दुई बीमा कम्पनीलाई अर्थमन्त्रालयले भन्यो : ९० दिनभित्र लेखापरीक्षण सक्नु, लाभांश वितरण नगर्नु

काठमाडौं । नेपाल सरकार अर्थमन्त्रालयले दुई बीमा कम्पनीलाई तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । सोमबार बसेको अर्थमन्त्रालयको बैठकले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई सो निर्देशन दिएको हो । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट सुरु भई २०८० साल बैशाख १६ गतेसम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले लेखापरीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिएका छन् । राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७३/७४ देखि लेखापरीक्षण हुन बाँकी छ । बैठकमा अर्थमन्त्रालय राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बराल लगायतको उपस्थिति रहेको थियो ।

रसुवामा बीमाको दाबी भुक्तानी सहज बनाउन प्राधिकरणको निर्देशन

काठमाडौं । रसुवामा बीमाको दाबी भुक्तानी सहज बनाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएकाे छ । रसुवा जिल्लाको कालिका गाउँपालिकामा आइतबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा बीमाको दाबी भुक्तानी सहज बनाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएकाे हाे । नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्य र कर्मचारी, शिक्षक, बीमा अभिकर्ता, बीमकका प्रतिनिधि, कृषक लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले बीमा अभिकर्ताले सत्य जानकारी नदिने, झुठ्ठा विवरण उपलब्ध गराउने र आफ्नो स्वार्थमा मात्र केन्द्रित भएर काम गर्ने गरेको गुनासो गरे । गाउँपालिकाका पशुस्वास्थ्य प्राविधिक बुद्धिनाथ न्यौपानेले गाउँपालिकाले कृषि बीमाशुल्कमा १० प्रतिशत अनुदान दिने गरेको जानकारी दिए । साथै, उनले बीमा दाबी भुक्तानी झन्झटिलो रहेको, बीमा कम्पनीले कुखुराको बीमा नगरेको, बाख्राको बीमा गर्दा दुर्घटना वापत लिने गरेको रकम बढी भएको र बीमाशुल्क भन्दा बढी रकम लिने गरेको जस्ता गुसानाहरु आउने गरेको जानकारी दिए । कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमा दाबी भुक्तानी सरल बनाउन र स्वच्छ एवम् पारदर्शीरुपमा बीमा व्यवसायलाई अघि बढाउन बीमा कम्पनीहरुलाई प्राधिकरणले निर्देशन दिएको बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुती गरेका थिए भने सहायक प्रथम शिव प्रसाद खनालले कार्यक्रम संचालन गरेका थिए ।

प्रिमियममा आईपीओ जारी गर्दै सिटिजन लाइफ, तीन सञ्चालकको नियुक्ति अनुमोदन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ जारी) गर्ने भएको छ । उक्त प्र्र्रस्तावलाई कम्पनीको पाँचौ वार्षिक साधारण सभाले पारित गरेको छ । त्यस्तै, सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव ज. व. राणाको नियुक्ति अनुमोदन गरेको छ । साथै, स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको नियुक्ति समेत अनुमोदन भएको छ । सभाले सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ । सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८/०७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्टस् (वर्तमान लेखापरीक्षक) लाई गरिएको नियुक्ति अनुमोदन गरेको छ ।