नेपाल लाइफले ल्यायो सुरक्षा, बचत र पेन्सन भएको नयाँ बीमा योजना
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच सो योजना सार्वजनिक गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त बीमा योजनाको सार्वजनिक गरेका थिए । आफु तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्था सम्म पनि आफु आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दे एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी नयाँ बीमा योजना सार्वजनिक गरेको सीइओ कयालले बताए । कम्पनीको अनुसार यो जीवन बीमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा ९मुनाफामा सरिक हुने० हो जस्मा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहने तथा न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि ३५ वर्षसम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाङ्क रकम २५ हजार तथा अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिने कम्पनीले बताएको छ । यस योजनामा दुईवटा विकल्पहरु समावेश गरिएका छन् जसमध्ये आफ्नो इच्छा र आवश्यकता अनुरुप बीमितले कुनै एउटा मात्र विकल्पको छनोट गर्न सक्नेछन् । के छ त विकल्प ? विकल्प १ अन्तर्गत बीमालेख परिपक्व भएमा बीमा अवधि समाप्तिमा बीमाङ्क रकम + आर्जित बोनश, एकमुष्ट दिइने छ भने विकल्प २ अन्तर्गत बीमा भुक्तानी अवधि समाप्तिमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम दिइने छ र भुक्तानी अवधि समाप्ति पछि प्रत्येक वर्ष बीमाङ्कको ५% रकम बीमितको उमेर ७९ वर्ष नपुगन्जेल सम्म बीमितलाई प्रदान गरिनेछ । साथै, बीमित ८० वर्ष पुरा भएपछि बीमाशुल्क भुक्तानी अवधिसम्म आर्जित बोनस बीमितलाई प्रदान गरिनेछ । बीमालेख चालु रही बीमा भुक्तानी अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा विकल्प १ अन्तर्गत बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट दिइने छ भने विकल्प २ अन्तर्गत बीमितको मृत्यु भएमा बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट दिइने छ तर भुक्तानी अवधि समाप्ति पछि मृत्यु भएमा बीमाङ्कको ५०% रकम + बीमाशुल्क भुक्तानी अवधि सम्म आर्जित बोनस रकम एकमुष्ट भुक्तानी दिइनेछ । विकल्प १ र विकल्प २ दुवैमा ऋण तथा समर्पण सुविधा रहेको छ । वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ भने वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य को ९०% ऋण प्राप्त गर्न सकिनेछ । यसमा दुर्घटना मृत्यु लाभ सुविधा, बीमाशुल्क छुट तथा पूर्णअशक्तता सुविधा, घातक रोग सुविधा जस्ता ऐच्छिक सुविधाहरु समेत उपलब्ध रहेको छ ।
७ शर्त पुरा गर्ने बीमा कम्पनीले मात्रै शाखा कार्यालय खोल्न पाउने, पुँजी पुर्याउनेलाई विशेष सुविधा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । प्राधिकरणले बीमा कम्पनीहरुको शाखा कार्यालय स्थापना गर्ने कामलाई व्यवस्थित बनाउन उक्त निर्देशिका जारी गरेको हो । प्राधिकरणबाट गत फागुन १६ गते स्वीकृत भएको यो निर्देशिका तत्काल लागू हुने छ । यो निर्देशिका अनुसार कम्पनीले प्रत्येक प्रदेशमा प्रदेश कार्यालय अनिवार्य रुपमा खोल्नु पर्ने छ । प्रदेश कार्यालय खोल्दा प्रदेश अन्तर्गतको कुनै पनि जिल्लामा खोल्न सकिने छ । कम्पनीहरुले आफ्ना शाखा तथा उपशाखा कार्यालयबाट हुने बीमा व्यवसाय तथा सेवा प्रवाहलाई समन्वय गर्ने गरी प्रदेश कार्यालय खोल्न