आइजीआई प्रुडेन्सियलले विदेशी पर्यटकका लागि सुरु गर्यो नयाँ बीमालेख

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्य बनाउनका लागि विदेशी पर्यटकलाई लक्षित गरी नयाँ बीमालेख सुरु गरेको छ । कम्पनीले हिमालयन गार्डियन नेपाल ट्रेकिङ तथा सुरक्षा उपकरण व्यवस्थापन कम्पनीसँग सहकार्य गर्दै बीमालेख सार्वजनिक गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठका अनुसार बीमालेखमार्फत नेपाल भ्रमण, पदयात्रा तथा हिमाल आरोहणका लागि आउने पर्यटकलाई सुरक्षित र ढुक्क भएर यात्रा गर्न प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । बीमालेखमा सांस्कृतिक, शैक्षिक तथा अवकाश यात्रुका लागि पहिलो तह, पदयात्राका लागि दोस्रो तह र हिमाल आरोहणका लागि तेस्रो तहको सुविधा समावेश गरिएको छ । यस योजनाअनुसार दुर्घटना भएमा सहज र नगदरहित उपचारको सुविधा उपलब्ध हुनेछ । बीमा लिने प्रत्येक पर्यटकलाई सेटेलाइट जडित विशेष उपकरण प्रदान गरिनेछ जसबाट आपतकालीन अवस्थामा सिधै सेवा प्रदायक तथा चिकित्सकसँग सम्पर्क गरी तत्काल उद्धार सम्भव हुनेछ । बीमालेख अन्तर्गत आपतकालीन उद्धार खर्च, अस्पताल उपचार खर्च, उच्च जोखिम क्षेत्रमा हुने स्वास्थ्य समस्याको सुरक्षा, दुर्घटनाबाट अपाङ्गता वा मृत्यु भएमा बीमा लाभ तथा २४ सै घण्टा आपतकालीन सहायता सेवा समावेश हुने जनाइएको छ । कम्पनीले यस बीमालेखले पर्यटक संख्या वृद्धि र बसाइ अवधि लम्ब्याउन मद्दत पुग्ने विश्वास लिएको छ । साथै, यसले नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विश्वसामु परिचित गराउने अपेक्षा गरिएको छ ।

युनाइटेड अजोडको मुख्य काउन्टर दशैँ विदामा पनि खुला रहने

काठमाडौं । दशैँ बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सले सेवाग्राहीहरुका लागि काउन्टर खुला गर्ने भएको छ । काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा दशैँ बिदामा पनि काउन्टर खुला रहने कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।  यो काउन्टले असोज १३, १४ र १५ गते खुला रहने कम्पनीले जनाएको छ । काउन्टर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ । कम्पनीको अन्य शाखाहरु भने दशैँको विदामा बन्द रहने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । दशैँको समयमा बीमा सेवालाई निरन्तरता दिनको लागि कम्पनीको प्रधान कार्यालयमा काउन्टर सञ्चालन हुने भएकोले ग्राहकले आवश्यक सेवालका लागि सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख गरेको छ । 

शिखर इन्स्योरेन्सले दाबीबापत तिर्‍यो ३० करोड

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको कारण भएको क्षतिमा शिखर इन्स्योरेन्सले दाबीबापत ३० करोड तिरेको छ ।  कम्पनीले छोटो समयमै ४० भन्दा बढी बीमितहरूलाई करिब ३० करोडको दाबी भुक्तानी भएको जनाएको छ ।  दाबी प्रक्रिया सरल, डिजिटल सेवा, दाबी सहायता डेस्क र द्रुत अनुगमन प्रणालीमार्फत छिटो र सहज बनाई ग्राहकलाई प्रत्यक्ष सहयोग गरेको जनाइएको छ । कम्पनीका सर्भेयर र कर्मचारीहरूले क्षति मूल्याङ्कनमा प्रत्यक्ष सहजीकरण गर्दै, भौतिक र आर्थिक क्षतिबाट प्रभावित ग्राहकहरूको द्रुत राहतमा योगदान पुर्‍याएका छन्।  यसअघि २०७२ को भूकम्प र गत वर्षको बाढीका क्रममा पनि शिखर इन्स्योरेन्सले दाबी भुक्तानीमा अग्रणी पहिचान बनाउँदै आएको थियो । कम्पनीले बीमित ग्राहकहरूको सम्पत्तिमा भएको क्षतिका बीमा दाबी कम्पनीले छिटो र पारदर्शी रूपमा भुक्तानी गर्दै आएकोसमेत दाबी गरेको छ ।