पुँजी वृद्धिसँगै बीमामा विश्वास बढ्छ, ऐनपछि क्षेत्र नै व्यवस्थित हुन्छ : अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको पुँजी वृद्धि भएपछि बीमा दावी भुक्तानी र बीमाप्रतिको विश्वास समेत बढ्दै जाने बताएका छन् । बडादशैं, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा बीमा समिति कर्मचारी युनियनले आज ललितपुरमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णय गरे अनुरुप पुँजी वृद्धिका लागि दुईवटा कम्पनी मर्ज भएका र अन्य २० वटा कम्पनीले मर्जरका लागि समितिबाट स्वीकृति लिएको बताए । अध्यक्ष सिलवालले नयाँ बीमा ऐन आएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने र स्वायत्तताको अभ्यास गर्दै अगाडि बढ्ने बताए । मन्त्रिपरिषद्मा पेश भएको राष्ट्रिय बीमा नीति स्वीकृत भएपछि सोही नीतिका आधारमा संघ, प्रदेश र स्थानीय तहमा बीमा सम्बन्धी काम कारवाही अगाडि बढ्ने र बीमा क्षेत्र थप व्यवस्थित हुने उल्लेख गरे । अध्यक्ष सिलवालले आगामी केही महिनाभित्रै प्रदेश नं. १, गण्डकी र लुम्बिनी प्रदेशमा पनि बीमा समितिका प्रदेश कार्यालयहरु स्थापना गरिने र मंसिरदेखि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई अभियानका रुपमा संचालन गरिने जानकारी दिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिका काम कारवाहीलाई अझ प्रभावकारी बनाउने क्रममा समितिको नयाँ कर्मचारी दरबन्दी स्वीकृत भएका बताए । कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक पुनम ज्ञवाली (श्रेष्ठ), उपनिर्देशक एवम् समितिको कर्णाली प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारी, सहायक निर्देशक शम्भुप्रसाद मिश्र र सहायक निर्देशक रञ्जिता केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व बीमा समिति कर्मचारी युनियनका अध्यक्ष पूर्ण बहादुर थापाले गरेका थिए ।

लघु बीमाका लागि ७ वटा कम्पनीको आवेदन

काठमाडौं । लघुबीमा कम्पनी खोल्नको लागि एकैपटक ७ वटा कम्पनीले आवेदन दिएका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार मंगलबार ७ वटा कम्पनीले लघुबीमाको लाइसेन्स माग गरेका हुन् । ‘आज मात्रै ७ वटा कम्पनी लघुबीमाको लाइसेन्स माग्दै समितिमा आएका छन्,’ उनले विकासन्युजसँग भने । समितिले लाइसेन्सको खुलाएको ३३ दिनपछि ३ वटा जीवन र ४ वटा निर्जीवन गरी ७ वटा कम्पनीले आवेदन दिएका हुन् । जसमा नेओ लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, स्वेदशी लघु जीवन बीमा, जानकी जीवन बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्स रहेका छन् । यससँगै लघुबीमा कम्पनी खोल्न इच्छुकले आगामी असोज १३ गतेसम्म बीमा समितिमा आवेदन दिन सक्नेछन् । उनीहरुले सो दिन दिउँसो १२ बजेसम्म समितिको कार्यालयमा आवेदन दिन सक्ने समितिका कार्यकारी निर्देशक पौडेलले जानकारी गराए । समितिले दुर्गम क्षेत्रमा पनि बीमाको पहुँच पुर्याउन भन्दै गत भदौ १० गते लघुबीमाको आवेदन खुला गरेको थियो । जसको लागि ३५ दिनको म्याद तोकेको थियो । उक्त म्याद सकिन अब जम्मा २ दिन बाँकी छ । बीमा समितिले ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी बाटो खुला गरेको हो । जसमध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनी हुने छन् । जसको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ । लघुबीमक स्थापना तथा दर्ता सम्बन्धी निर्देशिका अनुसार प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न पाउने छैनन् । तर, जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले र्जीवन लघुबीमा र निर्जीवन बीमा व्यवसाय गर्दै आएकाले भने जीवन लघुबीमा कम्पनीले खोल्न पाउने समितिको भनाई छ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत बीमाको विकास तथा विस्तार गर्नको लागि लघुबीमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार बीमा समितिले लाइसेन्सको प्रकृयालाई अघि बढाएको हो । कुन कुन ? बीमा कम्पनीका क्रस होल्डरले लघु बीमामा लगानी गर्न नपाउने, सर्वसाधारणलाई ३० प्रतिशत सेयर बीमा समितिले खुलायो लघुबीमाको लाइसेन्स, बढीमा ७ वटाले पाउने, ७५ करोडको पुँजी हुनै पर्ने

एनएलजी इन्स्योरेन्सको सीईओमा पुन: पन्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्त दोहोरिने भएका छन् । बीमा समितिले मंगलबार पन्तलाई दोस्रो कार्यकालका लागि स्वीकृति दिएको हो । कम्पनीको संचालक समितिको बैठकले पन्तलाई पुन: सीईओ पदमा दोहोर्याउने निर्णय गरी  स्वीकृतकाे लागि बीमा समितिमा पठाएकाे थियाे । उनको दोस्रो कार्यकाल आगामी असोज १९ गतेबाट लागू हुनेछ । ३३ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत पन्त २०७५ असाेज १८ गतेदेखि एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा छन् ।   त्यसअघि सोही कम्पनीमा करिव डेढ वर्ष कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । बीमा क्षेत्रमा विशेष याेगदान गरेबापत गत वर्ष संविधान दिवसका अवसरमा सरकारले पन्तलाई सुकीर्तिमय राष्ट्रदिप पदकबाट सम्मानित गर्ने गरेकाे थियाे ।