आर्थिक मन्दीबीच २५ प्रतिशतले बढ्दै बीमा बिजनेश

काठमाडौं । पछिल्लो समय नेपालको आर्थिक अवस्था खस्कँदो अवस्थामा छ । अर्थतन्त्रका सूचकहरु जस्तै विनिमय सञ्चिति तथा मुद्रास्फितीमा दबाब छ । बजारमा तरलताको दबाब छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पनि अहिले नेपालको अर्थतन्त्र संकटमा रहेको धारणा व्यक्त गर्दै आएका छन् । जसको सामना गर्न अर्थतन्त्रका लागि जिम्मेवार सबै पक्षहरु आ-आफ्ना दायित्वमा इमान्दार बन्न आवश्यक रहेको उनको भनाई छ । अर्थतन्त्रको ऐना मानिने सेयर बजार निरन्तर घट्दो छ । बैंकहरुसँग लगानीयोग्य रकम छैन । आयात उल्लेख्य रुपमा बढ्दो छ । विदेशी मुद्राको सञ्चिती भने घट्दो क्रममा छ । यससँगै आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न सक्ने समेत गर्भनर अधिकारीले सूचित गराइसकेका छन् । तर यता बीमाको व्यवसाय भने फस्टाउँदै गएको छ । यो वर्ष गत वर्षकोभन्दा बढी बिजनेश भइरहेको जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारीहरु बताउँछन् । र, चालु आर्थिक वर्षको अन्त्यमा कम्पनीहरुको व्यवसाय औषतमा २० देखि २५ प्रतिशतसम्म बढ्ने उनीहरुको अनुमान छ । निर्जीवन बीमा व्यवसाय गर्दै आएको सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा २ अर्ब ६१ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो । जसको तुलनामा अहिले चालु आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको बिजनेस २० प्रतिशतले ग्रोथ भइसकेको सीईओ चंकी क्षेत्री बताउँछन् । ‘बिजनेस राम्रै छ, गत वर्षको तुलनामा २० प्रतिशत ग्रोथ छ,’ सीईओ चंकी क्षेत्रीले विकासन्युजसँग भने । नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेल पनि कम्पनीको व्यवसाय बढ्दो क्रममा रहेको बताउँछन् । ‘बिजनेशमा पोहोरको भन्दा ग्रोथ नै छ, सम्भवतः यो वर्ष २५ प्रतिशतले बढ्ने देखिन्छ’ उनले भने । डिसीईओ पोखरेलका अनुसार २०७८ असारमा १ अर्ब २७ करोड रुपैयाँ रहेको नेपाल इन्स्योरेन्सको बीमाशुल्क हालसम्ममा बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगिसकेको छ । यता जीवन बीमा व्यवसाय गर्दै आएको महालक्ष्मी लाइफ इन्स्योरेन्सको हकमा पनि कम्पनीको बिजनेस राम्रो रहेको र खासै चिन्ता नभएको सीईओ रमेश कुमार भट्टराई बताउँछन् । गत आर्थिक वर्षमा इन्स्योरेन्सको खुद बीमाशुल्क १ अर्ब २३ करोड रुपैयाँ थियो भने कूल बीमाशुल्क २ अर्ब ६१ करोड रुपैयाँ थियो । तर चालु वर्षमा कम्पनीहरुको रिपोर्ट त्यत्ति उत्साहजनक नहुने पनि सीईओ भट्टराईले बताए । मुलुकको आर्थिक अवस्था खस्कँदै गएकोले पनि त्यसको असर कम्पनीहरुमा पनि पर्ने उनको भनाई छ । त्यसैले अहिले कम्पनीहरुले विकास सोच्ने भन्दा पनि कसरी सस्टेन हुने भन्ने तिर लाग्नुपर्ने उनले जनाए । बीमा समितिको तथ्यांकअनुसार जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७७/७८मा कूल १ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका थिए । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले कूल ३१ अर्ब ८१ करोड रुपैयाँ बराबरको बीमाशुल्क अर्थात बिजनेस गरेका समितिको तथ्यांकले देखाउँछ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । मंगलबार लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ९.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ३७६.२६ रुपैयाँ कायम भएको छ । जुन मूल्य प्रतिकित्ता ४१२ रुपैयाँलाई आधार मानेर गरिएको हो । र, अबको बजारमा समायोजित मूल्यलाई नै आधार मानेर सेयर किनबेच हुनेछ । यससँगै अब कम्पनीको सेयर किन्नेहरु गत वर्षको प्रस्तावित लाभांश पाउन योग्य हुँदैनन् ।

अन्य कम्पनीको तुलनामा नेपाल लाइफको बिजनेस दोब्बर, सक्रिय बीमालेखमा रिलायबलले टप्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत जेठ मसान्तसम्ममा १ खर्ब १९ अर्ब ४७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार सञ्चालित १९ कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) सम्ममा सो मात्राको प्रिमियम संकलन गरेका हुन् । र, उक्त रकम गत दुई महिना अर्थात चैत महिनाको तुलनामा भने १६.५१ प्रतिशतले बढी हो । गत चैत मसान्तमा जीवन बीमा कम्पनीहरुले कूल १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए । जेठसम्ममा सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले ३० अर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जसको सक्रिय बीमालेखको संख्या भने ८ लाख ६१ हजार ४८७ वटा रहेका छन् । त्यस्तै, १० अर्बभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा अन्य दुई कम्पनी रहेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेसनले १४ अर्ब ७९ करोड र नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । र, सर्वाधिक बीमाशुल्क आर्जन गर्नेको सूचीमा क्रमशः दोश्रो र तेश्रोमा छन् । त्यस्तै, सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थाले ११ महिनामा ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । समीक्षा अवधिमा सबै कम्पनीहरु अर्बभन्दा बढीको बिजनेस गर्न सफल भएका छन् । जसमध्ये अधिकांश कम्पनीले ४ देखि ५ अर्बसम्मको बिजनेस गरेका नियामक निकाय बीमा समितिले जानकारी गराएको छ । कुनको कति ? समितिका अनुसार सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । समीक्षा अवधिमा महालक्ष्मीले १ अर्ब २८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जसको सक्रिय बीमालेखको संख्या भने ३२ हजार ४७३ वटा रहेका छन् । सो संख्या पनि अन्य कम्पनीको तुलनामा थोरै नै हो । संक्रिय बीमालेखको आधारमा भने रिलायबल नेपाल लाइफ अगाडि देखिन्छ । ११ महिनाको अवधिमा रिलायबल नेपालको सक्रिय बीमालेखको संख्या ३६ लाख ४९ हजार २७९ वटा पुगेको छ । बीमालेखको आधारमा रिलायबलको निकट प्रतिस्पर्धीमा नेशनल लाइफ इन्स्योरेन्स छ । जसको सक्रिय बीमालेखको संख्या भने १४ लाख ४२ हजार ५५२ वटा रहेको छ ।