भरतपुर अस्पतालमा सबै औषधी नपाउँदा बीमाका बिरामी ठगिँदै
चितवन । भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका ‘फोकल पर्सन’ नारायण सापकोटा आफैले हेर्ने बीमा कार्यक्रममा ठगिएका छन् । आफ्नो श्रीमतीको पित्तथैलीको शल्यक्रिया गर्दा बीमामा २७ हजार ५०० दाबी गरे । त्यसोत अस्पतालमा औषधि नभएपछि चार हजारको औषधि बाहिर किन्नुपर्याे । आम नागरिक झै बीमाबाट रकम काट्ने र छुट्टै औषधि किन्नु पर्दा आफू पनि मर्कामा परेको उनले स्वीकार गरे । बीमा बोर्डसँग भरतपुर अस्पतालले शल्यक्रियाको औषधि, परीक्षण, श्यया, शल्यक्र्रिया शुल्कलगायत सबैको प्याकेजमा रकम तय भएको छ । अस्पतालले शल्यक्रिया गर्दै गर्दा आफूले सुविधा दिन नसके पनि पूूरै रकम सेवाग्राहीको खाताबाट दाबी गरेर बीमा बोर्डसँग लिने गर्दछ । सापकोटाले भने, ‘औषधि उपलब्ध गराउने जिम्मा अस्पतालको हो’, दोहोरो खर्च गराउनु गलत भएको भन्दै उनले भने । बीमाले लगभग ८० प्रतिशत औषधि समेटेको भए पनि अस्पतालले दिन नसकेको उनको भनाइ छ । अस्पतालमा औषधि नहुँदा शल्यक्रियासँगै दमका बिरामी, ज्वरोका बिरामी पनि मर्कामा पर्ने गरेको सापकोटाको भनाइ छ । अस्पताल र बीमा बोर्डका बीचमा पित्तथैलीको ल्याबकोली (मेसिनबाट गरिने शल्यक्रिया) गर्दा प्याकेजमा २७ हजार ५०० दाबी गर्ने उल्लेख छ भने चिरेर शल्यक्रिया गर्दा १८ हजार उल्लेख छ । त्यस्तै एपेन्डिसाइडको १५ हजार ५०० रहेको छ । सापकोटाको भनाइमा सबै शल्यक्रियाको दररेट छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रोशन न्यौपाने अस्पतालमा अधिकांश औषधि आपूर्ति गराउन आफूहरु लागि परेको बताउँछन् । औषधि दिन नसकेको उनले स्वीकार गरे । प्रत्यक्ष रुपमा बिरामी प्रभावित भएको विषयमा थप बुझ्ने न्यौपानेको भनाइ छ । बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला औषधि उपलब्ध नगराएर रकम दाबी गर्न नपाउने बताउँछन् । यस विषयमा प्रत्यक्ष रुपमा अस्पतालमा कर्मचारी पठाएर बुझ्ने उनको भनाइ छ । सरकारी अस्पतालले राम्रो गर्छन् भन्ने उद्देश्यका साथ बीमा कार्यक्रमको पहिलो विन्दु सरकारी अस्पताल बनाइएको भन्दै उनले बिरामी र बोर्ड कोही पनि ठगिन नहुने बताए । भरतपुर अस्पताल यस क्षेत्रमा बीमामा धेरै दाबी गर्ने अस्पताल पर्दछ । यस अस्पतालले मासिक दुई करोड भन्दा बढी बीमाबाट रकम दाबी गर्दछ । रासस
बीमा कम्पनीहरुलाई समितिको पत्रः निर्देशन हुबहु लागू गर्नुहुन्छ कि कारबाही भोग्ने ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले ट्यारिफ विजनेसमा अस्वस्थ प्रतिस्पर्धा गरेपछि बीमा समितिले कारबाहीको चेतावनी दिएको छ । समितिले तोकेका दरमा फरक पारेर अस्वस्थ प्रतिस्पर्धा गरेको फेला पारेपछि समितिले कम्पनीहरुलाई पत्राचार गरी कारबाहीको चेतावनी दिएको हो । समितिले तोकेको दरमा फरक पारेमा बीमा ऐन अनुसार कारबाही हुने पत्रमा उल्लेख गरिएको छ । कतिपय निर्जीवन बीमा कम्पनीहरुले ट्यारिफ विजनेसमा दर फरक पार्ने र अस्वस्थ प्रतिस्पर्धा गर्ने गरेको पाइएपछि पत्र पठाइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘कतिपय निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमा, मोटर बीमा जस्ता ट्यारिफ विजनेसमा अस्वस्थ्य प्रतिस्पर्धा गरेको भेटियो, कतिपयले क्यासब्याक जस्ता अफर गरेर दर नै परिर्वतन गर्ने गरेको पनि पाइयो, यस्तो तथ्य फेला परेपछि समितिले तोके अनुसार दर हुबहु लागू गर्न गराउन हामीले पत्राचार गरेका छौं,’ समितिका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने । समितिले गत साउन पहिलो साता नै कम्पनीहरुलाई यस्तो पत्र पठाएको थियो । समितिको पत्र प्राप्त भएपछि निर्जीवन बीमा कम्पनीहरुकाे संस्था नेपाल बिमक संघले नै संस्थागत रुपमा छलफल गरेको थियो । संघको छलफलमा समितिले तोके अनुसारको दर हुबहु लागू गर्ने सहमति भएर सोही अनुसार समितिमा पत्राचार गरिएको एक निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । ‘बीमा समितिले तोकेको भन्दा दर फरक गरी अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै समितिले पत्राचार गरेको थियो, यस्तो पत्रको बारेमा हामीले संस्थागत छलफल गरेर नै समितिलाई संस्थागत रुपमै आश्वस्त पार्दा उचित हुन्छ भन्ने लाग्यो, त्यसो भएपछि हामीले संघको बैठक बसेर ट्यारिफ विजनेसनमा समितिले तोकेका दर हुबहु लागू गर्ने प्रतिबद्धता जनाएर पत्र पठाएका छौं,’ ती प्रमुख कार्यकारी अधिकृतले विकासन्युजसँग भने । संघले पत्र पठाएको भएपनि समितिले स्थलगत निरीक्षण गरी सोको अध्ययन गर्ने समितिले जानकारी दिएको छ । ‘संघको तर्फबाट पत्र आएको छ, अब हामी सो विषयलाई स्थलगत अध्ययनको क्रममा गम्भीरतापूर्वक हेर्छौं, दरमा फरक पारिएको फेला पर्यो भने बीमा ऐनको व्यवस्था अनुसार कारबाही हुन्छ, जुन कुरा हामीले पत्र पठाएकै बेलामा पनि स्पष्ट पारिसकेका छौं,’ कार्यकारी निर्देशक पौडेलले भने ।
बैंकिङ कसुर मुद्दा खेपिरहेका गणेश लम्साल नेको इन्स्योरेन्सको डेपुटी सीईओ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा सहकर्मी साथीहरु मुद्दा झेलिरहदा एक जना कर्मचारीले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पद पाएका छन् । करिव २ वर्षअघि बैंक अफ काठमाण्डूको कर्जा दुरुपयोग गरेको अभियोगका बैंकका प्रमुख कार्यकारी अधिकृत अजेय श्रेष्ठसहित ११ जना जेलमा परेका थिए । जग्गाको झुठो विवरण पेश गरी बैंक अफ काठमाडौं लिमिटेडलाई २ करोड ५० लाख १२ हजार ९७ रुपैयाँ बराबरको हानी नोक्सानी पुर्याउने कार्यमा संलग्न ११ जनालाई विभिन्न मिति र स्थानबाट केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । त्यसमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजेय श्रेष्ठ, गणेश लम्साल, किरण बोहोरा, ऋचा श्रेष्ठ, , सुष्म शाह र पुष्पराज भण्डारी पक्राउ परेका थिए । त्यसमध्ये अरु सबैजना अहिले पनि उक्त मुद्दा खेपिरहेका छन् । लम्सालले नेको इन्स्योरेन्समा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् । बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिकामा कुनै पनि प्रकारको कसुर लागेको व्यक्ति बीमकका अध्यक्ष, सञ्चालक, कार्यकारी प्रमुख, उपप्रमुख हुन रोक लगाइएको छ । तर नेको इन्स्योरेन्सले उक्त व्यवस्थालाई उल्लंगन गर्दै बैकिङ कसुर मुद्दा खेपिरहेको व्यक्तिलाई डेपुटी सीईओ बनाएको हो । लम्सालमाथि मुद्दा परेको तर दोषी ठहर नभएकोले कम्पनीले डेपुटी सीईओ बनाएको नेकोका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताए । नेपाल प्रहरीको प्रमुख अनुसन्धान गर्ने निकाय केन्द्रीय अनुसन्धान ब्यूरोले लगाएको बैकिङ कसुरको मुद्दालाई सीईओ खड्काले सामान्य व्यक्तिले लगाएको आरोपसँग तुलना गर्दै आरोप लाग्दैमा अवसरबाट बञ्चित गर्नु नहुने तर्क गरे । लम्साल सहित बैकिङ कसुर मुद्दा लागेको सबै जना अदालतमा बैंक धरौटी बुझाएर अदालतको बोलाएको बेलामा उपस्थिति हुने गरी छुटेका हुन् ।