रिलायन्स लाइफले बीमालेख धितो कर्जामा बढायो ब्याज, पुसदेखि नै लागू हुने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेख धितो कर्जामा वार्षिक १२ प्रतिशत ब्याज दिने भएको छ । इन्स्योरेन्सले यसअघिको व्यवस्थालाई परिमार्जन गर्दै सो मात्राको ब्याज दिने भएको हो । यसअघि बीमालेख धितो कर्जाको वार्षिक कर्जा ब्याजदर १० प्रतिशत थियो । कम्पनीले एक सुचना जारी गर्दै कम्पनीबाट आफ्नो बीमालेख धितो राखी लिइएको कर्जाको वार्षिक ब्याजदर बढाएको जानकारी गराएको छ । उक्त सूचना अनुसार नयाँ ब्याजदर आगामी पुस १ गतेदेखि लागू हुने छ । साथै, इन्योरेन्सले आफुले लिएको कर्जा, उक्त कर्जामा लागेको ब्याज रकम समयमा नै भुक्तानी गर्न समेत सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । मंसिर १९ गतेको मन्त्रिस्तरिय निर्णय अनुसार अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष तोकिएको हो । सरकारले उनलाई अर्को व्यवस्था नभएसम्मको लागि रिक्त रहेको अध्यक्ष पदको जिम्मेवारी दिएको हो । अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका अर्याल यसअघि कम्पनीको सञ्चालक सदस्य थिए । उनी अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव समेत हुन् । यसअघि कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे थिए । उनले आफ्नो कार्यकाल सकिनुअघि नै राजिनामा दिएपछि कम्पनीको अध्यक्ष पद रिक्त थियो । निवर्तमान अध्यक्ष घिमिरेले गत मंसिर ११ गते राजिनामा दिएका हुन् । कोरोना बीमाको दावी भुक्तानीको विषयमा भएको विवादका कारण घिमिरेले स्वच्छिक रुपमा अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।

समयमै पारिश्रमिक दिन बीमा सर्भेयरको माग, भन्छन् : हामीलाई सकारात्मक दृष्टिकोणले हेरियोस्

काठमाडौं । बीमा सर्भेयरहरुले बीमा कम्पनीहरुले समयमै पारिश्रमिक नदिएको गुनासो गरेका छन् । नेपाल बीमा प्राधिकरणको बीरगञ्जस्थित प्रदेश कार्यालयको आयोजनामा बीरगञ्जमा बीमा सर्भेयरहरूसँग अन्तरक्रिया कार्यक्रम बोल्दै सर्भेयरहरुले उक्त गुनासो व्यक्त गरेका हुन् । कार्यक्रममा सहभागी बीमा सर्भेयरहरुले बीमा कम्पनीहरुले बीमा गराउँदा बीमितलाई बीमालेखका बारेमा राम्रोसँग जानकारी दिनुपर्ने, सर्भेयरलाई क्षेत्र छुट्याएर काम दिने व्यवस्था गर्नुपर्ने, बीमितलाई समयमै बीमा दाबी भुक्तानी गर्नुपर्ने, क्षति भएको जानकारी पाउनासाथ सर्भेयरलाई खटाउनुपर्ने, सर्भेयरले दिएको अनलाइन रिपोर्टलाई मान्यता दिनुपर्ने, सर्भेयरका लागि तालिमको व्यवस्था गर्नुपर्ने र सर्भेयरलाई समयमा नै पारिश्रमिक दिनुपर्ने लगायतका धारणा राखेका थिए । बीमा सर्भेयर सुनिल जोशीले सर्भेयर पेशालाई मर्यादित र व्यवस्थित तुल्याउनका लागि बीमकले सर्भेयरप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने तथा समयमानै सर्भेयरलाई पारश्रमिक दिनुपर्ने बताए । बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेले बीमक, बीमा सर्भेयर र बीमितबीचको सुमधुर सम्बन्धबाट नै बीमाप्रतिको विश्वास बढ्दै जाने विचार राखे । नेपाल बीमा प्राधिकरणको बीरगञ्ज प्रदेश कार्यालयकी प्रमुख कुसुम शर्माले बीमा सर्भेयरले आफ्नो पेशालाई मर्यादित र व्यवस्थित बनाउँदै लैजानुपर्ने र क्षति मूल्याङ्कन प्रतिवेदन समयमा नै उपलब्ध गराउनुपर्ने बताइन् । सो कार्यक्रम बीमा सर्भेयरको कामलाई छिटोछरितो बनाउने तथा सर्भेयरका समस्याहरुका बारेमा छलफल गरी समाधानका उपाय पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक कालीकान्त झा र बीमा सर्भेयरहरुको सहभागिता रहेको थियो ।