जीवन बीमा कम्पनीलाई अर्थको राहत, व्याज आम्दानीमा लाग्ने कर ६६ प्रतिशतले घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरुको आम्दानी बढ्ने भएको छ । सरकारले जीवन बीमा कम्पनीहरुको व्याज आम्दानीमा लाग्ने कर ६६ प्रतिशतले घटाइदिएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत जीवन बीमा कम्पनीहरुले तिर्नुपर्ने व्याज रकममा ५ प्रतिशत मात्रै कर लाग्ने व्यवस्था गरिदिएको छ । यसअघि यस्तो कर १५ प्रतिशत थियो । पहिलाको १५ प्रतिशतबाट व्याज कर ५ प्रतिशतमा झर्दा जीवन बीमा कम्पनीहरुलाई करिब ६६ प्रतिशत व्याजकर जोगिने देखिएको छ । सरकारले जीवन बीमा कम्पनीहरुको निक्षेपमा लाग्ने व्याजकर घटाइदिदा कम्पनीहरुको नाफा बृद्धि हुने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए । ‘पहिला जीवन बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेपमा १५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो, यसपालीको बजेटदेखि यस्तो कर ५ प्रतिशत तिरे हुने व्यवस्था गरिएको छ, यो व्यवस्था जीवन बीमा कम्पनीहरुका लागि धेरै नै राम्रो हो,’ प्रमुख कार्यकारी अधिकृत प्रसाईले विकासन्युजसँग भने । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत आयकर ऐनमा संशोधन गरी नयाँ व्यवस्था गरेको हो । ‘बासिन्दा बैंक तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्तानी गरेको व्याजमा पाँच प्रतिशतका दरले कर लाग्नेछ,’ आयकर ऐनको दफा ८८ मा खण्ड १२ थप्दै अर्थ सम्बन्धी विधेयकमा उल्लेख गरिएको छ । जीवन बीमा कम्पनीहरुले बीमा प्रिमियम बापत लिएको रकममध्ये ठूलो परिमाणमा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको रुपमा राख्ने गरेका छन् । यसैकारण जीवन बीमा कम्पनीहरुको आम्दानी बढ्ने देखिएको हो ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले देशभरका युवाहरुलाई बीमा तालिम दिने

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘युवासँग महालक्ष्मी लाईफ’ सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको छ। युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अभियान संचालन गर्न लागेकाे कम्पनीले जानकारी दिएकाे छ । कम्पनीको संचालक समितिको भदाै २५ गतेको निर्णले असाेज महिनाबाट देशव्यापी बीमा जागरण कार्यक्रम संचालन गर्न लागेकाे हो । दुई वर्षे यस अभियानमा २०७८ र ७९ भित्र २५ वटा जिल्ला र आव २०७९ र ८० मा बाँकी जिल्लामा कार्यक्रम संचालन गरिने कम्पनीले जानकारी दिएकाे छ । कम्पनीकाे अनुसार यो कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्यन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिनेछ । यस अभियानमा काम गरी आय आर्जन गर–बीमा गरी सुरक्षित बनू भन्ने मुल विषय वस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवि र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको कम्पनीले जानकारी दिएकाे छ । कम्पनीले यही असाेज पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरुको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समितिको गठन र नामावलीको घोषणा गर्नेछ ।

बीमा संस्थानले चुक्ता पुँजी २ अर्ब पुर्याउने, स्वीकृति माग्दै पुग्यो अर्थमन्त्रालय

काठमाडौं । जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने भएको छ । संस्थानको शनिबार संस्थान परिसरमा सम्पन्न ३१ औं साधारणसभामा बोल्दै सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले साे बताएका हुन् । नियामक बीमा समितिको पछिल्लो निर्देशन अनुरुप चुक्ता पुँजी दुई अर्ब पुर्याउनुपर्ने व्यवस्था रहेकोले संस्थानले सोही अनुसार चुक्ता पुँजी पुर्याउनका लागि पुँजी योजना तयार गरी अर्थमन्त्रालयमा स्वीकृतिमा लागि पठाइएको उनले जानकारी गराए । विगत केही वर्षदेखि महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रभावलाई नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दी तथा निषेधाज्ञाले संस्थानको व्यवसाय विस्तार लगायत अन्य गतिविधिहरुमा नराम्रो प्रभाव परेको उनले बताए । कोरोना प्रभावका बाबजुद पनि संस्थानले गत आर्थिक वर्ष २०७७/७८ मा सात अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको उनले बताए । सोही अवधिमा तीन अर्ब १९ करोड ८७ लाख दाबी भुक्तानी गर्नुका साथै आर्थिक वर्षको अन्त्यमा जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लख रहेको अध्यक्ष कँडेलले जानकारी दिए । संस्थानको लामो समयदेखि बाँकी रहेको आ.व.२०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखा परीक्षण तथा साधारणसभा गरिएको हो । संस्थानले आ.व. २०६६/६७ मा तीन अर्ब चार करोड चार लाख १६ अजार ८२३ आम्दानी गरेको छ भने २०६७/६८ मा तीन अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरको छ । यस्तै २०६८/६९ मा तीन अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको छ । संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्न सक्ने भएको भन्दै संस्थानका प्रशासक कविप्रसाद पाठकले आ.व. २०६६/६७ को तुलनामा पछिल्ला वर्षहरुमा बीमा क्षेत्रमा रहेका विविध चुनौतिहरुको सामना गर्दै संस्थानले व्यवसायमा उल्लेख्य वृद्धि गर्दै गएको बताए । बीमा समितिले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखापरिक्षण प्रतिवेदन स्वीकृत गरे सँगै साधारणसभा सम्पन्न गरेको हो । संस्थान, बीमा समिति, महालेखा परिक्षकको कार्यालय र अर्थमन्त्रालयको समन्वयमा उक्त तीन आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न गर्ने सहमति भएको थियो । कतिपय पुराना हिसाव नभेटिएको तथा हिसाव कितावको रेकर्ड नै नष्ट गरेका कारण पनि लेखापरीक्षण हुन नसकेको संस्थानले जनाएको छ । महालेखा परीक्षणकको कार्यालय तथा अर्थमन्त्रालयले पटक पटक हिसाब मिलाउन तथा लेखापरीक्षण गर्न निर्देशन दिए पनि काम पुरा हुन सकेको थिएन । यसले गर्दा तीन वटै निकायको रोहवरमा उक्त लेखापरिक्षण सम्पन्नका लागि बाटो खुलाइएको हो । आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को साधारणसभा सम्पन्न भएसँगै अर्को तीन आर्थिक वर्ष २०६९/७०, २०७०/७१, २०७१/७२ को पनि लेखापरीक्षकबाट प्रतिवेदन प्राप्त भई गत असार ३१ गते स्विकृतिको लागि बीमा समितिमा पठाइ सकिएको संस्थानले जनाएको छ । महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भई आ.व. २०७२/७३, २०७३/७४ र २०७४/७५ को लेखापरीक्षण समयमा सम्पन्न गर्नका लागि पनि साधारणसभाले दुई जना लेखापरीक्षक नियुक्त गरेको छ ।