जीवन बीमा कम्पनीले संकलन गरे २६ अर्ब बढी प्रिमियम, आधा दर्जन कम्पनीले उठाए अर्बौं बढी

काठमाडौं । जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्ममा २६ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीले भदौसम्ममा २६ अर्ब ३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक रहेको छ । नेपाल लाइफले भदौसम्ममा ७ अर्ब ६२ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । त्यस्तै, बढी प्रिमियम संकलन गर्नेको दोश्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब २३ करोड रुपैयाँ बराबराको बीमाशुल्क संकलन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले ३ अर्ब १९ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । त्यस्तै, एक अर्बभन्दा बढी प्रिमियम उठाउनेमा अन्य तीन कम्पनी रहेका छन् । समीक्षा अवधिमा युनियन लाइफले १ अर्ब ४० करोड, एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब २१ करोड ६५ लाख र सिटिजन लाइफले १ अर्ब ६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका समितिले जनाएको छ । त्यसैगरी, सूर्या लाइफले ९६ करोड ५८ लाख, मेट लाइफले ९२ करोड ९० लाख, राष्ट्रिय बीमा संस्थानले ८३ करोड ८८ लाख, प्राइम लाइफले ७७ करोड ८० लाख, सन नेपाल लाइफले ७० करोड ३९ लाख, ज्योति लाइफले ६९ करोड ३२ लाख, आईएमई लाइफले ६३ करोड १९ लाख, रिलायबल नेपाल लाइफले ५९ करोड ६ लाख, गुराँस लाइफले ५८ करोड ५१ लाख, रिलायन्स लाइफले ५२ करोड ८५ लाख, प्रभु लाइफले ३९ करोड ८० लाख रुपैयाँ र सानिमा लाइफले ३७ करोड ४१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । १९ कम्पनीमध्ये सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । समितिका अनुसार इन्स्योरेन्सले २७ करोड ९२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । सञ्चालित १९ कम्पनीहरुले भदौमा मात्रै १० अर्ब ९७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यो महिनामा पनि सबैभन्दा बढी प्रिमियम संकलन गर्नेको अग्रस्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै रहेको छ । इन्स्योरेन्सले एक महिनामा २ अर्ब ८५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

गुराँस लाइफको ७.८३ प्रतिशत लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने

last day sign flat concept काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको ७.८३४२ प्रतिशत लाभांश सुरक्षित गर्न मंगलबार अन्तिम दिन हो । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ असोज २६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १२औं वार्षिक साधारण सभा कात्तिक ४ गते बोलाएको छ । कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैठकले प्रधान कार्यालय काठमाडौंमा बिहान ११ बजे सभा सुरु हुनेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७६÷२०७७ को नाफाबाट चुक्ता पूँजीको ७.४४२५ प्रतिशत बोनस सेयर र ०.३९ प्रतिशत नगद गरी कुल ७.८३४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभाले संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात सम्बन्धी छलफल गरी पारित गर्ने, लेखा परिक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७७÷२०७८ को लागि लेखा परिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, गुराँस लाइफ, यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने, गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतीका लागि बीमा समिति समक्ष निवेदन दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

