निर्जीवन बीमा बजार, जोखिम र जोखिम मुल्यांकन

बीमा भनेको आर्थिक नोक्सानी हुँदा दिइने क्षतिपूर्तिको सुनिश्चितता हो । बीमा करार गर्दा बीमा गर्ने व्यक्ति (बीमित) र बीमा सेवा गरिदिने संस्था (बिमक) बीच लिखित सम्झौता हुन्छ । त्यो सम्झौताका आधारमा बीमा कम्पनीहरूले नोक्सानी भएको बखत नोक्सानी मूल्याङ्कन गरी क्षतिपूर्ति रकम दिने गरिन्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुनसक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । कतिबेला कस्तो प्रकृतिको दुर्घटना हुन्छ, कसैलाई पनि थाहा हुँदैन । त्यसैले भोलिको दिनमा हुनसक्ने सम्भावित जोखिमबाट हुने क्षतिको न्यूनीकरण गर्न तथा भविष्यमा भैपरी आउने जोखिमबाट हुने क्षतिको हस्तान्तरण गर्नका लागि अपनाइने दुईपक्षीय कानुनी सम्झौता वा बीमा कम्पनीहरूसँग भविष्यमा भैपरी आउँदा हुने हानि-नोक्सानी र जोखिमबाट मुक्त हुनका लागि गरिने करार सम्झौता नै बीमा हो । नेपाल भूपरिवेष्टित राष्ट्र हो । यहाँ भू-धरातलीय विविधता अत्यधिक छ । एकै किसिमको भू-धरातलमा समेत फरक-फरक प्रकारको जोखिम रहेको पाउन सक्छौं । भविष्यमा घट्न सक्ने विपत्ति र यसका जोखिम न्यूनीकरणका अनेकौं उपाय छन् । तर त्यसको लागि यसबारे आवश्यक जानकारी हुन आवश्यक छ । बीमा कम्पनी, पुनर्बीमा कम्पनी र नेपाल सरकार पनि जोखिम व्यवस्थापनमा कुनै खास नीति आकलन नगरी बीमा दर रेट निर्धारण गरेको पाउन सक्छौं । खोलाको डिलमा बनेको घरको बनावट र सम्म मैदानमा बनेको घरको वर्गीकरण गर्ने प्रावधान एउटै छ । बाटो, उद्योग, पुल तथा स्टकको प्रकृति, स्टक रहेको स्थान, बीमामा उच्च जोखिम तथा भविष्यमा आउन सक्ने जोखिमको कारणबाट आर्थिक नोक्सानीको बारेमा आवश्यक मूल्यांकन नगरी कम्पनीका जोखिम मूल्यांकन कर्ता तथा बजार विभागका कर्मचारीहरूले बीमालेख जारी गर्ने गरेको देखिन्छ । हरेक बिमकले जोखिम न्यूनीकरण गरी बीमा जारी गर्नुपर्छ । तर बजारमा पहिला व्यापार-व्यवसाय वृद्धि तथा प्राप्ति गर्ने दौड चलिरहेको छ र बीमा कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । बीमा कम्पनीमा कार्यरत बजार विभागका कर्मचारीहरूमा पनि जोखिम मूल्यांकनको आधारमा भन्दा पहिला कसरी व्यापार प्राप्ति गरी आफ्नो लक्ष्य पूरा गर्ने भन्नेमा ध्यान देखिन्छ । उनीहरू सेवा-सुविधा कसरी प्राप्त गर्ने भन्नेतर्फ केन्द्रित देखिन्छन् । नेपालका बीमा बजारमा दक्ष, नैतिक तथा पारदर्शी जनशक्तिको चरम अभाव छ । बीमा सम्बन्धी अध्ययन, अनुसन्धान तथा शैक्षिक सामग्रीहरू पनि निकै कमी छ । विकसित देशमा बीमालाई पहिलो प्राथमिकताका साथ लिइन्छ । साथै आˆनो सम्भावित जोखिम भएको बखत उनीहरूमा बीमाले जोखिम बहन गर्छ र आर्थिक नोक्सानीबाट मुक्त भइन्छ भन्ने विश्वास देखिन्छ । नेपालमा बीमा सम्बन्धी जनचेतनाको अभावमा यसको विश्वसनीयता ओरालो लाग्दै गएको छ । दक्ष जनशक्ति अभावले बीमा बजारको सम्भावना राम्रो भए पनि विस्तार हुनसकेको छैन । सरकारले पनि यसलाई उच्च प्राथमिकतामा राखेको पाइँदैन । यद्यपि, यी क्षेत्रमा देखिएका सबै समस्या न्यूनीकरण गर्न सकिने खालका छन् । बीमा कम्पनीहरूले बीमालाई स्वच्छ, शुद्ध र पारदर्शी बनाउनुपर्ने हुन्छ । व्यवसायी तथा बीमितहरूले आˆनो व्यवसाय सञ्चालनमा मध्यम र उच्च जोखिम आकलन गरी बीमालेख लिनुपर्दछ । क्षति मूल्यांकनकर्ताहरूले दाबी मूल्यांकन गर्दा व्यावसायिक नैतिकता पालना गरे भने जटिलता आउँदैन । नेपाल सरकारले पनि बीमा एउटा महत्वपूर्ण आर्थिक क्षेत्र भएकोले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्दछ । बीमा धेरै प्रकारका सिद्धान्तमा आधारित हुन्छन् । सामान्यतः परम सद्विश्वास, बीमायोग्य हित, क्षतिपूर्ति, योगदान र प्रतिस्थापनको सिद्धान्तमा