हकप्रद सेयर निष्काशन गरी पुँजी २ अर्ब ५० कराेड बनाउने प्रभु इन्स्योरेन्सको योजना
काठमाडौं । प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरी चुक्ता पुँजी २ अर्ब ५० करोड बनाउने गृहकार्य थालेको छ । समयमै तोकिएको पुँजी वृद्धिको लागि कम्पनीले योजना बनाई नियामक निकाय बीमा समितिमा पेश गर्ने तयारी गर्दै प्रकृया अघि बढाएको हो । २०७८ चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाले कम्पनीको हकप्रद योजनालाई पास गर्दै बीमा समितिमा पेश गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको हो । सोही अनुसार कम्पनीले उक्त योजना बीमा समितिमा पेश गर्न लागेको हो । सम्भवतः बीमा कम्पनीहरुमध्ये प्रभु इन्स्योरेन्स सबैभन्दा पहिले पुँजी वृद्धिको योजना पेश गर्ने कम्पनीमा पर्ने देखिएको छ । कम्पनीले हकप्रद सेयरबाट मात्रै चुक्ता पुँजी बढाउने गरी प्लान बनाएको र उक्त योजना समितिमा पेश गर्ने तयारी गरिरहेको प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा बताउँछिन् । ‘हामीले अहिले हकप्रदबाट मात्रै पुँजी बढाउने प्लान गरेका छौं, जुन सभाबाट पनि पास भइसक्यो,’ प्रष्ट पार्दै उनले भनिन् । उनका अनुसार प्रभु इन्स्योरेन्सले मर्जरलाई भन्दा बढी प्राथमिकता हकप्रद सेयरलाई दिएको छ । पुँजी वृद्धिको लागि हकप्रद जारी गर्ने योजना भएपनि अहिले यति नै जारी गर्ने भनेर खुलाउन नमिल्ने अध्यक्ष लामाले बताइन् । ‘समितिमा पुँजी वृद्धि प्लान पेश गर्दैछौं, प्लान पास भएपछि मात्रै कम्पनीले कति हकप्रद जारी गर्ने खुलाउँछौं, तर अहिले नै यति जारी गर्दैछौं भनेर भन्न मिल्दैन,’ विकासन्युजसँग उनले भनिन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड रुपैयाँ रहेको छ । हालै कम्पनीले चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारणासभाबाट पारित गरेको छ । बोनस सेयर पश्चात कम्पनीको पुँजी १ अर्ब २८ करोड रुपैयाँ नाघ्नेछ । समितिको नयाँ निर्देशन अनुसार चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन कम्पनीलाई थप १ अर्ब २१ करोड रुपैयाँ आवश्यक पर्छ । यससँगै, कम्पनीले हकप्रदलाई मात्रै फोकस गर्ने हो भने अब ९३.८४ प्रतिशत हकप्रद सेयर जारी गर्नुपर्ने देखिन्छ । यता बीमा समिति भने हकप्रद सेयरबाट भन्दा मर्जबाट पुँजी वृद्धि गराउने पक्षमा रहेको छ । थोरै पुँजी बढाउनु पर्ने कम्पनीलाई हकप्रद स्वीकृति दिएपनि धेरै बढाउनुपर्ने कम्पनीलाई हकप्रदबाट मात्रै पुँजी बढाउन नदिने र मर्जर तथा एक्विजिसनमा जानै पर्ने समितिको धारणा छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सीईओहरुसँगको पछिल्लो अन्तर्क्रियाहरूमा मर्जरलाई केन्द्रमा राखेर पुँजी वृद्धि योजना माग गरिएको बताएका थिए। प्रभु इन्स्योरेन्सकी अध्यक्ष लामाले हाल कम्पनीले हकप्रदमा मात्रै फोकस गरेको र सम्भवतः मर्जरमा जान नपर्ने बताइन् । तर पनि कम्पनीको योजनामाथि समितिबाट आएको प्रतिकृया अनुसार नै अघि बढ्ने उनको भनाइ छ । ‘अब योजना पेश भएपश्चात समितिले के भन्छ, त्यहि अनुसार जान्छौं, तर हामी मर्जरमा फोकस छैनौं, राइट सेयरमै फोकस छौं, सायद मर्जरमा जान आवश्यक नपर्ला,’ उनले भनिन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समितिको उद्देश्य संख्या घटाउनु नै भएको र संख्या घटाउनतिर नै समितिको प्रयास हुने विकासन्युजलाइ बताए । उनले बैशाख २ गते बिहानसम्ममा पुँजी वृद्धिको योजना लिएर कुनै पनि कम्पनी समितिमा नआएको बताएका छन् । आगामी बैशाख १० गतेसम्मको समय भएकोले कम्पनीहरु अब भटाभट आउन सक्ने उनको भनाई छ । समितिले गत चैत १० गते नै बीमा कम्पनीहरुले पुँजी बढाउनु पर्ने र उक्त पुँजी वृद्धिको योजना एक महिनाभित्रमा समितिमा पेश गरिसक्न निर्देशन दिएको थियो ।
