नेपाल इन्स्योरेन्सको प्रण : आधुनिक योजना ल्याउने, बीमितलाई थप उत्कृष्ट सेवा दिने
काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्नो ७५औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले असोज ८ गते प्रधान कार्यालय कमलादीमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले नेपालको बीमा उद्योगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखि ७५ वर्षदेखि उत्कृष्ट बीमा सेवा निरन्तर रुपमा दिई आएको दावी गरे । उनले आगामी दिनमा अझ परिष्कृत, चुस्त र सिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज ढगंले बीमितसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा कार्यक्रमका सभापति एवम् सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले कम्पनीप्रति प्रगाढ विश्वास गरि सहगोग पुर्याउने सम्पूर्ण सरोकारवालाहरुमा आभार व्यक्त गरे । यसै अवसरमा आफ्नो जीवनको अमुल्य समय कम्पनीको सेवामा समर्पित गरि २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक र कदरपत्र पत्र प्रदान गरियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ छ । कम्पनीले देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय सहित ५९ वटा शाखा कार्यालयहरु र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आइरहेको छ । साथै, आगामी दिनमा आवश्यकताका आधारमा कम्पनीको शाखा संजाललाई विस्तार गरी ग्राहकको आवश्यकता, सेवा र सन्तुष्टिलाई समेत विशेष ध्यान दिई कम्पनीका सबै काम कारवाहीहरुलाई पूर्ण व्यवसायिक र पारदर्शी बनाउँदै स्तरीय बीमा सेवा प्रदान गर्दै जाने प्रण गरेको छ ।
पठाओ अब चितवनमा पनि, बीमाको लागि हिमालयन एभरेस्ट इन्स्योरेन्ससँग गर्यो सहकार्य
काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यवसायिक यात्रा ४ वर्ष पूरा भएको छ । पठाओले २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको थियो । आफ्नो सेवा विस्तार गर्दै पठाओले ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा पनि जोडेको थियो । कार लाइट सुरु गरेपछि क्याप्टेन (ट्याक्सी चालक) हरूको अतिरिक्त आम्दानीमा टेवा दिँदै ट्याक्सीको सेवालाई बार्गेनिङको झन्झट हटाउँदै गेटदेखि गेटसम्म पुगेको छ । अहिले राजधानीका पचास प्रतिशतभन्दा बढी ट्याक्सी चालक प्रविधिमैत्री हुँदै पठाओमा आबद्ध भएको प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यात बताउँछन् । राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै पठाओ फुड सुरू गरेको थियो । राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले राइड सेयरिङमा नेपालमै पहिलोपटक हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमाको सुरूसमेत गरेको छ । प्रविधिको विकासले ल्याइदिएको यो सुविधाकै कारण अहिले दैनिकरूपमा हजारौं राजधानीबासीले प्रत्यक्ष रूपमा सहज सेवा पाइरहेका छन् भने दैनिक हजारौं राइडर/क्याप्टेन र फुडम्यानले अर्थोपार्जन गरिरहेका छन् । पठाओले गत वर्षदेखि पठाओ बजार पनि सुरू गरेको छ । सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी २०७८ को जेठ ३० गतेदेखि पठाओ बजार सुरू गरिएको थियो । चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुरको कान्ति चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन् । थप जानकारीका लागि ०१-५९७००९९ मा कल गर्न पनि सकिन्छ । आजदेखि चितवनमा सेवा सुरु काठमाडौं उपत्यकामा लोकप्रिय बनेको पठाओले चितवनमा पनि आजबाट आफ्नो सेवा सञ्चालन गरेको छ । चितवनमा अटो र बाइकमा पठाओ सेवा सुरु भएको हो । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यमसमेत बन्दै गएको यस प्लेटफर्ममा युवाहरूको आकर्षण बढी रहेको पठाओकी प्रवक्ता सुरक्षा हमाल बताउँछिन् । चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लू बुक र सवारी चालक अनुमतिपत्रसहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । पठाओमा यस्ता छन् सुविधा ? पठाओमा हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा कल-सेन्टर र ग्राहक सहयोग सेवा, एपभित्रै आपतकालिन प्रहरी सम्पर्कको विकल्प रहेको र हरेक चालक यसको सिस्टममा ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमा सेयर गर्ने सुविधा रहेका छन् । हरेक यात्रामा १ लाखसम्मको उपचार र १० लाखसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध छ । यो बीमा रकम नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बीमा हो ।
सुदूरपश्चिम पुगेर अर्थमन्त्रीले भने : यो प्रदेश बीमाको पहुँचबाट टाढा रहेछ
कैलाली । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औंल्याएका छन् । बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्दै उनले यहाँको बीमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए । उनले भने “अहिले नेपालभर समग्रमा बीमाको पहुँच ४१.२ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ । यसलाई वृद्धि गरिनुपर्छ ।” उनका अनुसार देशभरि विभिन्न बीमा कम्पनीका तीन हजार तीन सय ६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा तीन सय २७ मात्रै छन् । ‘अहिले बीमा संस्थानले दिएको प्रत्यक्ष बीमा सन्दर्भका रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा छ सय ८७ मात्रै रहेको छ,’ मन्त्री शर्माले भने, ‘यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बीमाको पहुँचबाट अलि टाढाजस्तो छ ।’ अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बीमाका रहेको स्पष्ट पार्दै बीमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने छ भने । लगानीकर्तालाई, प्रयोगकर्तालाई र उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बिमाको मुख्य उद्देश्य रहेको उनले बताए । कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बीमाले ठूलो सहयोग गरेको बताउनुभयो । उनले भने, ‘सबै क्षेत्रमा यो बीमा जानु पनि जरुरी छ ।’ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नको लागि बीमालाई व्यापकरुपमा लग्न प्रदेश सरकार तयार रहेको बताए । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने संयन्त्रको रुपमा बीमालाई लिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ ।’ रासस