आधारित हुन्छन् । तर, व्यवहारमा बीमालाई केवल एउटा बाध्यकारी बैंक तथा वित्तीय संस्थाहरूले आफूले प्रवाह गरेको ऋणको सुरक्षाका रूपमा लिने गरेको पाइन्छ । साथै जोखिम मूल्याङ्कन गरी जानी बुझेर बीमा गरेको पाइँदैन । २०७२ सालको विनाशकारी भूकम्प, विश्वव्यापी महामारी कोरोना, बेमौसमी बाढीपहिरो, सवारी दुर्घटना, विमान दुर्घटना र त्यसबाट हुन र पर्न गएको ठूलो आर्थिक र मानवीय क्षतिलगायत विपद्पछि नेपालीको सोच्ने तरिकामा सकारात्मक परिवर्तन आइरहेको छ । यद्यपि जुन गतिमा बीमा सचेतना र अभियान अघि बढ्नुपर्ने थियो, त्यति हुनसकेको छैन । नेपाल सरकारले सवारी साधनको अनिवार्य बीमा लागू गरेको छ । योसँगै घर तथा सम्पत्ति र स्वास्थ्य बीमा पनि त्यसरी नै अनिवार्य गर्न सक्छ । बीमाको पहुँच बढाउन सबैभन्दा पहिला त बीमासम्बन्धी साक्षरता तथा जनचेतना अभिवृद्धि गर्नुपर्ने हुन्छ । बीमा किन, केका लागि र कोसँग गरिन्छ भनेर प्रष्टसँग बुझ्नु र बुझाउनुपर्छ । नेपालमा बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोगमार्फत उक्त सेवाको ‘डिजिटलाइजेसन’ ले निकै फड्को मारिरहेको अवस्थामा बीमा क्षेत्रमा पनि प्रविधिको प्रयोगमार्फत सेवा विस्तार गर्न सकिने प्रशस्त सम्भावना छन् । त्यसैले बीमा क्षेत्रमा प्रविधिको प्रयोगमार्फत सेवा विस्तार गर्न सकिने र बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरू पनि प्रविधिको प्रयोगमा अभ्यस्त हुनुपर्ने हुन्छ । हाल नेपालमा मोटर, सम्पत्ति, सामुद्रिक तथा पारवहन, ठेकेदारी तथा इन्जिनियरिङ, स्वास्थ्य तथा औषधोपचार, बाली तथा पशुपन्छी, दुर्घटना र बैंकर्स क्षतिपूर्ति बीमालेख प्रचलनमा छन् । हाल बीमा प्राधिकरणले पनि दक्ष जनशक्ति उत्पादनका लागि बीमा कम्पनीहरूसँगको सहकार्यमा इन्स्युरेन्स इन्स्टिच्युट अफ नेपालको स्थापना गरेको छ । त्यसमार्फत समय-समयमा तालिम सञ्चालन गरी कर्मचारीहरूको दक्षता, कार्यक्षमता अभिवृद्धि गर्दै आएको छ । यसले बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुनुका साथै उनीहरूको कार्यक्षमता अभिवृद्धिले सेवाप्रवाह गुणस्तरमा पनि अभिवृद्धि हुँदै जाने गर्छ । बीमा कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा घट्दै जाने र नयाँ-नयाँ बीमालेख ल्याउँदै जानाले पनि योे क्षेत्र फराकिलो बन्दै जान्छ । सम्पूर्ण व्यवसाय वा सम्पत्तिको बीमामा आकर्षण पनि बढ्छ । हालको बीमा दाबी प्रक्रिया केही जटिल तथा झन्झटिलो भए तापनि त्यसलाई समयसापेक्ष रूपमा सरलीकृत र ग्राहकमैत्री बनाउँदै लैजानुपर्ने हुन्छ । हाल बीमा प्राधिकरणले उधारोमा बीमालेख जारी गरी बिक्री गरिरहेको वा बीमितको खातामा पर्याप्त मौज्दात नभएको अवस्थामा पनि चेक दिई बीमालेख लिने गरेको पाइएको छ । त्यसैले मौज्दात सुनिश्चित नभई बीमालेख जारी नगर्न निर्देशन गरेको छ । दैवी प्रकोप, महामारी, द्वन्द्व, अपराध, जलवायु परिवर्तन, भूकम्प, ज्वालामुखी जस्ता कारणहरूबाट दैनिक मानवीय र भौतिक सम्पत्तिको ठूलो जोखिम र क्षति हुँदै गएको छ । नेपालमा अहिलेसम्म यस्ता दैविक र प्राकृतिक जोखिम उच्च देखिन्छ । समयमै पूर्वतयारी नगर्दा ठूलो क्षति व्यहोर्नुपर्ने हुन सक्छ । विपद्को अनुमान र आकलन गर्न सकिंदैन किनकि यो अनपेक्षित र अनिश्चित अवस्था हो । मानव जीवन र सम्पत्तिमा हरेक क्षण हरेक समय जोखिमको सम्भावना रहिरहन्छ । त्यसैले कुनै पनि क्षेत्र वा मानिस जोखिममुक्त छैन । विपदको क्षतिलाई न्यूनीकरण गर्न राम्रोसँग जानी, बुझी जोखिम न्यूनीकरण गर्ने माध्यम नै बीमा हो । त्यस्ता विपद्बाट बच्न र सम्भावित क्षति न्यूनीकरण गर्न बीमा नै उपयुक्त विधि हो । (लेखक आईएमई जनरल इन्स्योरेन्स कम्पनी, केन्द्रिय कार्यालयमा प्रबन्धकको रुपमा कार्यरत छन् )

