १५ वटा कम्पनी कारवाहीमा परिसके । त्यो क्रम अहिले पनि जारी छ । उधारो बीमा रोक्यौं, तर क्यास ब्याक रोकिएको छैन । तोकिएको रेटमा पनि रेट घटाएर बीमा हुन्छ । त्यसकारण अब कारवाही कम्पनीलाई किन गर्ने भन्नेमा हामी पुगेका छौं । जब हामीले कुनै व्यक्तिलाई कम्पनी अथ्योरिटी दियौं, उसले हेर्नुपर्ने । उसको बिजनेसमा पर्नुपर्ने विषयमा कम्पनी किन सफर गर्ने ? त्यसैले त्यो व्यक्ति जिम्मेवार हो । कम्पनीको सीईओ जिम्मेवार हो । कम्पनीको अण्डरराइटिङ्गमा बस्ने जिम्मेवार हो । रेट फेर्ने मान्छे जिम्मेवार हो, जो जो छ त्यो जिम्मेवार हो । अब कारबाही त्यहाँबाट शुरु हुन्छ, कम्पनीलाई होइन । के भयो त दुई लाख रुपैयाँ तिर्ने त हो भन्ने विषय पनि उठिरहेको छ । यो अति भयो । कम्पनीमा कुनै कर्मचारी जुन उद्देश्यको लागि राखिएको हो, त्यो व्यक्तिले नियम विपरित काम गरेपछि, बदमासी गरेपछि त्यसको सजाय उक्त व्यक्तिले पाउनु पर्छ । त्यसको स्पष्टिकरण उसले दिनुपर्छ । कम्पनीले होइन । म यहि फोरमबाट सीईओहरुलाई के भन्छु भने । नीति निमार्ण गर्ने बोर्डसँग बारम्बार अन्तर्क्रिया गरेको पाइन । प्राधिकरणले जारी गरेको प्रत्येक निर्देशिका, प्रत्येक निर्देशन बोर्डलाई जानकारी दिनुपर्छ, बोर्डसँग सामूहिक रुपमा बसेर छलफल गर्नुपर्छ भनेका छौं । तर त्यो लागू भएको जस्तो मलाई लाग्दैन । तपाईंले असीमित जोखिम उठाउनु भएको छ । तपाईंसँग सीमित पैसा छ । सीमित पैसामा पनि तपाईंले यति रेट काटेर बिजनेस गर्नुभएको छ, जसको पुनर्बीमा हुन सक्दैन । पैसा कहाँबाट आउँछ । क्लेम कसरी तिर्ने ? र, यस्ता खालका बेथितिलाई रोक्नुपर्छ । जुन आजको आजै, भोलिको भोलि हुने पनि हुँदैन । मलाई लाग्छ, गत वर्षभन्दा यो वर्ष हामीले कमजोरीहरुको निरीक्षण धेरै बढाएका छौं । अहिले हामीले मर्जरमा जाने कम्पनीको लागि केही आँखा चिम्लेका छौं । कम्पनीको लक्ष्य पुरा गराउने ठूलो हात कर्मचारीको हुन्छ । त्यसैले कर्मचारीको क्षमता अभिवृद्धि गराउनु पर्यो, जिम्मेवारी बनाउनु पर्यो, स्कील्स डेभलप गराउनु पर्यो । अब डिजिटल प्लेटफर्ममा जानुपर्यो । आजको दिनमा हामी २३० बढी स्थानीय तहमा पुगिसकेका छौं । त्यसैले अबको दिनमा बीमाको बारेमा थाहा छैन भनेर कसैले भन्दैन । पछिल्लो समय बीमामा विश्वसनीयता बढ्दै गएको छ, यसलाई थप बढाउँदै जानुपर्छ । (नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले काठमार्डाैंमा आयोजित एक कार्यक्रममा राखेका मन्तव्यको सम्पादित अंश)
हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले सेयर रजिष्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटललाई सेयर रजिष्टार नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता बुधबार सम्पन्न भयो । सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आसपमा मर्ज भई हिमालय लाईफ इन्स्योरेन्स कायम भई वैशाख २६ गते बाट संयुक्त कारोबार सुरु भएको हो ।