यूनाइटेड इन्स्योरेन्सको वित्तीय सूचक सन्तोषजनक, व्यवसायसँगै ३५% ले बढायो नाफा

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको गत आर्थिक वर्षको वित्तीय स्थिति सन्तोषजनक देखिएको छ । कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सुधार देखिएको हो । गत आवमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४१.८१ प्रतिशतले बढी हो । जुन आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब १० करोड रुपैयाँ थियो । बीमाशुल्क निरन्तर बढ्दै गएकोले कम्पनीले आगामी दिनमा नयाँ सेवा सुविधा शुरु गरी कम्पनीलाई थप वित्तीय रुपमा सबल बनाउने योजना बनाएको छ । त्यस्तै, खुद नाफा पनि ३२.५९ प्रतिशतले बढेर १३ करोड ९६ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा १० करोड ५२ लाख रुपैयाँ थियो । हाल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १३.५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.७७, प्रतिसेयर नेटवर्थ १६०.४० रुपैयाँ र प्रतिसेयर कूल सम्पत्तिको मूल्य ३०३.०१ रुपैयाँ छ । त्यस्तै, बीमा कोषको आकार पनि बढेको छ । अघिल्लो आवमा ३५ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको उक्त कोषमा गत आवमा ४२ करोड २ लाख रुपैयाँ सञ्चित छ । १ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोष बढेर १९ करोड ३८ लाख रुपैयाँ पुगेको छ । हालसम्म इन्स्योरेन्सले १ लाख ३७ हजार बढी बीमालेख जारी गरेको छ भने १५ हजार ५६५ वटा नविकरण गर्न सफल भएको छ । त्यसैगरी, कम्पनीले ६९ करोड ४२ लाख रुपैयाँ बराबरको ४ हजार ५१९ वटा दावी भुक्तानी गरेको छ । हालसम्म ७ ह जार ३२४ वटा दावीबाट ९५ करोड ५५ लाख रुपैयाँ भने भुक्तानी गर्न बाँकी रहेको इन्स्योरेन्सले जानकारी गराएको छ ।

६ सूचकमा नेशनल लाइफको उत्कृष्ट प्रफर्मेन्स, यस्तो छ प्रतिस्पर्धी ४ कम्पनीको बिजनेस