हवाई दुर्घटनाको क्षति मूल्याङ्कन गर्न सिङ्गापुरबाट आइपुगे सर्भेयर

काठमाडौं । आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ । क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौं आइपुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए । बीमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिङ्गापुरबाट सर्भेयर खटाएको उनको भनाइ छ । दुर्घटनामा परेका यात्रुको बीमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिए । ‘बीमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बीमा गरेको हुन्छ । पुनर्बीमाबाट पैसा आएपछि बीमा कम्पनीबाट भुक्तानी भइहाल्छ । मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा बीमा रकम भुक्तानी हुन्छ’, उनले भने । सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बीमा भुक्तानीका सहजीकरण गर्न निर्देशन दिएको पनि प्रवक्ता पौडेलले जानकारी दिए । बीमा दाबी भुक्तानीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि चासो राखेको उनको भनाइ छ । ‘राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बीमा भुक्तानीबारे चासो राखेको थियो । बीमा रकम भुक्तानीका लागि पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले पोखरा र काठमाडौंबाट रिपोर्ट लिन सकिने भनिएको छ । दाबी भुक्तानीमा समस्या नहुने जानकारी हामीले समितिलाई गराएका छौँ’, प्रवक्ता पौडेलले भने । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाइयात्रुको २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको हुन्छ । चालकदलका सदस्यको भने एअरलाइन्स कम्पनीअनुसार फरक–फरक हुने प्राधिकरणले जनाएको छ । आइतबार दुर्घटनामा परेको यती एअरलाइन्सको हवाइजहाजमा सवार चार जना चालक दल र ६८ जना यात्रु सबैको मृत्यु पुष्टि भइसकेको छ ।

नेपाल लाइफको बीमा रकम अनलाइन भुक्तानी गर्दा उपहार नै उपहार

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ गरेका छन् । यस अभियान अन्तर्गत माघ महिनाभरि बीमा शुल्कको नविकरण अनलाईन माध्यमबाट भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न उपहार प्राप्त गर्नेछन् । यसका साथै भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नविकरण शुल्क भुक्तानी गर्ने ग्राहक मध्येबाट हरेक हप्ता एकजनाले इयरबड्स पाउने कम्पनीले जनाएकाे छ । त्यस्तै, पहिलो पटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नविकरण गर्ने सम्पूर्णले १०० रुपैयाँ क्यासब्याक प्रदान गर्नेपनि कम्पनीले जनाएकाे छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई-सेवा, खल्ती, फोन-पे, कनेक्ट आइ.पी.एस, आई एम ई-पे र प्रभु-पे सँग सम्झौता गरेको छ । य २०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ।