बीमा अभिकर्ताको इजाजत पत्र अनलाइनबाट नवीकरण गर्न सकिने

काठमाडाैं । बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । मंगलबार बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले समितिको केन्द्रिय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नविकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । यससँगै ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २ हजारभन्दा बढी बीमा सर्भेयरहरुले आफ्नो इजाजत पत्र डिजिटल माध्यमबाट नविकरण गर्न सक्ने भएका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा शाखाहरु सधैँ व्यस्त रहने र अभिकर्ताहरुको इजाजत पत्र नविकरण गर्न पनि झन्झटिलो हुने गरेकाले डिजिटल माध्यम अपनाइएको बताए । यस सुविधाअन्तर्गत अब अभिकर्ताहरुले आफ्नो कम्प्युटर र मोवाइलमार्फत् सजिलै नविकरण गर्न सकिने उल्लेख गरे । अध्यक्ष सिलवालले डिजिटल नविकरण प्रक्रियालाई पनि गुनासोरहित बनाउनका लागि सम्बन्धित सबैको ध्यान जानुपर्ने बताए । सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नुपर्नेमा अझै जोड दिनुपर्ने उनले बताए ।

नेपाल इन्स्योरेन्सले बढायो लाभांशदर, बोनस र नगद कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ११.५७८९ प्रतिशित लाभांश वितरण गर्ने घोषणा गरेको हो । चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत (८ प्रतिशत बोनस र २ प्रतिशत नगद) वितरण गरेको थियो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ छ । प्रस्तावित ११ प्रतिशत बोनस पारित पश्चात १ अर्ब ३७ करोड रुपैयाँ पुँजी पुग्ने छ । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत दिएपछि इन्स्योरेन्सको साधारण सभाले पारित गर्नुपर्ने छ ।

दाबी रकम समयमै नदिए बीमा कम्पनीले अब व्याज दिनुपर्ने

काठमाडौं । बीमा कम्पनीहरूले समयमै बीमाको दाबी रकम भुक्तानी नगरे बीमितलाई व्याज दिनुपर्ने व्यवस्था हुने भएको छ । बीमा समितिको आयोजनामा ललितपुरमा आइतबार सम्पन्न जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी जानी बुझी समयमै नदिएमा दाबी भुक्तानी अवधिपछि बीमा रकमको व्याजसमेत दिनुपर्ने व्यवस्था गर्न लागेको बताएका हुन् । अध्यक्ष सिलवालले देशमा बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका साथै बीमितको हित रक्षा गर्नु बीमा समितिको मुख्य कार्य भएको उल्लेख गर्दै कानून उल्लङ्घन गरी गलत काम गर्नेलाई भने कारवाही गरिने स्पष्ट गरे । साथै बीमाको दाबी भुक्तानी मनोगतरुपमा नगरी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिए । उनले बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन सरकारलाई आग्रह गर्दै आएको र त्यसको मस्यौदासमेत बुझाइसकेको उल्लेख गर्दै त्यसलाई आवश्यक छलफल गरेर अघि बढाउन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग तयार रहेको जानकारी दिए । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूका लागि एकीकृत सफ्टवेर निर्माण गर्ने कार्यको समितिले नेतृत्व गर्ने बताउँदै बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता लगायतलाई सक्षम बनाउनका लागि तालिम दिन इन्सुरेन्स इन्ष्टिच्युट नेपाललाई अनुमती दिइएको जानकारी दिए । कार्यकारी निर्देशक पौडेलले समितिले एकीकृत निर्देशिका चाँडै ल्याउने जानकारी दिँदै बीमा दाबी भुक्तानी छिटोभन्दा छिटो गरेर बीमाप्रतिको विश्वास कायम राख्न आग्रह गरे ।