दुई लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । चैत २९ गते एकैदिन सूर्योदय र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । दुई संस्थाको कूल ९ लाख ४८ हजार ७०६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये सूर्योदय लघुवित्तको २० प्रतिशत अर्थात ४ लाख ९६ हजार ८५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २७.७० प्रतिशत अर्थात ८ लाख ९९ हजार ९८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै अब दुबै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अनलाइनबाट हुने
काठमाडौं । स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट गर्न मिल्ने भएको छ । यस अन्तर्गत अब स्वास्थ्य बीमा बोर्डमार्फत बीमितहरुले कनेक्टआइपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सकिने भएको हो । नेपाल सरकारले लागू गरेको उक्त बीमा योजना अन्तर्गत, प्रत्येक बीमितले एक लाखसम्मको बीमा सुविधा प्राप्त गर्दै आएको छ । यस अन्तर्गत हाल सम्म ५३ लाखभन्दा बढी लाभग्राहीहरु रहेका छन् । उक्त बीमितहरुले अब अनलाइन माध्यमबाट नै आफ्नो बीमालेख नवीकरण र भुक्तानी गर्न सक्ने भएको हो । स्वास्थ्य बीमाबोर्डले यस कदमलाई एक महत्त्वपूर्ण कोषे ढुङ्गाको रुपमा लिएको छ जनाएको छ ।
आईएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठ सम्मानित, उत्कृष्ट व्यवस्थापन गर्न सफल
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठ सम्मानित भएका छन् । सीईओ श्रेष्ठ ‘आउटस्ट्याण्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’ बाट सम्मानित भएका हुन् । नेपाल व्यवस्थापन संघ (म्यान) ले चैत २६ गते राजधानीको याक एन्ड यति होटलमा आयोजना गरेको एक समारोहमा श्रेष्ठलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो । नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान र अनुकरणीय नेतृत्व कौशलताको कदर गर्दै श्रेष्ठलाई उक्त अवार्ड दिइएको म्यानले जनाएको छ । त्यस्तै, श्रेष्ठले हाल व्यवस्थापन गरिरहेको आईएमई जनरल इन्स्योरेन्स एशियाकै ‘बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ बाट पनि सम्मानित भएको थियो ।