मन्जुश्री फाईनान्समा अब अनलाइनबाट खाता खोल्न सकिने

काठमाडौं । मन्जुश्री फाईनान्सले ग्राहकहरुको लागि अनलाइन अकाउन्ट ओपनिङ्गको सुविधा ल्याएको छ । यस सेवाकाे सुरुवातसँगै फाइनान्सका ग्राहकले आफु बसेकाे जुनसुकै ठाउँबाटै खाता खाेल्न सक्नेछन् । मन्जुश्री फाईनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलब्ध गराउदै आएको छ । साथै, ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र १ वर्ष वा सो भन्दा बढि अवधिको ब्याक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमा समेत समावेश गरिएको छ । यस फाइनान्सले स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ्ग, एटिम कार्ड, अन्य आधुनिक बैंकिङ्क सुविधा उपलब्ध गराउँदै आएको छ । संस्थाले २०७९ मङसिरसम्म १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा ११ अर्ब ७४ करोड कर्जा लगानी गरेकाे छ ।  

कोरोना बीमितलाई बीमक संघको ताकेता, १५ दिनभित्र कागजात नबुझाए पैसा नदिने

काठमाडौं । नेपाल बैंकर्स संघले कोरोना बीमाका बीमितहरुलाई दावी भुक्तानी लिन ताकेता गरेको छ । निर्जीवन बीमा कम्पनीका सीईओहरुका छाता संगठन उक्त संघले दावी भुक्तानी लिन कागजागत नबुझाएका दावीकर्ताहरुलाई आवश्यक कागजात बुझाउन ताकेका गरेको हो । संघले कोरोना बीमाको दावी गराएका तर हालसम्म पनि आवश्यक कागजातहरु नबुझाउने सबै निर्जीवन बीमा कम्पनीका बीमितलाई उक्त कागजात बुझाउन १५ दिनेको समय पनि दिएको छ । यदि उक्त समयभित्रमा आवश्यक कागजातहरु पेश नभएमा संघले कोरोना दावी फायल बन्द गरिदिने समेतको चेतावनी दिएको छ । संघले मंसिर ४ गते एक सूचनामार्फत उक्त जानकारी गराएको हो । यससँगै अब दावी लिन बाँकी दावीकर्ताहरुले आफूले दावी गरेको कम्पनीबाट बीमाको पैसा लिन सक्नेछन् । बीमा कम्पनीहरुले दावीकर्ताहरुलाई बारम्बार ताकेता गर्दा पनि आवश्यक कागजात नबुझाएकाले मिति नै तोकेर ताकेता गरिएको संघको भनाइ छ ।

लघुबीमा कम्पनीले बैंकसँगै सेयर बजारमा पनि लगानी गर्न पाउने, घर जग्गामा भने नपाउने

काठमाडौं । लघुबीमा कम्पनीले विभिन्न ८ वटा क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । लघुबीमा व्यवसाय सञ्चालन गर्ने जीवन र निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा कम्तीमा ५ प्रतिशतभन्दा बढी लगानी गर्न पाउने भएका हुन् । नेपाल बीमा प्राधिकरणले लघुजीवन तथा निर्जीवन बीमकको लगानी निर्देशिका सार्वजनिक गर्दै कम्पनीहरुलाई विभिन्न क्षेत्रमा लगानी गर्न शर्तसहित लगानीको सीमा समेत तोकिदिएको हो । जसमध्ये वाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा कम्तीमा ३० प्रतिशत लगानी गर्नैपर्ने छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने), बन्ड, डिबेन्चर र ऋणपत्रमा भने बढीमा ३० प्रतिशतसम्म मात्रै लगानी गर्न पाइने छ । तर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी हुनेगरी लगानी गर्न पाइने छैन । यता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त बचतपत्र वा ऋणपत्रमा कूल लगानीको कम्तीमा २५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् । यदि यो क्षेत्रमा लगानी गर्न नसकेमा वाणिज्य बैंक वा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा भने लगानी गर्नुपर्ने छ । त्यस्तै, धितोपत्र विनिमय बजारमा सूचीकृत कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा कूल लगानीको बढीमा २० प्रतिशतसम्म लगानी गर्न पाइने सीमा छ । त्यस्तै, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति र सेयर बजारमा बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाइने व्यवस्था छ । त्यसैगरी, ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति र नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाइने छ । प्राधिकरणका अनुसार लघुबीमा कम्पनीले यी क्षेत्रबाहेक अन्य क्षेत्रमा भने लगानी गर्न नपाउने भएका छन् । त्यस्तै, सहायक कम्पनीमा लगानी गर्नुअघि प्राधिकरणको स्वीकृति भने लिनु पर्ने व्यवस्था छ । तोकिएको सीमाभन्दा कम वा बढी लगानी गरेमा के हुन्छ ? लघुबीमा कम्पनीहरुले बीमा प्राधिकरणले तोकिदिएको लगानी सीमा प्रत्येक दिन कायम गर्नुपर्ने छ । यदि कुनै कारणले तोकिएको सीमाभन्दा कम वा बढी लगानी भएमा सीमा नाघेको तीस कार्यदिनभित्र त्यस्तो लगानीलाई सीमाभित्र ल्याई सक्नु पर्ने प्राधिकरणको निर्देशन छ । तर मुद्दति निक्षेप वा डिबेन्चरमा गरिएको लगानी परिपक्व नभएसम्म सो रकम बराबरको लगानी यस निर्देशन बमोजिम भएको मानिने समेत प्राधिकरणले खुलाएको छ । बैंक तथा वित्तीय संस्थामा लगानी गर्न तीन शर्त लघुबीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा कम्तीमा तीन वटा शर्त पालना गर्नुपर्ने छ । राष्ट्र बैंकले तोकेको पुँजीकोष कायम गरेको, तोकेको सीमाभन्दा बढी निष्कृय कर्जा नरहेको र शीघ्र सुधारात्मक कारवाहीमा नपरेको हुनुपर्ने छ ।