बीमाशुल्क आर्जनमा २० निर्जीवन बीमा कम्पनी : ६ वटा बाहेक सबै अर्ब क्लबमा

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा २५ अर्ब २९ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालित २० वटा कम्पनीहरुले ८ महिनाको अवधिमै सो मात्राको बीमा शुल्क संकलन गरेका हुन् । बीमा समितिका अनुसार कम्पनीहरुले साउनदेखि फागुनसम्म १९ लाख ३९ हजार ३८५ वटा बीमालेख जारी गरी करिब सवा २५ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये अधिकांश अर्ब क्लबमा छन् भने केही कम्पनी करोड क्लबमै सीमित छन् । दि ओरियन्टल, प्रुडेन्सियल, एभरेष्ट, सानिमा जनरल, नेशनल र जनरल इन्स्योेरेन्सले करोडको क्लबमा छन् भने बाँकी सबैले एक अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरिसकेका समितिले जनाएको छ र सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्सको अग्रता कायमै छ । इन्स्योरेन्सले ८ महिनाको अवधिमा १ लाख ६५ हजार ५१६ वटा बीमालेख जारी गरी ३ अर्ब १० करोड २९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको हो । त्यस्तै, बढी बीमाशुल्क संकलन गर्नेको दोश्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले २ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी, १ अर्बदेखि २ अर्ब रुपैयाँसम्मको प्रिमियम उठाउनेमा १२ वटा कम्पनी छन् । नेकोले १ लाख ८९ हजार वटा बीमालेख जारी गरी १ अर्ब ९९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, कूल २० कम्पनीमध्ये सबैभन्दा कम बीमाशुल्क नेशनल इन्स्योरेन्सको छ । इन्स्योरेन्सले ८ महिनामा ५७ करोड ९३ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । सो अवधिमा कम्पनीले १४ लाख ९२५ वटा बीमालेख जारी गरेको थियो । कुनको कति ? (सूचीसहित)

दिन प्रतिदिन सुस्ताउँदै सेयर बजार, डेढ अर्बको पनि भएन कारोबार

काठमाडौं । पछिल्लो समय सेयर बजार दिन प्रतिदिन सुस्ताउँदै गएको छ । आइतबारको बजारमा पनि नेप्से परिसूचक र कारोबार रकम दुबैमा घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२१ प्रतिशतले घटी हो । परिसूचक घटेको बजारमा कारोबार रकमले पनि साथ दिन सकेन । दिनभर खुलेको बजारमा करिब डेढ अर्बको सेयर कारोबार भएको छ । २२५ वटा स्क्रिप्सको १ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको शीर्ष ५ स्थानमा नबिल बाहेक सबै बीमा कम्पनीहरु छन् । सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा सिद्धार्थ इन्स्योरेन्स छ । इन्स्योरेन्सको ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, चौथो र पाँचौ स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसन छन् । नेपाल लाइफको ४ करोड ११ लाख र लाइफ इन्स्योरेन्सको ३ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यता बढी कारोबार गर्नेको तेश्रो स्थानमा रहेको नबिल बैंकको भने ४ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । घट्दो बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्तको १०, इमर्जिङ नेपालको ९.९९ प्रतिशत र नेष्डो समृद्ध लघुवित्तको ९.९९ प्रतिशतले बढेर क्रमशः १४५१, १३४१ र ११६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बढी कारोबार भएको सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य भने घटेको छ । इन्स्योरेन्सको सेयर मूल्य ५.०१ प्रतिशतले घटेर प्रतिकित्ता ७०० रुपैयाँमा अन्तिम कारोबार भएको छ । आइतबार म्युचुअल फण्ड बाहेक सबै समूह राताम्मे देखिएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २१६ अंकले घटेको छ । म्युचुअल फण्ड समूह भने स्थिर रहेको छ ।

एनएलजी इन्स्योरेन्सको अध्यक्षमा बिमलप्रसाद वाग्ले

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा बिमलप्रसाद वाग्ले चयन भएका छन् । १६औं साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले वाग्लेलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो । अध्यक्ष वाग्लेले आजै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेका कम्पनीले जनाएको छ । नवनिर्वाचित अध्यक्षसँग ३७ वर्षभन्दा बढी निजामति सेवा तथा विभिन्न संस्थामा काम गरेको अनुभव छ । सचिव पदबाट अवकाश पाएका वाग्ले  यसअघि पनि एनएलजी इन्स्योरेन्स कम्पनीकाे अध्यक्ष थिए ।