अभिकर्ता र कर्मचारीलाई तालिम दिन ‘नेपाल लाइफ पाठशाला’ सञ्चालनमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरी स्थित नेपाल लाइफ भवनमा स्थापना गरेको ‘नेपाल लाइफ पाठशाला’ नामक प्रशिक्षण कक्षको उद्घाटन गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उक्त प्रशिक्षण कक्षको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उदाहरणीय कार्य भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले अभिकर्ता तथा कर्मचारीहरुको व्यावसायिक दक्षता एवं क्षमता अभिबृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महशुस गरी प्रशिक्षण कक्षको स्थापना गरिएको बताए । आगामी दिनहरूमा यस पाठशालामा विज्ञ प्रशिक्षकहरूमार्फत अभिकर्ता र कर्मचारीहरुको लागि नियमित तालिम एवं सेमिनारहरु सञ्चालन गर्न कम्पनी व्यवस्थापनलाई सुझाव दिए ।

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । इन्स्योरेन्सको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो । यससँगै कम्पनीको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः ५१ र ४९ प्रतिशत भएको छ । यसअघि कम्पनीमा संस्थापक सेयरको स्वामित्व ७० प्रतिशत र साधारण सेयरको स्वामित्व ३० प्रतिशत रहेको थियो ।

आईपीओ निकाल्न बाँकी ५ बीमा कम्पनीको पुँजी वृद्धि प्रक्रिया कसरी अघि बढ्छ ?

काठमाडौं । बीमा समितिको चैत १० गते बसेको संचालक समिति बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी १५० प्रतिशतले बढाउने निर्णय गर्यो । समितिको निर्णय अनुसार जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुने भयो । चुक्ता पुँजी बढाउनको लागि समितिले आगामी २०७९ को चैत मसान्तसम्मको म्याद दिएको छ । अर्थात २०७९ चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनै पर्छ । तर, अहिले संचालनमा रहेका मध्ये ५ वटा जीवन बीमा कम्पनीले साधारण सेयर (आईपीओ) नै जारी गरेका छैनन् । आईपीओ जारी गरेका कम्पनीहरुले हकप्रद जारी गरेर वा मर्जर तथा एक्वीजीसनमा गएर तोकिए अनुसार चुक्ता पुँजी बनाउन सक्ने भएपनि आईपीओ जारी नै नगरेका कम्पनीहरुले कसरी पुँजी पुर्याउँछन् भन्ने प्रश्न पनि खडा भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भने आईपीओ जारी नगरेका कम्पनीहरुलाई पनि चुक्ता पुँजी बृद्धि गर्न समस्या नहुने बताउँछन् । आईपीओ जारी नगरेका कम्पनीहरुले पहिला प्रमोटरले पुँजी थप्ने र त्यसपछि आईपीओ जारी गर्न सक्ने उनले बताए । ‘कम्पनीहरुले प्रमोटेरले ७० प्रतिशत र सर्वसाधारणले ३० प्रतिशत लगानी गर्ने भनेका छन्, आईपीओ जारी नगरेका कम्पनीहरुले पहिला प्रमोटरले थप्ने रकम थप गर्नुपर्यो, त्यसपछि ३० प्रतिशतका दरले हुने रकम बराबरको आईपीओ जारी गरे हुन्छ, तर तोकिएको समयभित्रमा (२०७९ चैत मसान्तभित्रै) प्रमोटरले लगानी थपेर आईपीओ पनि जारी गरिसक्नु पर्छ,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने । संचालनमा रहेका ५ वटा जीवन बीमा कम्पनीहरुले आईपीओ जारी गरेका छैनन् । आईपीओ जारी नगर्ने कम्पनीहरुमा सन् नेपाल, महालक्ष्मी, सिटिजन्स, आइएमई र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी हुन् । यी कम्पनीहरु आईपीओ जारी गर्ने प्रक्रियामा भने गइसकेका थिए । आईपीओ जारी गर्ने प्रक्रियामा गइसकेका कम्पनीहरुका प्रमोटरले फेरि पुँजी थप गर्नुपर्ने भएपछि आईपीओ जारी गर्ने समय भने लम्बिने भएको छ । जीवन बीमा कम्पनीहरुको हकमा चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनै पर्ने भएकोले प्रमोटरले ३ अर्ब ५० करोड रुपैयाँ लगानी (चुक्ता पुँजीको ७० प्रतिशतका दरले हुने रकम) गर्नुपर्छ । बाँकी हुने १ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ जारी हुनेछ । नयाँ व्यवस्था अनुसार सन् नेपाल, महालक्ष्मी, आईएमई र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमोटरहरुले २ अर्ब १० करोड रुपैयाँका दरले लगानी थप गर्नुपर्ने भएको छ । किनभने यी ४ वटै कम्पनीमा प्रमोटरले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । तर, सिटिजन्स लाइफका प्रमोटरले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरिसकेकाले थप १ अर्ब ७५ करोड रुपैयाँ मात्रै लगानी गर्दा हुनेछ ।