सक्नेछन् । कम्पनीहरुले आफ्नो व्यवसायिक आवश्यकता अनुसार शाखा वा उपशाखा कार्यालय खोल्न सक्नेछन् । यसरी खोलिने शाखा कार्यालयको हकमा कम्पनीले बैंकमा खाता सञ्चालन गर्न पाएको प्रमाण पेश गर्नु पर्नेछ । काठमाडौं उपत्यका बाहिर तीन वटा शाखा खोली सञ्चालनमा ल्याएपछि मात्रै कम्पनीले काठमाडौं उपत्यकामा थप एक शाखा खोल्न सक्नेछन् । यीमध्ये पनि कम्तीमा दुई शाखा नगरपालिका वा गाउँपालिकामा खोलिएको हुनु पर्नेछ । त्यस्तै, उपत्यकाभित्र शाखा खोल्दा चक्रपथ बाहिर तथा नगरपालिकामा खोल्न प्राथमिकता दिनु पर्नेछ । नयाँ व्यवस्थाअनुसार कम्पनीले ७७ वटै जिल्लामा कम्तिमा एउटा शाखा कार्यालय खोल्नु पर्छ । काठमाडौं उपत्यकाभित्र कम्पनीको केन्द्रीय कार्यालय वा कर्पोरेट कार्यालय र एउटा शाखा कार्यालय हुने पर्ने छ । त्यसैगरी, कम्पनीहरुले आयात निर्यात व्यापारका लागि तोकिएका नाकाहरुमा एक एक वटा शाखा खोल्नु पर्ने व्यवस्था गरिएको छ । यसरी शाखा खोल्नुभन्दा अघि कम्पनीले सो सम्बन्धमा स्थलगत सम्भाव्यता अध्ययन गर्नु पर्ने समेत प्राधिकरणले जनाएको छ । र, सो अध्ययनको आधारमा शाखा कार्यालय खोल्न उपयुक्त भएमा बीमा प्राधिकरणको स्वीकृति लिनु पर्नेछ । कर्मचारी कम्तीमा ३ देखि ७ जना हुनुपर्ने बीमा कम्पनीहरुले प्रदेश कार्यालय खोलेको हकमा कम्तीमा व्यवस्थापकीय तहको प्रमुख र अधिकृत तथा अन्य कर्मचारी गरी कम्तीमा ७ जना हुनुपर्ने छ । यता शाखा कार्यालयको हकमा कम्तीमा अधिकृत तहको कर्मचारी प्रमुख र अन्य कर्मचारी गरी कम्तीमा ५ जना र उपशाखा कार्यालयको हकमा कम्तीमा तीन जना कर्मचारी हुनैपर्ने व्यवस्था छ । यो बाहेक कम्पनीको कार्यबोझ हेरी आवश्यकता अनुसार अन्य अधिकृत तथा कर्मचारी राख्न सकिने समेत बताइएको छ । सूचना आदान प्रदान गर्नको लागि नेटवर्किङ्ग वा विद्युतीय माध्यमबाट केन्द्रीय कार्यालयको सूचना प्रणालीमा तत्काल आवद्ध हुनु पर्ने छ । त्यस्तै, कार्यालयमा फर्निचर, सूचना प्रविधिका साधन, कार्यालय कक्ष तथा अन्य सामानको पर्याप्त व्यवस्था हुनु पर्ने छ । र, कार्यालयमा बीमा अभिकर्ता, सर्भेयर लगायतका अन्य सेवाग्राहीहरुको सम्पर्क कक्षको समेत व्यवस्था गर्नुपर्ने निर्देशनमा उल्लेख छ । बीमा व्यवसायलाई प्रभावकारी तथा विश्वसनीय रुपमा सञ्चालन गर्न उक्त व्यवस्था गर्नुपर्ने जनाइएको छ । कस्तो ठाउँलाई प्राथमिकता दिने ? कम्पनीहरुले शाखा कार्यालय खोल्दा विभिन्न तीन वटा विषयलाई प्राथमिकता दिनु पर्ने छ । जसमा बीमाको दायरा नरहेको, बीमकहरुको उपस्थिति न्युन रहेको स्थान र कुनै पनि बीमा कारोबार गर्ने इकाई नभएको गाउँपालिका वा नगरपालिकामा शाखा वा उप शाखा कार्याल खोल्न प्राथमिकता दिनु पर्ने छ । समितिले तोकेको जिल्लामा कार्यालय स्थापना गरेपछि मात्र कम्पनीहरुले अन्य स्थानमा कार्यालय खोल्न पाउने छन् । दुई महिनाभित्रमा सञ्चालन गरिसक्नु पर्ने कम्पनीहरुले शाखा कार्यालय खोल्न स्वीकृति पाएको बढीमा दुई महिनाभित्रा कार्यालय सञ्चालन गर्नुपर्ने छ । यो निर्देशिका बमोजिम कम्पनीहरुले प्रदेश कार्यालय वा अन्य शाखा कार्यालय खोल्न प्राधिकरणको स्वीकृति पाएको दुई महिना भित्रमा कार्यालय सञ्चालन गरिसक्नु पर्ने छ । तर उपशाखाको हकमा प्राधिकरणबाट स्वीकृति पाएको मितिले एक महिना भित्रमा कार्यालय सञ्चालन गरिसक्नु पर्ने व्यवस्था छ । र, उक्त कार्यालय सञ्चालनमा ल्याएको ७ दिनभित्रमा प्राधिकरणलाई जानकारी गराउनु