बीमा कम्पनीहरु मुद्दती निक्षेपमै आकर्षित, घरजग्गामा नेशनल लाइफ बाहेक ४० वटाकै लगानी शून्य

काठमाडौं । बीमा कम्पनीहरुमध्ये नेशनल लाइफ इन्स्योरेन्सले मात्रै घर जग्गामा लगानी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा जीवन, निर्जीवन र पूनर्बीमा कम्पनीमध्ये नेशनल लाइफले मात्रै उक्त क्षेत्रमा लगानी गरेको हो । कम्पनीले एक वर्षको अवधिमा ३६ करोड २४ लाख ८४ हजार रुपैयाँ घर जग्गामा लगानी गरेको छ । समितिका अनुसार कम्पनीहरुले कूल लगानीमध्ये बढीमा ५ प्रतिशत घर जग्गामा पाउने व्यवस्था छ । तर, उक्त व्यवस्थालाई अधिकांश कम्पनीले अटेर गरेको पाइएको छ । गत आवमा कम्पनीहरुले घर जग्गामा शून्य लगानी गरेका छन् । त्यस्तै, जीवन बीमा कम्पनीमध्ये ४ वटा कम्पनीले नेपाल सरकारको बचतपत्रमा २ अर्ब ४ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । जसमा मेट लाइफले १ अर्ब ६८ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले १० करोड, राष्ट्रिय बीमा संस्थाले २५ करोड रुपैयाँ र सन नेपाल लाइफले १ करोड रुपैयाँ बराबरको लगानी गरेका हुन् । ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा भने सबै कम्पनीले लगानी गरेका छन् । १९ वटै कम्पनीले एक वर्षमा ३ खर्ब १६ अर्ब रुपैयाँ बराबरको लगानी गरेका बीमा समितिले जानकारी गराएको छ । जुन कम्पनीहरुले गरेको लगानीमध्ये सबैभन्दा बढी हो । त्यस्तै, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा २५ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । नेशनल लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ र सन नेपाल लाइफ गरी ५ वटै कम्पनीले ५/५ करोड उक्त क्षेत्रमा लगानी गरेका हुन् । यता सूचीकृत कम्पनीको सेयरमा मेटलाइफबाहेक सबैले लगानी गरेको पाइएको छ । १८ कम्पनीले कूल ८ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी गरेका हुन् । त्यसैगरी विभिन्न बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९७ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । यो क्षेत्रमा नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, मेट लाइफ, एशियन लाइफ, आइएमई लाइफ, ज्योति लाइफ, सन नेपाल लाइफ र रिलायबल लाइफको भने शून्य लगानी छ । त्यस्तै, सूचीकृत कम्पनीको ऋणपत्रमा २१ अर्ब ८७ करोड, पूर्वाधार क्षेत्रमा ७ अर्ब १४ करोड, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ९८ करोड ४१ लाख, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४२ अर्ब ४४ करोड रुपैयाँ र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा ४ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेका छन् । त्यसैगरी, अन्य लगानी अन्तर्गत संस्थापक सेयरमा ८ अर्ब ८ करोड, सूचीकृत नभएको कम्पनीमा ४२ करोड ७३ लाख र अन्य लगानीमा २८ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ लगानी गरेका छन् । समग्रमा जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कूल ४ खर्ब ७३ अर्ब १६ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३१.६७ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा ३ खर्ब ५९ अर्ब ३३ करोड रुपैयाँ बराबरको लगानी गरेका थिए ।

हिमालयनभन्दा नेपाल रिले गर्यो दोब्बर बढी लगानी, कुन क्षेत्रमा कति ?