काठमाडौं । जीवन बीमा कम्पनीमध्ये नेशनल लाइफ इन्स्योरेन्स अघिकांश सूचकमा अग्रस्थानमा रहेको छ । सम्बन्धित कम्पनीले प्रकाशित गरेका गत वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार शीर्ष चार कम्पनीमध्ये नेशनल लाइफ अगाडि देखिएको छ । नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन र एशियन लाइफमध्ये नेशनल लाइफ मूख्य सूचकमा अगाडि छ ।  गत असारसम्मको विवरण अनुसार नेशनल लाइफ खुद नाफा, जगेडा कोष, प्रिमियम वृद्धिदर, प्रोभिजन फर लस, प्रतिसेयर आम्दानी र बोनसदरमा सबैभन्दा शीर्ष स्थानमा देखिन्छ । खुद नाफा कुनै पनि कम्पनी वा संस्थाले वर्षभरी आर्जन गरेको रकम जसमा खर्च भएको रकम कटाएर बाँकी रहेको रकमलाई खुद नाफा भनिन्छ । यसको आधारमा नेशन लाइफ अगाडि देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा नेशनल लाइफले ४० करोड ८८ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । अधिकांश सूचकमा अग्रस्थानमा रहेको नेपाल लाइफ भने नोक्सानमा रहेको छ । सो अवधिमा कम्पनी ३५ करोड २७ लाख रुपैयाँ नोक्सानमा छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन पनि ८ करोड ७४ लाख रुपैयाँ नोक्सानमा देखिएको छ । एशियन लाइफले भने १६ करोड ९४ लाख रुपैयाँ नाफामा छ । यद्यपि यो नाफा एक्चुरी अघिको हो । जीवन बीमा कम्पनीको हकमा कम्पनीहरुले प्रत्येक वर्ष एक्चुरी भ्यालुएसन गर्नुपर्ने हुन्छ । उक्त भ्यालुएसन पश्चात भने कम्पनीहरुको नाफा बढ्ने गरेको पाइन्छ । जगेडा कोष जगेडा कोष एउटा यस्तो सूचक हो, जसको कोषको आकार जति बढी हुन्छ, त्यतिनै कम्पनीहरुको जोखिम वहन क्षमता बलियो भएको मानिन्छ । साथै, लगानीकर्ताको साइडबाट हेर्दा पनि यो एकदमै महत्वपूर्ण वित्तीय सूचक हो । यो सूचकको आधारमा पनि नेशनल लाइफ नै अगाडि छ । २०७९ असारसम्ममा कम्पनीको उक्त कोषमा ६६ करोड ७१ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनको जगेडा कोषमा ६१ करोड ५५ लाख रुपैयाँ सञ्चित छ । त्यसैगरी, एशियन लाइफको जगेडा कोषको आकार ५८ करोड ३६ लाख र नेपाल लाइफको २८ करोड ८३ लाख रुपैयाँ बराबरको छ । प्रिमियम वृद्धिदर कम्पनीहरुले बिजनेश गरे बापत आम्दानी हुने अर्थात वर्षभरीमा बिक्री गरेको बीमालेखमार्फत आर्जन हुने रकमलाई प्रिमियम अर्थात बीमाशुल्क भनिन्छ । अघिल्लो वर्षको तुलनामा नेशनल लाइफको प्रिमियम वृद्धिद्धर उच्च छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्षमा १७.८८ प्रतिशतले प्रिमियम बढाएको छ । जबकी एशियन लाइफको १७.१९ प्रतिशत, नेपाल लाइफको ९.४४ र लाइफ इन्स्योरेन्स कर्पोरेशनको प्रिमियम ६.४० प्रतिशतले बढेको छ । तर रकमको आधारमा भने नेशनल लाइफको प्रिमियम नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशनभन्दा कम छ । नेपाल लाइफले एक वर्षमा ३५ अर्ब ३८ करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १८ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् भने नेशनल लाइफले १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यता एशियन लाइफले गत वर्षमा ६ अर्ब ८७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएको छ । प्रतिसेयर आम्दानी (ईपीएस) लगानीकर्तालाई प्रतिफल दिने आधारलाई प्रतिसेयर आम्दानी भनिन्छ । यसको आम्दानी जसको बढी छ सो कम्पनी तुलनात्मक रुपमा राम्रो मानिन्छ । साथै, कम्पनीको सेयरमा लगानी गर्दा त्यो कम्पनीले लगानीको प्रतिफल कति दिन्छ भन्ने आधारमा पनि लगानी गर्ने अभ्यास छ । यी चार कम्पनीमध्ये नेशनल लाइफको सबैभन्दा बढी अर्थात १०.१३ प्रतिशत प्रतिसेयर आम्दानी छ । त्यसपछि एशियन लाइफको ६.६७ प्रतिशत प्रतिसेयर आम्दानी रहेको छ । तर नेपाल लाइफ र लाइफ इन्स्योरेन्स भने यो सूचकमा नोक्सानमा देखिएका छन् । नेपाल लाइफको प्रतिसेयर आम्दानी ४.३ प्रतिशत र लाइफ इन्स्योरेन्स ३.३ प्रतिशत ऋणात्मक रहेको छ । बोनसदर बीमा गरेका बीमितिहरुलाई कम्पनीले दिने बोनसदर एक प्रमुख सूचक हो । प्राय जो कोहिले बीमा गर्दा कम्पनीले दिने गरेको बोनसदरलाई नै आधार मानेर बीमा गर्ने गरेको जानकारहरु बताउँछन् । बोनसदरको आधारमा नेशनल, नेपाल, लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सलाई हेर्दा सबैभन्दा बढी बोनसदर नेशनलले दिएको छ । नेशनल लाइफले हालै सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार कम्पनीले आफ्ना बीमितहरुलाई प्रतिहजार न्यूनतम ६५ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने भएको छ । त्यसपछि सबैभन्दा बढी नेपाल लाइफका बीमितले पाउने भएका छन् । सो कम्पनीका बीमितले प्रतिहजार न्यूनतम ५६ देखि अधिकतम ८२ रुपैयाँ पाउने छन् । त्यस्तै, एलआईसीले न्यूनतम ५४ देखि अधिकत ७० रुपैयाँ र एशियन लाइफले आफ्ना बीमितलाई प्रतिहजार न्यूनतम ४० देखि अधिकतम ७५ रुपैयाँ बोनसदर दिने भएको छ । प्रोभिजन फर लस सामान्यतः कुनै पनि कम्पनीको प्राभिजन नभएको राम्रो मानिन्छ । यदि छ भने पनि सबैभन्दा कम जसको छ त्यो राम्रो मानिन्छ । यो सूचकको आधारमा यी चार कम्पनीलाई दाँजेर हेर्दा नेशनल लाइफले सबैभन्दा कम रकम छुट्टाएको छ । समीक्षा अवधिमा नेशनल लाइफले खाटा बापत ८३ लाख ५४ हजार रुपैयाँ मात्रै छुट्टाएको देखिन्छ । सबैभन्दा बढी नेपाल लाइफले ७७ करोड ८० करोड रुपैयाँ छुट्टाएको छ । त्यस्तै, नेशनल लाइफले २९ करोड ५९ लाख र एशियन लाइफले ११ करोड ५८ लाख रुपैयाँ उक्त शीर्षकमा छुट्याएको छ ।

एनएलजीले गर्यो १ अर्ब ९० करोड बीमा दाबी भुक्तानी, नाफा १४ प्रतिशतले वृद्धि

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा २३ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले २० करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको नाफा करिब १४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७.६८ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २१३ रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले २ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २५ करोड रुपैयाँले बढि हो । कम्पनीले करिब १२ प्रतिशतले बीमा शुल्क वृद्धि गरेको छ । सोही अवधिमा कम्पनीले १ अर्ब ९० करोड बीमा दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष पनि कम्पनीले १ अर्ब ३१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीले ११ हजार ३४५ बीमितलाई दाबी भुक्तानी गरेको थियो । बीमा नियमको परिचालना र बीमितको सेवालाई जोड दिँदै बीमा दाबी भुक्तानीलाई कम्पनीले प्राथमिकतामा राखेको छ । कम्पनीले बीमा दाबीहरुको व्यवस्थापन छिटो, छरितो, प्रभावकारी र विश्वसनीय बनाउने रणनीति लिएको जनाएको छ । कम्पनीले आफूलाई ग्राहकको योद्धाको रुपमा उभ्याउँदै बीमा दाबी भुक्तानी विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेलेको देखिएको छ । कम्पनीले गत वर्ष कुल १ अर्ब ८३ करोड आय गरेकोमा १ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको छ ।चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको एनएलजी इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब १४ करोड र जगेडा कोषमा ३१ करोड रुपैयाँ रहेको छ ।