२४ वटा बीमा कम्पनीले मात्रै बुझाए पुँजी वृद्धि योजना

काठमाडौं । बीमा समितिमा कूल २४ वटा बीमा कम्पनीले मात्रै पुँजी वृद्धिको योजना पेश गरेका छन् । समितिका अनुसार तोकिएको पुँजी पुर्याउन आवश्यक देखिएका ३८ वटा कम्पनीमध्ये २४ वटाले मात्रै आफ्नो क्यापिटल प्लान पेश गरेका हुन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अन्तिम दिन (बैशाख ११ गते) सम्ममा १२ वटा कम्पनी जीवन कम्पनी र १२ वटा निर्जीवन बीमाले पुँजी वृद्धिको प्लान बुझाएका हुन् । जसमा जीवन बीमा कम्पनीहरुमध्ये लाइफ इन्स्योरेन्स, नेशनल, एशियन, सूर्या, मेटलाइफ, सानिमा, गुराँस, सिटिजन, महालक्ष्मी, रिलायन्स, सन नेपाल लाइफ र आईएमई लाइफले क्यापिटल प्लान पेश गरेका छन् । उनीहरुले हालको चुक्ता पुँजी बढाएर न्यूनतम ५ अर्ब रुपैयाँ पुर्याउने गरी प्लान पेश गरेका हुन् । यस्तै, निर्जीवन बीमातर्फ शिखर, नेपाल, सगरमाथा, एभरेष्ट, सानिमा जनरल, आईएमई जनरल, प्रुडेन्सियल, नेको, लुम्बिनी जनरल, अजोड, जनरल र यूनाईटेड इन्स्योरेन्सले पुँजी वृद्धिको योजना समितिमा पेश गरिसकेका छन् । यी कम्पनीले चुक्ता पुँजी साढे २ अर्ब रुपैयाँ पुर्याउने योजना बनाई बीमा समितिमा पेश गरेका हुन् । हालसम्म  पुँजी वृद्धिको प्लान पेश नगर्नेमा जीवन र निर्जीवन गरी कूल १४ वटा कम्पनी रहेका छन् । जसमा जीवन बीमा अन्तर्गतका ६ कम्पनी (राष्ट्रिय बीमा संस्थान, प्राइम, यूनियन लाइफ, ज्योति लाइफ, रिलायबल नेपाल र प्रभु) र निर्जीवन बीमा अन्तर्गतका ८ कम्पनी (दि ओरियन्टल, नेशनल, हिमालयन जनरल, प्रिमियर, प्रभु, एनएलजी, सिद्धार्थ र राष्ट्रिय बीमा कम्पनी) छन् । समितिले २०७८ चैत १० गते एक सूचनामार्फत एक महिना भित्रमा पुँजी वृद्धिको प्लान पेश गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । सोही अनुसार कम्पनीहरुले २०७९ बैशाख १० गतेभित्रमा आ-आफ्नो क्यापिटल प्लान बुझाईसक्नु पर्ने थियो । तर बैशाख १० गते शनिबार परेकोले समितिले बैशाख ११ गतेसम्मलाई उक्त म्याद थपेको हो । समितिले उक्त निर्देशन मार्फत जीवन बीमा कम्पनीलाई न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई न्यूनतम साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । उक्त पुँजी वृद्धिको योजना एक महिनाभित्रमै समितिमा पेश गर्नुपर्ने र एक वर्षभित्र अर्थात २०७९ चैत मसान्तभित्रमा कार्यान्वयनमा ल्याउन समितिको निर्देशन थियो । यता जीवन बीमा व्यवसाय गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्सलाई भने चुक्ता पुँजी वृद्धिको प्लान पेश गर्न दवाव थिएन । कम्पनीकाे चुक्ता पुँजी ८ अर्ब रुपैयाँभन्दा बढी रहेकोले इन्स्याेरेन्सलाई पुँजी वृद्धिको दवाव नपरेको हो । सम्बन्धित समाचार ‘नियामकले खुट्टा कमाउनु हुँदैन, बीमा कम्पनीको संख्या १० भन्दा तल झार्नुपर्छ’ जीवन बीमाको पुँजी वृद्धि : ५ अर्बको पुँजी जुटाउन कसले कति हकप्रद सेयर जारी गर्नुपर्ला ? निर्जीवन बीमा कम्पनीले मात्रै सवा २४ अर्ब बढी पुँजी थप्नुपर्ने, कुनलाई कति दवाव ? (सूचीसहित)

प्रुडेन्सियल इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं साधारण सभा आज दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्तावको कम्पनीको बीसौं वार्षिक साधारणसभाबाट ७ प्रतिशत बोनस सेयर र ०.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । साविक १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० चुक्तापुँजीबाट बोनश सेयरपश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब १८ करोड ८१ लाख ४४ हजार ८१९ हुने कम्पनीले जनाएको छ ।

गुराँस लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरणमा ब्याज छुट

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले बीमालेख नवीकरण गर्दा लाग्ने व्याजमा छुट दिने भएको छ । कम्पनीले व्यतित भएका बीमालेखहरुको नविकरण गर्दा ३० प्रतिशत व्याज मिनाहा गर्ने भएको हो । समयमा बीमाशुल्क भुक्तानी नगरेको अर्थात अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखमा ३० प्रतिशत व्याज छुट दिन लागेको हो । यससँगै बीमितले २०७९ बैशाख ११ गतेदेखि जेठ १० गतेसम्म नवीकरण गराएमा मात्रै उक्त छुट पाउने समेत कम्पनीले जनाएको छ । इन्स्योरेन्सका अनुसार सन् २०२२ मा परिपक्व हुने बीमालेखमा भने यो छुट सुविधा लागू हुँदैन । साथै, यो सुुविधा अन्तर्गत एक पटक व्याज छुट लिई सकेका बीमितहरुले बीमा अवधि भरी पुनः छुट पाउने छैनन् ।