पर्ने समेत उल्लेख छ । तोकिएको समयमा कार्यालय सञ्चालन नगरे के हुन्छ ? यदि बीमा प्राधिकरणले ताकेको अवधिभित्रमा कम्पनीहरुले शाखा तथा उपशाखा कार्यालय सञ्चालनमा ल्याउन नसकेमा प्राधिकरणले उक्त कम्पनीलाई एक महिनासम्मको समय थपदिने छ । यसको लागि कम्पनीहरुले के कारणले शाखा तथा उपशाखा सञ्चालनमा ल्याउन नसकेको हो ? त्यसको कारणसहित म्याद थपको लागि प्राधिकरणमा निवेदन दिनुपर्ने छ । एक्स्टेन्सन काउन्टर पनि खोल्न पाउने बीमा कम्पनीहरुले विभिन्न क्षेत्रलाई लक्षित गरी सेवा प्रवाहको लागि एक्स्टेन्सन काउन्टर पनि खोल्न पाउने भएका छन् । कम्पनीहरुले यातायात व्यवस्था कार्यालय, बैदेशिक रोजगार प्रवर्धन कार्यालय, कृषि विकास कार्यालय, अन्तर्राष्ट्रिय विमानस्थल परिसर, भन्सार नाका, औद्योगिक क्षेत्र जस्ता क्षेत्रलाई लक्षित गरी एक्सटेन्सन काउन्टर खोल्न सक्नेछन् । पुँजी पुर्याउनेले विदेशमा पनि कार्यालय खोल्न पाउने प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले प्राधिकरणको पूर्व सहमति लिई विदेशमा आफ्नो कार्यालयको शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न सक्नेछन् । तर त्यसको लागि कम्पनीहरुले प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्याउनु पर्ने छ । साथै, कम्पनीका सञ्चालकलाई कुनै कारबाही नभएको कम्पनीले मात्रै स्वीकृति पाउने छन् । यदि कारबाही भएको भएपनि ६ महिना पुरा भइसक्नु पर्ने व्यवस्थामा उल्लेख छ । त्यस्तै, कम्पनीहरुलाई शाखा कार्यालय स्थानान्तरण वा बन्द गर्न समेत प्राधिकरणको स्वीकृति चाहिने भएको छ । शाखा सञ्चालन गर्न ७ वटा शर्त पुरा गर्नैपर्ने कम्पनीहरुले शाखा तथा उपशाखा कार्यालय खोल्दा विभिन्न शर्तहरु पालना गर्नुपर्ने हुन्छ । साथै, यसअघि खोलिएका शाखा कार्यालयहरु सञ्चालनमा पनि नयाँ शर्ता तथा मापदण्ड लागू हुने प्राधिकरणले जनाएको छ । (१) कार्यालय खोल्दा वा सञ्चालन गर्दा कम्पनी ऐन, २०६३ लगायत प्रचलित कानून बमोजिम दर्ता गर्नु पर्ने, स्वीकृति लिनु पर्ने वा सूचना वा जानकारी दिनु पर्नेमा बीमकले सोही बमोजिम सम्बन्धित निकायबाट दर्ता वा स्वीकृति लिई वा सम्बन्धित निकायलाई सूचना वा जानकारी दिई कार्यालय सञ्चालन गर्नु पर्नेछ । ( २ ) यस निर्देशिका बमोजिम खोलिएका बीमकका शाखा वा उपशाखा कार्यालयहरुले प्राधिकरणले तोके बमोजिम कृषि, पशुपन्छी तथा अन्य बीमाका सेवाहरु समेत प्रदान गर्नु पर्नेछ । (३) कार्यालय रहेको स्थानमा सर्वसाधारणले देखे स्थानमा नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त” बीमकको नाम सहितको साईन बोर्ड राख्नु पर्नेछ । (४) कार्यालयमा सेवाग्राही उपभोक्तालाई आवत जावत गर्न सहज तथा उपयुक्त पार्किङ्गको व्यवस्था सहित भौतिक पूर्वाधारको पर्याप्त व्यवस्था गर्नु पर्नेछ । (५) कार्यालयले आफ्नो कार्यालय अगाडि प्रदान गरिने सेवा सहित जिम्मेवार अधिकारी उल्लेख गरी नागरिक वडापत्र राख्नु पर्नेछ । (६) कार्यालयको पूरा ठेगाना, फोन नम्बर, सम्पर्क व्यक्तिको नाम सहितको विवरण बीमकको वेबसाइटमा राख्नु पर्नेछ । (७) कार्यालय खोल्न पेश गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन बमोजिम त्यस्तो कार्यालयबाट भएको कार्य प्रगति विवरण त्रैमासिक रुपमा तयार गरी अद्यावधिक राख्नु पर्नेछ र प्राधिकरणबाट माग भएको बेलामा कम्पनीले पेश गर्नु पर्नेछ ।
