१० सूचकमा शिखर र सलिकोमा को तगडा ?

काठमाडौं । शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । ती दुई कम्पनीबीच विभिन्न १० सूचकमा तुलना गर्दा अधिकांश सूचकमा सलिको अगाडि देखिएको छ । यी दुई बीमा कम्पनीका विभिन्न सूचकहरूलाई लिएर गरिएको तुलनात्मक विश्लेषण कुल बीमाशुल्क आर्जन : गत आव २०८१/८२ मा कुल बीमा शुल्क आर्जनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) तगडा देखिएको छ । गत आवमा सलिकोले ५ अर्ब ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले ५ अर्ब ७० करोड २६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । खुद बीमाशुल्क आर्जन : गत आवमा खुद बीमा शुल्क आर्जनमा पनि सलिकोले शिखरलाई उछिनेको छ । गत आवमा सलिकोले २ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने शिखर इन्स्योरेन्सले १ अर्ब ७१ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कुल आम्दानी : गत आवको चौंथो त्रैमाससम्ममा कुल आम्दानी संकलनमा सलिको अगाडि देखिएको छ । सलिकोको गत आवमा ३ अर्ब ११ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ भने शिखर इन्स्योरेन्सले २ अर्ब ७३ करोड २ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।  खुद नाफा : गत आवमा खुद नाफामा भने शिखर तगडा देखिएको छ । शिखर इन्स्योरेन्सले गत आवमा ४५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने सलिकोले ४० करोड ३२ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । सेयर क्यापिटल : शिखर इन्स्योरेन्सको गत आवमा सेयर क्यापिटल २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ रहेको छ भने सलिकोको शेयर क्यापिटल २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटी : शिखर इन्स्योरेन्सको अन्य इक्विटीमा ६० करोड ६६ लाख रुपैयाँ रहेको छ भने सलिकोको अन्य इक्विटीमा ५० करोड २२ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ : गत आवमा रिटेन्ड अर्निङमा सलिको अगाडि रहेको छ । सलिकोको  रिटेन्ड अर्निङमा ३६ करोड ६५ लाख रुपैयाँ रहेको छ भने शिखर इन्स्योरेन्सको रिटेन्ड अर्निङमा २१ करोड १७ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी : शिखर इन्स्योरेन्सको प्रति शेयर आम्दानी १५.४९ रुपैयाँ रहेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १५.३७ रुपैयाँ छ । महाविपत्ति कोष : गत आवको चौथो त्रैमाससम्म्ममा सलिकोको महाविपत्ति कोषमा  २२ करोड ९३ लाख रुपैयाँ रहेको छ भने शिखर इन्स्योरेन्सको महाविपत्ति कोषमा १६ करोड ७ लाख रुपैयाँ रहेको छ ।

मेटलाइफको पर्सा, कावासोती र दमौलीमा तीन नयाँ एजेन्सी अफिस

काठमाडौं । मेटलाइफले गत हप्तामा पर्सा, कावासोती र दमौलीमा तीन नयाँ एजेन्सी अफिस खोलेको छ । जसले हजारौं घरपरिवारलाई विश्वासिलो वित्तीय परामर्श र बीमा सेवामा अझ सजिलो पहुँच उपलब्ध गराउने कम्पनीको विश्वास छ ।  मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले पर्सा, कावासोती र दमौलीमा एजेन्सी अफिस खोल्नु केवल सञ्जाल विस्तार मात्र नभई बीमा सुरक्षालाई आम मानिसहरूको दैनिक जीवनमा नजिक ल्याउने संकल्प रहेको बताए । जीवन बीमा वित्तीय सुरक्षाका लागि झन् आवश्यक बन्दै गएको बेला मेटलाइफ नेपालले परिवार र व्यवसायहरूलाई थप सुरक्षा सहज बनाउन विभिन्न कदमहरू चालिरहेको छ । नयाँ अफिसहरूले बीमा सेवा मात्र प्रदान गर्ने छैनन्, यसले स्थानीय रोजगारका अवसर पनि सिर्जना गर्ने कम्पनीले जनाएको छ । संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालन भइरहेको छ ।   नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउँदै आइरहेको छ । 

हिमालयन लाइफ इन्स्योरेन्सले सम्पन्न गर्‍यो सम्पत्ति शुद्धीकरण निवारण कार्यक्रम

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार हिल्टन होटलमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण महाशाखा प्रमुख शाम्बराज लामिछाने र शाखा प्रमुख पदम सोडारीले जीवन बीमा कम्पनीहरूले सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा निर्वाह गर्नुपर्ने विविध जिम्मेवारीबारे जानकारी गराएका थिए । कार्यक्रममा निर्देशक लामिछानेले बीमा प्राधिकरणले हालै जारी गरेको ‘सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशिका, २०८२’ लाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरे । उनले हिमालयन लाइफले यसअघि सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा गरेका कामहरू प्रशंसनीय रहेको उल्लेख गर्दै अझ प्रभावकारी कार्य गर्न सुझाव पनि दिए । सो अवसरमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले कम्पनीले सम्पत्ति शुद्धीकरण निवारणलाई प्राथमिकतामा राखेर नीति–नियमअनुसार काम गरिरहेको बताए । साथै सञ्चालक समिति सदस्य प्रमिला केसी र प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले पनि यस विषयमा कम्पनी गम्भीर र प्रतिबद्ध रहेको प्रष्ट पारे । कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, सेयरधनी तथा उच्च व्यवस्थापकीय पदाधिकारीहरूको उपस्थिति थियो ।