गुराँस लाइफ इन्स्योरेन्सद्वारा ५ लाखकाे बीमा दावी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले पाँच लाख त्रियानब्बे हजार मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुराँस सावधीक जीवन बीमा गराएका नवलपरासी बसोबास गर्ने स्व. सुमन राना मगरको मृत्यु पश्चात उनको इच्छाएको व्यक्ति ईन्द्र बहादुर राना मगरलाई रकम हस्तानतरण गरेको हो । स्व। सुमन राना मगर को केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो । उनले दुई वर्ष अगाडी सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाखको सावधीक जीवन बीमा गरेका थिए । शाखा प्रमुख ओमकार सिग्देलले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रा मा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागी महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताए ।
पुँजी बढाउन प्रभु इन्स्योरेन्सले हकप्रद जारी गर्ने, योजना पेश गर्न समितिले पायो अख्तियारी
काठमाडौं । प्रभु इन्स्योरेन्सले हकप्रद सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने भएको छ । तोकिएको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनको लागि कम्पनीको हकप्रद सेयर जारी गर्ने भएको हो । बीमा समितिबाट जारी भएको पुँजी वृद्धि सम्वन्धी निर्देशन बमोजिम कम्पनीले गरेको उक्त प्रस्ताव चैत ३० गते सम्पन्न इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले पारित गरेको हो । सभाले उक्त प्रस्ताव बहुमतले पारित गरि सोहि अनुसार कम्पनीको पुँजी वृद्धि सम्वन्धी योजना तयार गरि बीमा समितिमा पेश गर्न साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ । साथै, उक्त सभाले प्रभु इन्स्योरेन्सको प्रस्तावित ११.५८ प्रतिशत लाभांश पारित भएको छ । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर बापत ०.५८ प्रतिशत नगद लाभांश पाउने छन् । बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । सभामा कम्पनीका अध्यक्ष कुसुम लामाले विभिन्न समस्या तथा उत्तारचढावहरु बि.सं.२०७२ सालको महाभूकम्प, सोही वर्षको नाकाबन्दी, बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) र सो को नयाँ/नयाँ भेरियन्टको असर, तत्पश्चात वित्तीय क्षेत्रमा देखिएको तरलताको अभाव एवं प्रत्यक्ष आयात निर्यात हुने बिदेशी राष्ट्रहरुबीच भएको आपसी द्वन्द लगायतले बीमा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पारेको बताउँदै सम्भावित बीमा जोखिमहरुको आँकलन तथा सोको संयमित र अनुकुलित व्यवस्थापन नै बीमा क्षेत्रको सफलताको शुत्र रहेको बताइन् । साथै, कम्पनी भित्रको शुसाशन र सहभागितामूलक पारदर्शी निर्णय प्रकृयाहरुले सञ्चालक समिति र व्यवस्थापन बीचमा झन् प्रगाढता बढेको उनले बताइन् । बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाकाबीच कम्पनीले ग्राहक केन्द्रित भएर आकर्षक बीमा सेवा प्रदान गर्दै अगाडि बढेको र कम्पनीको आन्तरिक व्यवस्थापनलाई व्यवस्थापन गर्दै कम्पनीले डिजिटल बीमा सेवामा विशेष जोड दिएको उनले बताइन् । वार्षिक साधारण सभाबाट पारित बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । साथै कम्पनीले केन्द्रिय कार्यालय सहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरुबाट सेवा प्रदान गरिरहेको छ ।