सानिमा रिलायन्सको एकीकृत कारोबार शुभारम्भ, नयाँ सिनर्जीले व्यवसायसँगै प्रतिफल पनि बढ्ने अपेक्षा
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आज चैत ९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुभारम्भ गर्न लागेका हुन् । मर्जरमा जानको लागि यी दुई कम्पनीबीच गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसको ८ महिनापछि एकीकृत कारोबार गर्न यी दुई कम्पनीले नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका हुन् । प्राधिकरणले गत फागुन १८ गते दुई कम्पनीलाई स्वीकृति दिएको थियो । दुई कम्पनी बराबर हैसियत अर्थात् सेयर अनुपात १:१ स्वाप रेसियोमा एकीकृत कारोबार गर्न लागेका हुन् । मर्जरपश्चात् बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ । कुन सूचकमा कत्रो बन्यो कम्पनी ? एकीकृत कारोबार भएपछि कम्पनीको जीवन बीमा कोष ८ अर्ब ३४ करोड रुपैयाँ, जगेडा कोष ७७ करोड ५९ लाख रुपैयाँ र सेयरधनी कोष ४ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ । साथै, मर्जर पश्चात् कम्पनीको खुद नाफा २८ करोड ३० लाख रुपैयाँ र लगानी १३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, गत माघसम्मको तथ्यांक अनुसार कम्पनीको प्रथम बीमाशुल्क कूल एक अर्ब ६७ करोड र कूल बीमाशुल्क ३ अर्ब २६ करोड नाघ्ने छ । सानिमा लाइफले गत माघसम्ममा ४७ करोड ५२ लाख प्रथम बीमाशुल्क संकलन गरेको थियो भने रिलायन्स लाइफले ५२ करोड १५ लाख रुपैयाँ संकलन गरेको थियो । त्यस्तै, कूल बीमाशुल्क पनि सानिमा लाइफको एक अर्ब ४८ करोड र रिलायन्स लाइफको एक अर्ब ७८ करोड रुपैयाँ आर्जन भएको थियो । मर्जपश्चात् कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे बन्नेछन् । त्यस्तै, नयाँ बन्ने कम्पनीको सञ्चालक समितिसँगै अध्यक्ष र वरिष्ठ डीसीईओको विषयमा भने आज बस्ने कम्पनी सञ्चालक समितिको बैठकले निर्णय गर्ने कम्पनी श्रोतले बतायो । नयाँ सिनर्जीले व्यवसायसँगै प्रतिफल पनि बढ्ने मर्जर पश्चात् नयाँ सिनर्जीका साथ बन्ने कम्पनीले भविष्यमा थप राम्रो प्रतिफल प्रदान गर्ने रिलायन्स लाइफका अध्यक्ष ताराचन्द केडियाले बताए । त्यस्तै, सानिमा लाइफका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले दुबै कम्पनी एक आपसमा गाभिए पश्चात सञ्चालन हुने कम्पनीले नेपालको बीमा क्षेत्रमा उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा आफुलाई स्थापित गर्ने बताए । त्यसको लागि आवश्यक योजना तर्जुमा तथा कार्यान्वयन गर्ने, संस्थागत एवम् व्यवसायिक सुशासन, पारदर्शिता जस्ता नीतिहरु अवलम्बन गर्ने, सेवाग्राहीको आवश्यकता अनुरुपको नवीन बीमा योजनाहरु तर्जुमा गर्ने लक्ष्य रहेको उनको भनाई छ । साथै, एक आपसमा गाभिए पश्चात् कम्पनीको पुँजी वृद्धिको साथै कम्पनीको गुणस्तर, व्यवसायमा पनि बढ्ने उनले बताए । दुई कम्पनीबीचको यो मर्जर जीवन बीमा क्षेत्रकै दोश्रो मर्जर हो । यस्तो बन्यो लोगो : कलर कम्बिनेस बराबर, स्लोगन रिलायन्सकै मर्जरपछि बनेको सानिमा रिलायन्स कम्पनीको लोगोमा सानिमा लाइफ र रिलायन्स लाइफ दुबै कम्पनीको लोगोको मिश्रण छ । दुबै कम्पनीको कर्पोरेट कलर कम्बिनेस बराबर रुपमा गरिएको देखिन्छ । स्लोगन भने रिलायन्स लाइफकोलाई नै निरन्तरता दिइएको छ । रिलायन्स लाइफको ‘खुलेर जिऔं’ भन्ने स्लोगन अब नयाँ कम्पनी सानिमा रिलायन्सकोमा देख्न सकिन्छ । यसअघि सानिमा लाइफ इन्स्योरेन्सको स्लोगन भने ‘निश्चिन्त भवः’ थियो ।