काठमाडौं । पुनर्बीमा कम्पनीहरुले एक वर्षको अवधिमा २६ अर्ब १८ करोड ७३ लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । बीमा समितिका अनुसार नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न क्षेत्रमा सो मात्राको लगानी गरेका हुन् । जसमध्ये सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सले गरेको छ । कम्पनीले गत आवमा विभिन्न क्षेत्रमा गरी कूल १८ अर्ब ७४ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । जुन हिमालयन रिको तुलनामा १५२ प्रतिशत बढी हो । समिक्षा अवधिमा हिमालयन रिले भने ७ अर्ब ४४ करोड ४० लाख रुपैयाँ बराबरको लगानी गरेको समितिले जनाएको छ । नेपाल रिले विभिन्न ९ क्षेत्रमा लगानी गरेको छ । कम्पनीले नेपाल सरकारको ऋणपत्रमा ३ करोड, क वर्गका बैंकको मुद्दती निक्षेपमा १४ अर्ब २ करोड र सूचीकृत कम्पनीको साधारण सेयरमा ९ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर तथा ऋणपत्रमा १ अर्ब ७३ करोड र म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ९ करोड ५१ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । साथै, कम्पनीले ख वर्गका संस्थाको मुद्दती निक्षेपमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । यता हिमालयन रिले भने जम्मा दुई वटा क्षेत्रमा लगानी गरेको छ । कम्पनीले क वर्गको बैंकको मुद्दती निक्षेप र विभिन्न वित्तीय संस्थाको अग्राधिकार सेयर तथा ऋणपत्रमा लगानी गरेको छ । जसमध्ये मुद्दती निक्षेपमा ६ अर्ब ८५ करोड रुपैयाँ र अग्राधिकार सेयरमा ५८ करोड ९० लाख रुपैयाँ लगानी गरेको समितिले जानकारी गराएको छ । नियामक निकाय बीमा समितिले कम्पनीहरुलाई विभिन्न क्षेत्रमा लगानी गर्न बाटो खुला गरेको छ । तर समितिले छुट्टा छुट्टै ठाउँमा लगानी गर्नको लागि छुट्टै अर्थात न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ४० प्रतिशतसम्मको सीमा तोकिदिएको छ । हिमालयन रि नयाँ पुनर्बीमा कम्पनी हो । हालसम्म कम्पनी दोश्रो बजारमा सूचीकृत भएको छैन ।

