सूर्यज्योति लाइफले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा सहयोग गर्‍यो डेढ करोड रुपैयाँ

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले राष्ट्र र समुदायका लागि आवश्यक परेको हरेक समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देशभरका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड हुँदा भएको ठूलो क्षतिपछि नेपाल सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको छ । राष्ट्र पुनर्निर्माणको यस महान अभियानमा सहभागी हुँदै सूर्यज्योति लाइफले उक्त कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोगको चेक कम्पनीका सञ्चालक चुडामणि देवकोटा र प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले मंगलबार अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेका छन् । कम्पनीले विगतमा पनि विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रका लागि निरन्तर सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत खत्रीले हाल गरिएको यो योगदानले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता राष्ट्रिय अभियानमा सूर्यज्योति लाइफ सधैं अग्रसर रहने प्रतिबद्धता जनाएका छन् ।

मेटलाइफ फाउन्डेशनले फिफा-ग्लोबल सिटिजन एजुकेशन फन्डमा ९ मिलियन अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं । मेटलाइफले गरिबी अन्त्य गर्ने विश्वकै सबैभन्दा ठूलो अभियान ग्लोबल सिटिजन सँग तीन वर्षे साझेदारी गर्ने घोषणा गरेको छ । कम्पनी प्रमुख भागीदारको रूपमा अभियानमा सहभागी हुने भएको छ । यस साझेदारीमार्फत मेटलाइफले आर्थिक सुरक्षा सुनिश्चित गर्ने, स्रोतमा पहुँच दिलाउने र लचिलो समुदाय निर्माण गर्ने आफ्नो अनुभव र क्षमताको प्रयोग गर्नेछ । प्रमुख साझेदारको हैसियतले कम्पनीले आर्थिक सहयोग, कर्मचारी स्वयंसेवकहरूको सक्रियता र आफ्नो विश्वव्यापी सञ्जालमार्फत शिक्षा तथा आर्थिक सशक्तिकरणमा रूपान्तरणकारी पहलहरू अघि बढाउने जनाएको छ । मेटलाइफ फाउन्डेशनले फिफा–ग्लोबल सिटिजन एजुकेशन फन्डमा संस्थापक दाताको रूपमा ९ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । यस फन्डले विश्वभरका बालबालिकालाई गुणस्तरीय शिक्षा र खेलकुदमा पहुँच दिलाउन १०० मिलियन अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको छ । स्थापना भएको करिब ५० वर्षदेखि शिक्षा सहयोगलाई आधारशिला बनाउँदै आएको मेटलाइफ फाउन्डेशनले हाल वित्तीय सिकाइ, मेन्टरिङ र सीप–प्रशिक्षणमार्फत विद्यार्थीलाई उज्ज्वल भविष्यका लागि तयार गर्दै आएको छ । मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले भने. 'हामी मानिस र समुदायका लागि महत्वपूर्ण क्षणहरूमा सधैं उपस्थित रहन विश्वास गर्छौं । ग्लोबल सिटिजनसँगको साझेदारीले वित्तीय स्वास्थ्य प्रवद्र्धन, शैक्षिक अवसरहरू विस्तार र सबल समुदाय निर्माणमार्फत सकारात्मक परिवर्तन ल्याउनेछ । यो साझेदारीले मेटलाइफ फाउन्डेशनको परोपकारी परम्परालाई अझ सबल बनाउनेछ, जसले १९७६ यता १ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको छ ।' मेटलाइफले विश्वभरका ग्लोबल सिटिजन अभियानलाई सशक्त बनाउनेछ । यसमा न्यूयोर्कको सेन्ट्रल पार्कमा सम्पन्न ग्लोबल सिटिजन फेस्टिभलसहित, ग्लोबल सिटिजन नाउ एक्शन समिटहरूमा पनि योगदान रहनेछ । ग्लोबल सिटिजनका सह–संस्थापक तथा सीईओ ह्यू एभान्सले भने, 'हाम्रो संसारले सामना गरिरहेका जटिल समस्याहरू समाधान गर्न साझेदारीको शक्तिमा हामी दृढ विश्वास गर्छौं । मेटलाइफ, मेटलाइफ फाउन्डेशन र ग्लोबल सिटिजनबीचको यो नयाँ सहकार्यले हाम्रो प्रभावलाई विस्तार गर्नेछ र सबैलाई प्रगतिशील जीवन बिताउने अवसर दिलाउने हाम्रो साझा दृष्टिकोणलाई तीव्र बनाउन मद्दत गर्नेछ ।' यस साझेदारीमार्फत ग्लोबल सिटिजन र मेटलाइफले विश्वभरका साझेदार, नेतृवर्ग र नागरिकलाई सक्रिय सहभागी हुन र अभियानलाई सफल बनाउन योगदान गर्न आह्वान गरेका छन् ।   

जेनजी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टले भुक्तानी गर्‍यो झण्डै २२ करोड

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको दाबी भुक्तानी प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले हालसम्म २८७ वटा दाबीमध्ये २४५ वटा दाबीबापत २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । कम्पनीका अनुसार यो रकम आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको अग्रिम तथा अन्तिम दाबी भुक्तानी दुवै समेटिएको हो । दाबी विभाग प्रमुख रोज राज लुइँटेलले कम्पनी नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि प्रतिवद्ध रहेको बताए । हिमालयन एभरेस्टले दाबी भुक्तानीलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको र मंगलबार २१ गतेदेखि पुनः यथावत रूपमा दाबी भुक्तानी सुरु हुने जनाएको छ । कम्पनीले विषम परिस्थितिलाई ध्यानमा राखी बीमित ग्राहकलाई तत्कालीन राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको स्पष्ट पारेको छ । कम्पनीले अझै बाँकी रहेका बीमित दाबीधारकलाई आवश्यक कागजात पूरा गरी नजिकैको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।