जेठभित्रै कारोबार शुरु गर्दै ४ लघु बीमा कम्पनी, प्राधिकरणद्वारा भौतिक संरचना स्वीकृत

काठमाडौं । लघुबीमा सञ्चालन गर्न विभिन्न चार वटा लघु बीमा कम्पनीले यहि जेठ महिनाभित्रमा व्यवसाय शुरु गर्ने भएका छन् । लाइसेन्स पाएका ७ वटा कम्पनीमध्ये चार वटाले यहि जेठ अन्तिमसम्ममा लघु बीमा व्यवसाय सञ्चालन गर्ने गरी प्रकृया अघि बढाएका हुन् । नेपाल बीमा प्राधिकरणको उच्च श्रोतका अनुसार गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ, नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले आगामी जेठ मसान्तसम्ममा व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका छन् । ‘चारवटा लघु बीमा कम्पनीले पुँजी पुर्याई भौतिक पूर्वाधारको काम सम्पन्न गरिसकेका छन्, अब यो महिना भित्रै कारोबार सञ्चालन गर्ने सम्भावना बढी छ,’ प्राधिकरणका उच्च श्रोतले विकासन्युजसँग भन्यो । गार्डियन माइक्रो लाईफको कोशी प्रदेशको विराटनगर, क्रेष्ट माइक्रो लाइफको कर्णाली प्रदेशको वीरेन्द्रनगर र नेपाल माइक्रो इन्स्योरेन्सको बाग्मती प्रदेश भरतपुर र प्राटेक्टिभ माइक्रो इन्स्योरेन्सको केन्द्रिय शाखा सुदुरपश्चिमको धनगढीमा रहेको छ । प्राधिकरणले हालै विभिन्न प्रदेशमा रहेको चार वटै कम्पनीको केन्द्रिय कार्यालय नियमन गरेको छ । जसअनुसार सबै कम्पनीले प्राधिकरणको शर्त बमोजिम नै कार्यालय खोलेको र लघु बीमा व्यवसाय सञ्चालन गर्नको लागि भौतिक पूर्वाधार सहितको बीमकको मूख्य कार्यालय रहने स्थानमा सम्पूर्ण भौतिक संरचना कायम गरेको पाइएको प्राधिकरणको श्रोतले बतायो । ‘केन्द्रिय कार्यालय नै प्रदेशमा खोल्नु पर्ने शर्त रहेकोमा सबैले सोहि बमोजिम कार्यालय खोलेको पाइयो,’ उक्त श्रोतले विकासन्युजसँग भन्यो- ‘केन्द्रिय कार्यालयको संरचना, सीईओ नियुक्ति, विभागीय प्रमुखको नियुक्ति, आईटीको सफ्टवेयर जडान लगायतका सम्पूर्ण पूर्वाधारको काम सम्पन्न भएको छ ।’ प्राधिकरणका अनुसार भौतिक पूर्वाधारको संरचना तयार पारिसकेका कम्पनीले व्यवसाय सञ्चालनको लागि नयाँ बीमा योजना ल्याउनु पर्ने हुन्छ । जुन बीमा योजना बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्रै कम्पनीहरुलाई व्यवसाय सञ्चालन गर्नको बाटो खुल्ने छ । सो अनुसार यी कम्पनी हाल बीमा योजना ल्याउने काममा नै बढी व्यस्त छन् । केही कम्पनी बीमा योजनाको खाका तयार पारी बीमा प्राधिकरणमा पेश गर्ने अन्तिम चरणमा छन् भने केहीले खाका तयार पार्दै छन् । पहिलो पटक पुँजी पुर्याउन सफल भएको गार्डियन माइक्रो लाइफले यो महिनाको अन्तिमसम्ममा व्यवसाय शुरु गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए । ‘हाल बीमा प्राधिकरण आफैले पोलिसी बनाउँदै छ, सो बनेलगत्तै हामीले व्यवसाय शुरु गर्नेछौं,’ उनले थपे- ‘ढिलामा यो महिनाको अन्तिमसम्ममा हुन्छ ।’ यस्तै, क्रेष्ट माइक्रो लाइफका सीईओ प्रतापमान श्रेष्ठले पुँजी पुर्याउने लगायत भौतिक पूर्वाधारको काम सकिएता पनि व्यवसाय सञ्चालनको लागि थप केही समय लाग्ने बताए । ‘हाम्रो अब प्रडक्ट ल्याउने मात्रै काम बाँकी हो, त्यसको नयाँ कन्सेप्ट ल्याई ड्राफ्टमा उतारिसकेका छौं, अब एक्चुरी कहाँ पठाउँछौं, त्यसपछि बीमा प्राधिकरणले एक्चुरीले पठाएको एप्रुभ गरेपछि हाम्रो प्रडक्ट बजारमा ल्याउन मिल्छ,’ उनले थप प्रष्टाउँदै भने । ‘हाम्रो टार्गेट जेठको अन्तिममा कारोबार सञ्चालन गर्ने हो, बीमा प्राधिकरणले ट्रम पोलिसी दिन्छु भनिरहेको छ, त्यो पायौं भने छिट्टै हुन्छ,’ सीईओ श्रेष्ठले थपे । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पनि चालु आवभित्रै व्यवसाय सञ्चालन गर्ने गरी आफूहरु अघि बढाइरहेको सीईओ नरेश रोक्काले बताए । ‘हाम्रो केन्द्रिय कार्यालयको काम भयो, अब शाखाको कामहरु बाँकी छ, प्रडक्ट डिजाइनको काम पनि भइरहेको छ, ढिलामा साउन अघि कारोबार शुरु गर्छौं,’ सीईओ रोक्काले भने । भौतिक पूर्वाधारको कामलाई तीव्रता दिँदै तीन कम्पनी अन्य बाँकी तीन वटा लघु बीमा कम्पनीले भने अर्को चरणमा व्यवसाय शुरु गर्ने छन् । जसमा लघु जीवन बीमा तर्फको लिबर्टी माइक्रो र निर्जीवन लघु बीमा तर्फबाट ट्रष्ट माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स रहेका छन् । यी तीन कम्पनीको केन्द्रिय कार्यालय क्रमशः गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र मधेश प्रदेशको जनकपुरधाममा रहेको छ । बीमा प्राधिकरणका अनुसार यी कम्पनीले तोकेको न्यूनतम ७५ करोड चुक्ता पुँजी पुर्याइसकेका छन् । पुँजी पुर्याइसकेका यी कम्पनीले हाल भौतिक पूर्वाधारको कामलाई अघि बढाइरहेका सम्बद्ध श्रोतले विकासन्युजलाई बतायो ।

