नेप्सेमा थप दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा थप दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले मर्जर प्रकृयामा गएका सानिमा जनरल र जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिदिएको हो । यी दुईले असार २९ गते मात्रै मर्जरमा जानको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सोहि अनुसार नेप्सेले असार ३० गतेदेखि दुबै कम्पनीको सेयर कारोबार रोकिदिएको हो । यससँगै अब दुई इन्स्योरेन्सबीचको मर्जर प्रकृया सम्पन्न भई एकीकृत कारोबार नभएसम्म दोश्रो बजारमा सेयर कारोबार खुल्ने छैन । दुबै इन्स्योरेन्स समान हैसियत अर्थात १ बराबर १ को अनुपातमा एक आपसमा मर्ज हुन लागेका हुन् । पछिल्लो समय नेप्सेमा अधिकांश बीमा कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । सबै कम्पनी धमाधम मर्जर प्रकृयामा जनलाई एमओयू गरेसँगै नेप्सेले कारोबार रोक्का गरिदिएको हो ।
खारेज भयो पुलबाट हुने म्यादी जीवन बीमालेख, कम्पनीले नै गर्न पाउने
काठमाडौं । अबदेखि पुलबाट हुँदै आएको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख खारेज हुने भएको छ । बीमा समितिले आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट नयाँ बीमालेख जारी नगर्ने बताएको हो । समितिका अनुसार २०७९ साउन १ गतेबाटै लागू हुने गरी यसअघि जारी भएका सम्पूर्ण बीमालेखहरु पनि त्यसको दायित्व सकिएपछि पुल स्वतः खारेज हुनेछ । बुधबार एक सर्कलर जारी गर्दै बीमा समितिले सो व्यवस्था लागू गर्ने जानकारी गराएको हो । यससँगै अब इच्छुक जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्न सक्नेछन् । तर, त्यस्तो बीमालेख अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र जारी गर्नु पर्नेछ । इच्छुकले आगामी आर्थिक वर्षबाटै सो व्यवसाय गर्न पाउने समितिले जनाएको छ । कम्पनीहरुले उक्त व्यवसाय शुरु गर्नुअघि र बन्द गर्नुपरेमा समितिलाई जानकारी गराउनुपर्ने छ । विद्युतीय माध्यमबाट बीमालेख जारी गर्दा भुक्तानी सेवा प्रदायकलाई उपलब्ध गराउने सेवा शुल्क बापतको रकम अन्य बीमालेखको विद्युतीय माध्यमबाट बीमाशुल्क भुक्तानी गर्दा लाग्ने शुल्कभन्दा बढी नहुने गरी अधिकतम २० (बीस) रुपैयाँ कायम गर्नुपर्नेछ । साथै, सो सेवा शुल्क बापतको रकम निर्धारित बीमाशुल्कमा समावेश गर्न नपाईने समितिले जानकारी गराएको छ । आर्थिक वर्ष २०७८/७९ को बीमांकीय मूल्यांकन साविककै व्यवस्था बमोजिम यसअघि पुल व्यवस्थापकको जिम्मेवारी तोकिएको नेपाल पुनर्बीमा कम्पनीले गर्नुपर्ने छ । समितिका अनुसार पुल अन्तर्गत रहेको दायित्व समाप्त नहुँदासम्म बीमालेख अन्तर्गत परेको दाबीको रकम बीमालेख जारी गर्ने बीमकले नै यथाशिघ्र भुक्तानी गनुपर्ने छ । र, पुलमा सहभागी सबै बीमकहरुको आफ्नो हिस्सा बमोजिमको दायित्व बहन गुर्नपर्नेछ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीले विवरण प्राप्त भएको ७ दिनभित्र बीमकहरुको तोकिए बमोजिमको हिस्सा गणना गरी हिसाव किताब फरफारक गरी सबै कम्पनीहरुमा पठाउनु पर्नेछ र त्यसको जानकारी समितिलाई दिनुपर्ने छ । पुल अन्तर्गत जारी भएका बीमालेखहरुको दायित्व समाप्त नहुँदासम्म यस पुलको बीमांकीय मूल्यांकन पुल व्यवस्थापक नेपाल पनुर्बीमा कम्पनीले नै गर्नुपर्ने समेत समितिले जनाएको छ ।
प्रभु इन्स्योरेन्सको साधरणसभाले खोल्यो मर्जरमा जाने बाटो
काठमाडाैं । प्रभु इन्स्याेरेन्सकाे मर्जरमा जाने बाटाे खुलेकाे छ । इन्स्याेरेन्सकाे मंगलबार सम्पन्न विशेष साधरणसभाले कम्पनीकाे मर्जरमा जाने बाटाे खाेलेकाे हाे । उक्त सभाले कम्पनीकाे चुक्ता पूँजीकाे बढाउन भविष्यमा कुनै निर्जिवन बीमा कम्पनीहरुसँग एक आपसमा मर्जर तथा प्राप्ति गर्ने सक्ने निर्णय गरेकाे छ । सभाले आवश्यकता अनुसार हकप्रद जारी गरी पूँजी वृद्धि गर्न सक्ने निर्णय गर्दै साे सम्बन्धी आवश्यक निर्णय गर्न तथा तत् सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायतका मर्जर तथा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पुर्ण प्रक्रिया पुरा गर्न संचालक समितीलाई अख्तियारी प्रदान गरेकाे छ ।