भुक्तानी गर्न झुलाउँदै इन्स्योरेन्स कम्पनी, समस्यामा पर्दै जलविद्युत् आयोजना

काठमाडौं । केही समयअघि एक सार्वजनिक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले बीमा क्षेत्रको विश्वासनियता गुमाउँदै गएको बताएका थिए । उनले भनेजस्तै यस्ता कम्पनीले आफ्ना ग्राहक वा बीमितलाई बीमा गराउनका लागि जुन प्रकारले पहल गराएका हुन्छन् तर दाबी भुक्तानीका सन्दर्भमा भने अनेक झन्झट दिने गरेका छन् । कम्पनीले दाबी परेपछि वर्षौंसम्म बीमितलाई अल्झाएर राख्ने र दाबी भुक्तानी समयमा नै नगर्ने भएका कारण बीमा कम्पनीप्रति जनविश्वास कम हुँदै गएको सरोकारवाला बताउँछन् । बीमा कम्पनी र ‘सर्भेयर’को मिलोमतोको कारण जलविद्युत् कम्पनी समस्यामा पर्न थालेका छन् । कम्पनीले विभिन्न कारणले क्षति पुगेका जलविद्युतमा खटाएका सर्भेयरले कम्पनीको निर्देशनमा ढिलो गरी विवरण दिने र कतिपय अवस्थामा प्रतिवेदन नै नदिने गरेको पाइएको छ । बीमा गराएबापत प्रिमियम तिर्नका लागि पटक-पटक ताकेता गर्ने बीमा कम्पनी दुर्घटना तथा क्षतिको भुक्तानीका लागि भने अनेक झन्झट देखाउने गरेका छन् । बीमा गराउन विभिन्न कसरत र उपाय गराउने बीमा कम्पनीले भुक्तानीमा भने विभिन्न कारण देखाउँदै भुक्तानीमा आनाकानी गर्ने गरेका जनाइएको छ । बीमा गराउनुअघि विभिन्न प्रलोभन देखाउने र बीमा भुक्तानीको लागि भने विभिन्न कारण तथा पत्र नपुगेको सर्भेयरले प्रतिवेदन नदिएको लगायतका कारण बीमा कम्पनीले गरेका छन् । यस्तै पछिल्लो पटक नेको इन्स्योरेन्सले एक जलविद्युत् कम्पनीलाई क्षति हुँदा झन्डै एक वर्षसम्म पनि बीमा रकम भुक्तानी गरेको छैन । क्षति भएको कम्पनीले सबै कागजी प्रक्रिया पूरा गर्दा पनि झन्डै एक वर्षसम्म बीमा दाबी भुक्तान नगरेको हो । गत वर्ष २०७८ कात्तिक २ गते आएको बेमौसमी बाढीले इलाममा रहेको सगरमाथा जलविद्युत् कम्पनीअन्तर्गत रहेको सुपार माइ ए ९।६ जलविद्युत् तथा सुपरमाइ क्यासकेड ३ मेगावाट जलविद्युत् आयोजनालाई बाढीले नराम्रोसँग क्षति पुर्यायो । बाढीले जलविद्युतमा क्षति भएपछि कम्पनीले बीमा गरेको कम्पनी नेको इन्स्योरेन्सलाई क्षतिको जानकारीसहित कम्पनीले दाबी भुक्तानीको लागि चाहिने प्रक्रिया पूरा गरेर ‘डकुमेन्ट’ पठाएको ११ महिना लाग्दासमेत नेको इन्स्योरेन्सले बीमा दाबी भुक्तान नगरेको कम्पनीले जनाएको छ । क्षति भएका दुई जलविद्युत् कम्पनीले बीमा दाबीको लागि कम्पनीले मागेका सबै कागजपत्र पठाउँदा पनि करिब एक वर्षसम्म क्षतिबापतको रकम नपाएको कम्पनीका व्यवस्थापक सन्दीप अधिकारीले जानकारी दिए । प्रत्येक वर्ष महँगो प्रिमियम तिर्नुपर्ने दुर्घटना तथा क्षति भएका अवस्थामा बीमा गराउने कम्पनीले समयमै भुक्तानी नदिँदा यस्ता जलविद्युत् कम्पनीले करोडौं क्षति हुने गरेको जनाइएको छ । ‘हामीले समयमै कम्पनीले मागेको सम्पूर्ण कागजपत्र दिँदा पनि कम्पनीले हालसम्म पनि सर्वेयरले प्रतिवेदन नदिएको जनाउँदै कम्पनी पन्छिने गरेको छ,’ उनले भने । बीमा दाबीबापत दुई कम्पनीको गरी झन्डै रु सात करोड ५७ लाख ‘लस अफ प्रोफिट’ (एलओपी) बाहेक बीमा भुक्तानीको लागि पटक-पटक कम्पनीमा धाउँदा पनि नेको इन्स्योरेन्सले सर्भेयरबाट प्रतिवेदन नआएको र सर्भेयरले प्रतिवेदन दिएको केही दिनमा नै काम हुने भन्दै जवाफ दिने गरेको कम्पनीको गुनासो छ । बीमाबापतको भुक्तानी दिनुपर्ने नेको इन्स्योरेन्सले आफूले खटाएको सर्भेयरलाई पटक-पटक ताकेता गरे तापनि प्रतिवेदन नदिएको जवाफ दिएको छ । नेको इन्स्योरेन्सका दाबी भुक्तानी शाखाका प्रमुख जनक शर्मा पराजुली भने, ‘हाम्रो पनि प्रक्रिया हुन्छ सर्भेयरबाट प्रतिवेदन नआएको कारण हामीले उहाँहरूलाई भुक्तानी गर्न नसकेको हो, प्रतिवेदन आएको सात दिनमै हामी भुक्तानी गर्छौं ।’ यस्तै सर्भेयर ओमप्रकाश राठी पनि आफू हाल यसको प्रतिवेदन बनाउनेतर्फ लागेको र अबको केही महिनामा पठाउने जानकारी दिए । उनले भने, ‘प्रणालीमा गर्नुपर्ने काम भएको हुँदा यसमा समय लागेको हो म हाल पनि यसको ‘फाइनल’ गर्नमै लागेको छ, अबको केही समयमा म प्रतिवेदन अन्तिम गरेर कम्पनीमा पठाउँछु ।’ बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले जलविद्युत् क्षेत्रमा भएको क्षतिमा ‘सर्भेयर’ले प्रारम्भिक प्रतिवेदन दिएपछि पूर्ण अध्ययन गरेर अन्तिम प्रतिवेदन दिएको ३५ दिनभित्र दाबी फछ्र्योट गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिए । ‘कतिपय बीमा कम्पनीले भने बीमाको भुक्तानी समयमा नगर्ने गरेको गुनासो समितिमा आउने गरेको र समितिले यसलाई गम्भीरतापूर्वक लिएको छ,’ उनले भने ।