बीमा कम्पनीले कृषिको बीमा लेख र दाबी भुक्तानी बन्द गरे

काठमाडौं । । अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगालले अनुदानबापतको रकम भुक्तानी नगरेपछि बीमा कम्पनीहरुले कृषि बीमा लेख जारी गर्न बन्द गरेको बताएका छन् । अध्यक्ष दंगालले एक विज्ञप्ति जारी गर्दै निर्जीवन बीमा कम्पनीहरुले बीगत ३ वर्षदेखि बीमा अनुदान बापतको सरकारबाट पाउनु पर्ने भुक्तानी नपाएको र दावी बापत २ अर्ब ९४ करोड ५८ लाख रुपैया बढि रकम भुक्तानी नगरेको कारण बीमा लेख जारी गर्न र दाबी भुक्तानी बन्द गरेको बताएका हुन् । जसबाट कृषि बीमाको सेवाबाट कृषकहरु प्रत्यक्ष रुपमा प्रभावित भएको उनको भनाइ छ । ‘पशु र बाली बीमा नीति किसानमैत्री भएपनि ग्रामीण समुदायका साना र सीमान्तकृत किसानहरुको पहुँच पुग्न सकेको छैन, किसानले महशुस गर्ने गरी बाली र पशु बीमा कार्यक्रमको स्थानीयकरणसहित बीमा गर्न र भुक्तानी प्राप्त गर्न पाउने अधिकारको रक्षा गर्दै अबिलम्ब बीमा कार्यक्रम शुरु हुने वातावरण निमार्ण गर्नु पर्छ,’ उनले भने । उनका अनुसार कृषि क्षेत्रमा बीमा सकारात्मक कार्यक्रम भएता पनि सफल कार्यान्वयनमा चुनौति रहेका छन् । दुरदराजका किसानसम्म बीमाको सूचना तथा पहुँच पुग्नै सकेको छैन भने विस्तारै बीमा सेवा शुरुवात भएको क्षेत्रमा समेत बीमा भुक्तानी नपाउने झन्जटिलो बीमा प्रक्रियाका कारण समस्या आइरहेको उनले बताए । साथै, दुग्ध विकास बोर्ड खारेज प्रक्रियामा अघि बढाएकाले दुग्धजन्य व्यवसाय धराशयी बन्ने उनले बताए । सरकारले खारेजीको प्रक्रिया अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गर्नु दुध उत्पादन गर्ने किसान माथि ठुलो अन्याय हुने उनको भनाइ छ । दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय फिर्ता लिन अखिल नेपाल किसान महासंघले माग गरेको छ । ‘नेपालमा दैनिक ६५ लाख लिटर दुध उत्पादन हुन्छ, यो व्यवसायमा ३५ लाख घरपरिवार प्रत्यक्ष रुपमा जोडिएका छन्, नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा धान पछि दुधको योगदान छ र सो क्षेत्रलाई नियमन र व्यवस्थित गर्ने एक मात्र संस्था दुग्ध विकास बोर्ड हो, बोर्ड गठन भएकै कारण व्यवसायको रुप लिएको हो,’ अध्यक्ष दंगालले भने, ‘बोर्ड खारेज भयो भने दुग्ध क्षेत्रनै धरासायी हुने भएकाले सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरेको दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय फिर्ता लिनु पर्छ ।’ यसैगरी हाल देशैभर पशुपंक्षिमा देखा परेको लम्पी स्किन रोग नियन्त्रणको लागि पशुपालक कृषकहरुलाई ठुलो नोक्सानी भएको उनले बताए । सो रोगको नियन्त्रण गरी तत्काल राहत प्याकेजको घोषणा गर्न माग गरेको छ ।

आजदेखि युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार

काठमाडौं । युनाईटेड इन्स्यारेन्स र अजोड इन्स्योरेन्सले आज जेठ १४ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनी मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । गत पुस अन्तिममा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यसलगत्तै कम्पनीहरुले बैशाख अन्तिम साताभित्र एकीकृत कारोबार गर्ने योजना बनाएका थिए । जुन सफल हुन सकेन र करिब दुई साता लम्बिएको हो । दुई कम्पनीबीच सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको हो । अर्थात् अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउने छन् । मर्जपछि बन्ने युनाइटेड अजोड इन्स्योरेन्सको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष अजद श्रेष्ठ बन्ने छन् भने सीईओ श्रवण रावल नियुक्त हुनेछन् । त्यस्तै, युनाइटेड अजोडको सिनियर डीसीईओ कुमार बहादुर खत्री हुनेछन् । उनी अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै, हाल युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ७ करोड रुपैयाँ छ । अजोडको एक अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी छ । १०० बराबर ८२.५ को स्वाप रेसियोमा मर्ज भएसँगै बन्ने युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी करिब एक अर्ब ९० करोड रुपैयाँ पुग्ने छ ।

लाइसेन्स प्राप्त सर्भेयरलाई नेको इन्सुरेन्सले निकाल्यो ३५ दिने सूचना

काठमाडौं । नेको इन्सुरेन्सले बीमा सर्भेयरहरुलाई सूची दर्ता गर्न आव्हान गरेको छ । जेठ ११ गते एक सूचना जारी गर्दै इन्सुरेन्सले इजाजत प्राप्त सर्भेयरलाई ३५ दिनभित्र दर्ता गर्न आव्हान गरेको हो । इन्स्योरेन्सले बीमालेखमा परेका दावीहरुको क्षति सर्वेक्षण, अनुसन्धान तथा मूल्यांकन गर्नको लगि बीमा प्राधिकरणबाट सर्भेयर ईजाजत पाएका सर्भेयरलाई दर्ता गर्न आग्रह गरेको हो । यससँगै इच्छुक सर्भेयरले सूचि दर्ताको निवेदन दिँदा विभिन्न कागजात बुझाउनु पर्ने छ । इन्सुरेन्सका अनुसार सर्भेयरले बीमा प्राधिकरणबाट प्राप्त सर्भेयर इजाजत प्रमाणपत्रको प्रतिलिपि, फर्म वा कम्पनीको दर्ता प्रमाणपत्रको प्रतिलिपि (संस्थाको लागि मात्र), स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि करको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत तथा फर्म वा कम्पनीको अधावधिक विवरण र नागरिकता प्रमाणपत्रको प्रतिलिपि इन्स्योरेन्सको केन्द्रिय कार्यालय ज्ञानेश्वरस्थित बीमाभवनमा वा शाखा कार्यालयमा बुझाउनु पर्ने छ ।