बराबरी हैसियतमा मर्ज हुँदै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, गरे सम्झौता
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) एक आपसमा मर्ज हुने भएका छन् । जसको लागि उनीहरुले असार २७ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । दुई इन्स्योरेन्स मर्जपछि १ बराबर १ को अनुपातमै स्वाप रेसियो हुने गरी सम्झौता भएको छ । अर्थात सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य १०० मान्दा प्रिमियर इन्स्योरेन्सको पनि १०० रुपैयाँ नै हुने छ । उक्त समझदारी पत्रमा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तर्फवाट अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सको १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ । १ बराबर १ को अनुपातमा मर्ज भएपछि बन्ने इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । जुन बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा बढी हो ।
सगरमाथा इन्स्योरेन्सले भुक्तानी गर्यो १२ करोडको बीमा दावी
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत मादी पावरलाई उक्त रकम भुक्तानी गरको हो । सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले मादी पावरका महाप्रबन्धक विइ जुनचाओलाई सो रकम बराबरको चेक प्रदान गरे । साथै, इन्स्योरेन्सले यो आर्थिक वर्ष २०७८/७९ भित्रै एक अर्ब ५३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको छ ।
जनताको रकम लिएर जोखिम बहन गरेपछि बीमा कम्पनी जवाहदेही बन्नैपर्छ : सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नै पर्छ बताएका छन् । बिहीबार काठमाडाैं भएकाे बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षण सम्बन्धी कार्यक्रममा उनले यस्ताे बताएका हुन् । उनले बीमा कम्पनी जहिले पनि जनताको हित सर्वोपरी हुनुपर्ने बताए । ‘लेखापरीक्षण प्रतिवेदनबाट कम्पनीको वित्तीय अवस्था देखिने भएकाले आर्थिक वर्ष समाप्त भएपछि हिसावकिताब सार्वजनिक गर्नै पर्छ र कानूनले तोकेको मितिमा लेखापरीक्षण प्रतिवेदन समितिमा बुझाउनै पर्छ । केही कठिनाई भए पनि अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एनएफआरएस १७ कार्यान्वयन गर्नै पर्छ,’ उनले भने । अध्यक्ष सिलवालले बीमा कम्पनीहरूको लेखा तथा लेखापरीक्षणको विश्वसनीयताका लागि गुणस्तर अभिवृद्धि, एनएफआरएस १७ को कार्यान्वयन, जनशक्ति विकास, नयाँ प्रविधि अवलम्बन लगायतका विषयमा नियामक निकायहरू लगायत सम्बद्ध पक्षहरूको सहभागितामा एक कमिटी गठन गरी अगाडि बढ्नका लागि आवश्यक सहयोग गर्न समिति तयार रहेको बताए । आइक्यानका अध्यक्ष युद्धराज ओलीले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम बीमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि, एनएफआरएस १७ को कार्यान्वयन लगायतका विषयमा समन्वय एवम् सहकार्यका साथ अगाडि बढ्न आइक्यान तयार रहेको बताए । कार्यक्रममा आइक्यानका कार्यकारी निर्देशक सञ्जय कुमार सिन्हाले आइक्यानका काम कारवाही र निकायमकीय भूमिका, बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा समितिका काम कारवाही र नियामकीय भूमिका तथा आइक्यानका परिषद् सदस्य प्रवीण कुमार झाले बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणमा देखिएका चुनौतीहरू सम्बन्धी छुट्टा छुट्टै कार्यपत्रहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश कुमार लाल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, जीवन वीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ, आइक्यान का पदाधिकारी, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।