प्राधिकरणले नुवाकोटमा गर्याे बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको नुवाकोट जिल्लाको तादी गाउँपालिका, खरानीटामा यही माघ ११ गते बुधबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले कृषहरुलाई कृषि बीमा गर्न प्रोत्साहन गर्नका लागि सरकारले कृषि बीमामा उपलब्ध गराउँदै आएको अनुदान बाहेक गाउँपालिकाबाट समेत बीमाशुल्कमा अनुदानको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले छिट्टै नै गाउँपालिकाका कर्मचारीहरुको दुर्घटना बीमा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । अध्यक्ष तामाङले भूकम्प, बाढी, पहिरो, आगलागी लगायतका कारणले हुनसक्ने आर्थिक क्षतिको क्षतिपूर्ति पाउनका लागि बीमा गर्न जोड दिनुपर्ने बताउँदै गाउँघरमै बीमा गर्न पाउने र बीमा दाबी पनि सहजै पाउने व्यवस्था गर्न प्राधिकरणसँग आग्रह गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमाको परिचय, महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको पहुँच विस्तारमा गाउँपालिकाको भूमिकाका बारेमा प्रस्तुती दिएका थिए । उपनिर्देशक सापकोटाले स–साना रकमबाट समेत बीमा गर्न नपाएमा, बीमा दाबी भुक्तानी समयमा नभएमा वा बीमा सम्बन्धी कुनै समस्या परेमा नेपाल बीमा प्राधिकरणलाई जानकारी दिन आग्रह गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहायक प्रथम शिवप्रसाद खनालले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्य र कर्मचारी, शिक्षक, बीमा कम्पनीका प्रतिनिधि, बीमा अभिकर्ता, कृषकहरु लगायतको सहभागिता रहेको थियो ।
सूर्यज्योति लाइफले सम्पत्ति बिक्री गर्दै
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नाममा रहेको सम्पत्ति बिक्री गर्ने भएको छ । साविक सूर्या लाइफको कर्पोरेट कार्यालय रहेको श्री कम्प्लेक्सको तेस्रो तथा चौथो तल्लामा जडित तथा निर्माण भएका सम्पत्तिहरु जे जस्तो अवस्थामा छ सोही अबस्थामा बिक्री गर्ने भएको हो । इच्छुक व्यक्ति वा संस्थाहरुले उक्त सम्पत्तिहरु खरिदको लागि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीले ३ दिन अर्थात् १५ गतेभित्र बोलपत्र पेश गर्न आग्रह गरेको छ । कम्पनीले फर्निचर तथा फिक्सचर्स, फल्स सिलिङ्ग, सिभिल कन्सट्रक्सन लगायत लिजहोल्ड सहित उक्त कार्यालयमा जडित स्थिर सम्पत्तिहरु, सोफासेट, टेबल तथा कुर्सिहरु तथा कार्यालय सामाग्रिहरु, सिसिटिभि क्यामेरा, रेकर्डर, एनभिआर सृट, टेलिभिजन र सिलिङ्ग तथा वाल एसी बिक्री गर्ने भएको हो ।
पहिलो दिनमै १० प्रतिशतले बढ्यो सूर्यज्योति लाइफको सेयर मूल्य, प्रतिकित्ता कति ?
काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको छ । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । साविकको सुर्या लायफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जभएपश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले बुधबार पहिलो कारोबार गरेको हो । दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४०८.७० रुपैयाँ पुगेको छ । जुन नेप्सेले तोकेको ओपनिङ प्राइसको तुलनामा प्रतिकित्ता ३७.११ रुपैयाँले बढी हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ३७१.५९ रुपैयाँबाट ओपनिङ प्राइस तोकेको थियो । बजारमा कम्पनीको ८ लाख रुपैयाँ बराबरको १ हजार ९६५ कित्ता सेयर कारोबार किनबेच भएको छ । मर्जरको क्रममा रहेकोले साविकको सुर्या लायफ र ज्योति लाइफको सेयर कारोबार रोक्का भएको थियो । मर्जर प्रक्रिया सकिएसँगै दोश्रो बजारमा सेयर सूचीकृत भई सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार शुरु भएको छ । साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर हुँदा सेयर स्वाप अनुपात १००ः०.८२४५ अर्थात साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १ कित्ता शेयर बराबर १ कित्ता र साविक ज्योति लाइफ इन्स्योरेन्स १ कित्ता सेयर बराबर ०.८२४५ कित्ता कायम हुन गएको हुँदा सोही बमोजिम सेयरधनीहरुको नाममा सेयर कित्ता कायम भएको छ । कम्पनीको पूँजी संरचना संस्थापक समूह अन्तर्गत ५१ प्रतिशत तथा सर्वसाधारण समुह अन्तर्गत ४९ प्रतिशत रहेको छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी आई एस ओ ९००१ः२०१५ बाट सम्मानित भैसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीले देशभर रहेका १८१ शाखा कार्यालयहरुबाट आफ्ना सेवाग्राहिहरुलाई सेवा प्रदान गर्दै आएको छ ।