राष्ट्रपतिबाट स्वीकृत बीमा ऐन ३१ दिनपछि मात्रै लागू हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको ‘बीमा ऐन २०७९’ ३१ दिनपछि लागू हुने भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले उक्त ऐन स्वीकृत भएको ३१ दिनपछि मात्रै लागू हुने बताएका हुन् । ‘ऐन स्वीकृत भयो, अब ३१ दिनपछि लागू हुन्छ,’ उनले थपे- ‘यो ऐन अन्तर्गत नियमावली बन्न बाँकी छ, बनेपछि कार्यान्वयनमा आउँछ ।’ प्रतिनिधिसभाबाट पारित भई राष्ट्रपति भण्डारीसमक्ष पेश भएका विभिन्न तीन विधेयक एकैदिन प्रमाणिकरण भएका छन् । राष्ट्रपति भण्डारीले असोज २३ गते मात्रै बीमा विद्येयकसहित अन्य तीन विधेयक प्रमाणिकरण गरेकी हुन् । यससँगै राष्ट्रपतिबाट स्वीकृत बीमा ऐनले अधिकांश विषय समेटेको समितिका कार्यकारी निर्देशक पौडेलले बताए । ‘ऐनले गरेको निर्देशन ऐन अन्तर्गत नै हुने छ । र, तोकिए बमोजिम भनिएका व्यवस्थाहरु नियमावलीले ताकिदिन्छ र सोही अनुसार कार्यान्वयनमा आउने छ,’ उनले भने । यो ऐन लागू भएपछि बीमा समिति रहँदैन र बीमा कम्पनीको नियामक निकायको रुपमा बीमा प्राधिकरण स्थापना हुने छ । जसको केन्द्रीय कार्यालय काठमाडौं उपत्यका भित्रै हुने छ र प्राधिकरणले नेपालभित्र जुनसुकै स्थानमा आफ्नो कार्यालय खोल्न सक्ने छ । साथै, यो ऐन नेपाल राज्यभर र बीमकले नेपाल बाहिर जुनसकै ठाउँमा खोलेको शाखा कार्यालयको हकमा समेत लागू हुने छ । यता बीमा विज्ञहरुले पनि बीमा ऐन लागू भएपछि बीमा प्राधिकरणको क्षेत्राधिकार फराकिलो भई प्राधिकरणलाई थप जिम्मेवार बनाउने बताउँछन् । साथै, एक पूर्ण रुपको बीमा बजारमा अनिवार्य रुपमा हुनुपर्ने कतिपय अवयवहरुको अभाव पूर्ति यस ऐनद्धारा हुने बीमा विज्ञ डा. रवीन्द्र घिमिरे बताउँछन् । साथै, प्राधिकरणले बीमा सम्बन्धी दक्ष जनशक्ति उत्पादनका लागि अन्तर्राष्ट्रिय स्तरको बीमा कलेजको स्थापना गर्नका लागि अधिकार प्राप्त गरेको छ । बीमा सूचना केन्द्रको स्थापना, बीमामा हुने ठगी र जालसाजीको न्यूनिकरणका लागि संस्थागत संरचना बनाउन सक्नेछ । बीमित हितकोष स्थापना गर्न सक्नेछ । त्यस्तै, यसले तेश्रो पक्ष सहजीकरणको लाइसेन्स दिन सक्नेछ र ब्रोकिङ्ग पेशालाई व्यवस्थित बनाउन मार्ग प्रशस्त गरेको नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष समेत रहेका डा. घिमिरेको भनाई छ । नयाँ बीमा ऐन लागू भएपछि धनी तर विश्वविद्यालयबाट उच्च शिक्षाको उपाधि नलिएका व्यक्ति बीमा कम्पनीको सञ्चालक वा अध्यक्ष बन्न नपाउने भएका छन् । बीमा कम्पनीको सञ्चालक बन्न स्नातकोत्तर उपाधि अनिवार्य गरिएको छ । तर चार्टर्ड एकाउन्टेन्सी (सीए) पास गरेकाले सञ्चालक बन्न पाउने प्रष्ट पारिएको छ । बीमा कम्पनीको सञ्चालक बन्न सीए, वा बीमा, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । विज्ञान लगायत अन्य विषयमा स्नातकोत्तर गरेका व्यक्तिहरु बीमा कम्पनीको सञ्चालक बन्न अयोग्य हुने गरि बनेको विधेयक संसदको अर्थसमितिबाट पारित भएको छ । साथै, नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार गर्न अनुमति पाएका व्यवसायीहरुलाई पनि बीमा कम्पनीको सञ्चालक बन्न रोक लगाइएको छ । बीमकको सञ्चालकको कार्यकाल ४ वर्ष हुने र पछि पुनः नियुक्त हुन सक्ने उल्लेख छ । तर विज्ञ सञ्चालक भए बढीमा ४ वर्ष मात्र सञ्चालक बन्न पाउने व्यवस्था गरिएको छ । सरकारी निकायमा कर्मचारी वा पदाधिकारी, एकाघर परिवारको दोस्रो व्यक्ति, आधारभूत सेयर नलिएको व्यक्ति, कम्पनीसँग स्वार्थ बाझिएको व्यक्ति बीमा कम्पनीको सञ्चालक बन्न पाउने छैन ।