बीमा बजारको दिगो वृद्धिको पहिलो शर्त नै व्यवसायिक अभिकर्ता
काठमाडौं । बीमा अभिकर्ता समग्र बीमा व्यवसायको मेरुदण्ड भएको भन्दै सरोकारवालाहरुले बीमा बजारको दिगो वृद्धिको पहिलो शर्त भनेको व्यवसायिक अभिकर्ता भएको बताएका छन् । राष्ट्रिय बीमा संस्थानले राजधानीमा आयोजना गरेको ‘जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम’ का सहभागीहरुले विश्वमै जीवन बीमा व्यवसाय अभिकर्ता बिना सम्भव नै नहुने भन्दै अभिकर्ता व्यापारिक केन्द्र वा डिलर भएकाले बीमालेख वितरणको भरपर्दो माध्यम भएको बताएका हुन् । यस माध्यमलाई नियामक निकाय वा बीमा प्राधिकरणले सुव्यवस्थित बनाइदिँदा अझ बढी बजार विस्तारमा सहजता छाउने उनीहरुको भनाई थियो । कार्यक्रममा ‘जीवन बीमा र व्यवसायिक सफलता’ विषयमा प्रस्तुति गर्दै प्राइम लाइफका पूर्वसीइओ मनोजकुमार भट्टराईले बीमा कम्पनीका तर्फबाट अभिकर्ता नै ग्राहकसँग पहिलो साक्षत्कार गर्ने पहिलो अन्डरराइटर भएको बताए । कम्पनीको अभिकर्ताप्रति परम विश्वास हुने भन्दै उनले भने- ‘ग्राहक आफैं कम्पनीमा नगन्य मात्रामा आउँछन् तर अभिकर्ताहरूले उनीहरूको विश्वासमा ग्राहक तान्छन्, अभिकर्ताकै विश्वासमा ग्राहक आकर्षित हुन्छन् र बीमाको व्यापार बढ्छ, यसकारण अभिकर्ता बीमा व्यवसायका मेरुदण्ड हुन् ।’ संस्थानका प्रशासक कविप्रसाद पाठकले व्यवसायलाई कसरी स्वस्थ ढंगले अगाडि बढाउने भन्नेमा अभिकर्ताको भूमिकाको चर्चा गर्दै अभिकर्ता पेसालाई व्यवसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवद्र्धन गर्दै लैजाने नीतिअनुरुप कम्पनीले यसप्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए । अभिकर्ताहरुको मनोबल उच्च बनाई थप उत्प्रेरित र जवाफदेहि बनाउने, कर्मचारी र अभिकर्ताहरुबीच पारस्परिक सहयोग र सहकार्यको कार्यमूलक वातावरण निर्माण गरी बीमा व्यवसायको विकास र विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए । कम्पनीका शाखा तथा बजार व्यवस्थापन विभागमा प्रमुख दिपा अधिकारीले बीमा क्षेत्रको विद्यमान अवस्था र संस्थानको विद्यमान अवस्थाका बारेमा प्रस्तुति गरेका थिए । संस्थानका वरिष्ठ अभिकर्ता हरिसरण शिवाकोटीले अहिले बजारलाई आवश्यक भइरहेको दक्ष अभिकर्ताको उत्पादन गर्नु आजको आवश्यकता भएको भन्दै यसमा नेपाल सरकार, बीमा प्राधिकरण, बीमा कम्पनी, बीमित तथा अभिकर्ता सबैले ध्यान दिनु पर्ने बेला आएको बताए । अभिकर्ताले गर्ने बजारीकरणले घर-घरबाटै बीमा गराउने बीमित बढाउदै बीमाको पहुँच समेत वृद्धि गर्ने भन्दै उनले बजारको माग अनुसार नयाँ जीवन बीमा योजनाहरुको पहिचान गरी ल्याउनका लागि व्यवस्थापनको ध्यानाकर्षण गराए । संस्थानमा निरन्तर कार्यरत उत्कृष्ट अभिकर्ताहरुको सहभागीता रहेको कार्यक्रममा अभिकर्ताहरुको व्यवसायिक विकास, बजार अवस्था, समस्या तथा समाधानका उपायबारेमा पनि छलफल भएको थियो । संस्थानको निर्धारित लक्ष्य प्राप्त गर्ने सिलसिलामा आइपरेका बाधा अवरोध तथा समस्याका साथै सबै पक्ष बीचको बुझाइमा एकरुपता कायम गर्दै विद्यमान समस्या र अप्ठेराहरुको समाधानका उपायहरु पहिल्याउने विषयमा पनि सो अवसरमा छलफल भएको थियो । जीवन बीमा गर्ने अभिकर्ताको सेवा, शर्त र सुविधा सम्बन्धी पनि सो अवसरमा छलफल भएको थियो । कार्यक्रममा संस्थानका सहायक प्रशासक कृष्ण कुमार श्रेष्ठ, नायब महाप्रबन्धक महेश रिमाल, एजेन्सी विभाग प्रमुख चुडाराज अधिकारी, अभिकर्तासंघका प्रतिनिधि तथा संस्थानका विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरुको समेत करीब ८० जनाको उपस्थिति रहेको थियो ।
हिमालयन रिइन्स्योरेन्सको दाबी भुक्तानी साढे ४ हजार प्रतिशतले छलाङ, कुन सूचक कस्ता ?
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ६२.८३ प्रतिशत घटेर ४ करोड ६३ लाख ८१ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ६८७ प्रतिशत बढेर २ अर्ब ३६ करोड ३३ लाख रपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ९९ लाख ७५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४ हजार ५७९ प्रतिशत बढेर १४ करोड १७ लाख ५३ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३० लाख २९ हजार रुपैयाँ मात्रै खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको गत वर्षको पुस मसान्तसम्म २ करोड ४५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेकोमा यसवर्ष बढेर ४२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कूल बीमा शुल्क आर्जन ७१४ प्रतिशत बढेर २ अर्ब ४८ करोड ८९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ, जगेडा कोष ३८ प्रतिशत बढेर १७ करोड ७७ लाख रुपैयाँ, बीमा कोष १३ करोड ६९ लाख रुपैयाँ र महाविपत्ति कोष १ करोड ५० लाख रुपैयाँ रहेको छ ।
दुई कम्पनी मर्ज भई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स बन्ने
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहने सहमती भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डिडिए रिपोर्टको आधारमा आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता गरिएको छ । सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले दुवै कम्पनी मर्जर पश्चात पूँजीको हिसाबमा ठूलो बीमा कम्पनी बन्ने बताए । यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले मर्जरपछि कम्पनीले देशको सातै प्रदेशमा रहेको ८२ वटा शाखा मार्फत सेवा प्रदान गर्ने गरी उत्कृष्ठ सेवा प्रदान गरी एक नमूना बीमा कम्पनीको हुन् बताए ।