आजसम्म नेशनल लाइफको सेयर खरिद गरे १४.५ प्रतिशत लाभांश पाउने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ जेठ ११ गते लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज जेठ १० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरुले वार्षिक साधारणसभामा उपस्थित भई लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्न कम्पनीले ३५औं वार्षिक साधारण सभा जेठ २२ गते लाजिम्पाट स्थित कन्द्रीय कार्यालयमा बोलाएको छ । यस्तै, कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असरा मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

दाबी भुक्तानी नलिए हिमालयन एभरेष्ट इन्स्योरेन्सले फाइल बन्द गर्ने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानीका लागि निवेदन दिएर लामो समयदेखि भुक्तानी लिन बाँकी रहेका बीमितहरुले २१ दिनभित्र लिन आग्रह गरेको हो । विभिन्न समयमा परेको सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, विविध बीमा, बाली तथा पशुपन्छी बीमा तथा लघु बीमाका दाबीहरुको दाबी भुक्तनी रकम लैजान कम्पनीले भनेको हो । भुक्तानीका लागि निवेदन दिएपश्चात् सम्पर्कमा नआएका बीमितहरुको लामो समयदेखि दाबी भूक्तानी हुन बाँकी रहेको कम्पनीले जनाएको छ । २०८० वैशाख मसान्तसम्म दाबी परेका ग्राहकले दाबी फछ्यौटका लागि आवश्यक कागजात सहित शाखा तथा उपशाखा कार्यालय वा कम्पनीको दाबी विभाग केन्द्रीय कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको हो । आफ्नो फछ्यौट हुन बाँकी बीमा बापत परेको दाबीको भुक्तानी लिनु पर्नेछ । यदि २१ दिनभित्रमा पनि दावी फछ्यौटको लागि आवश्यक कागजातहरु प्राप्त नभएमा उक्त दावी फाइलहरु बन्द गरिने कम्पनीले बताएको छ ।