राष्ट्रिय बीमा संस्थानले बोलायो एजीएम, आव २०६६/६७ देखिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले भदौ २६ गते वार्षिक साधारण सभा (एजीएम) आव्हान गरेको छ । संस्थानले आफ्नो ३१औं वार्षिक साधारण सभा सो दिन दिउँसो २ बजे काठमाडौंको रामशाहपथस्थित प्रधान कार्यालयमा बोलाएको हो । सभाले गत १२ वटा आर्थिक वर्षदेखिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै छ । कम्पनीका सञ्चालक समितिको तर्फबाट संस्थानका अध्यक्षले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । त्यस्तै, सभाले सोही तीन आवको लेखा परीक्षण भएको लेखा परीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्नेछ । त्यसैगरी, सभाले आर्थिक वर्ष २०७२/७३, २०७३/७४ र २०७४/७५ को लेखापरीक्षक सीए नन्दकिशोर शर्मा र सीए केशबप्रसाद न्यौपानेको संयुक्त नियुक्ति तथा प्रारिश्रमिक अनुमादेन गर्नेछ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको भदौ ६ गतेदेखि भदौ २६ गतेसम्म बुक क्लोज हुने छ ।

सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराए

लहान  । सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । जिल्लामा गत वर्षको फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको थियो । त्यस्ता हालसम्म ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका हुन् । स्वास्थ्य बीमा बोर्ड लहानका दर्ता अधिकारी पशुपति नारायण चौधरीका अनुसार सिरहामा २८ हजार ९५७ पुरुष र २८ हजार २१६ महिला गरी कूल ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । कार्यालयमा बीमा दर्ताका लागि थप करिब १० हजार आवेदन आइसकेको र अब ती सबै आवेदन दर्ताको तयारी भइरहेको दर्ता अधिकारी चौधरीले जानकारी दिए । बीमा गराएकामध्ये हालसम्म सिरहामा करिब १२ हजार वीमितले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको जनाएको छ । यस्तै विगत एक वर्षदेखि लागू भएको सप्तरीमा २४ हजार १८५ जनाले बीमा गराएको छ । सप्तरीमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बीमा बोर्ड लहान शाखाले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै वीमितको नाम दर्ताको कार्य गर्दै आएको छ । प्रत्येक वडामा एक/एक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुका साथै बीमा गराउनेको नाम दर्ताको कार्य भइरहेको चौधरीले बताए । सहजकर्तामार्फत दर्ता भएको वीमितको नामलाई प्रत्येक तीन/तीन महिनामा कम्प्युटरमा दर्ता गर्ने गरिएको र अहिले नाम दर्ता हुने वीमितले बीमा सेवा पाउने गरेको दर्ता अधिकारी चौधरीको भनाइ छ । पाँच जनाको परिवारले वार्षिकरुपमा प्रतिपरिवारले तीन हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारबापत वार्षिक एक लाखसम्मको स्वास्थ्य उपचार गराउन पाइने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएका परिवारका थप प्रतिसदस्यले वार्षिक ७०० का दरले प्रिमियम तिर्नुपर्ने र सुविधा थैलीमा २० हजार थपिने जनाएको छ । रासस

तीन निर्जीवन बीमा कम्पनीः जो भित्रिए अर्ब क्लबमा

काठमाडौं । बजारमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका तीन कम्पनी अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार तीनवटा निर्जीवन बीमा कम्पनी अर्ब क्लबमा छिरेका हुन् । सो वित्तीय विवरण अनुसार यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल), अजोड र एभरेष्ट इन्स्योरेन्सले एक अर्ब बढी कूल बीमाशुल्क आर्जन गरेका छन् । यसअघि उनीहरु करोड क्लबमा मात्रै रहेका थिए । जसमध्ये सबैभन्दा बढी प्रिमियम अजोड इन्स्योरेन्सले संकलन गरेको छ । अघिल्लो वर्षको असार मसान्तमा ८८ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको कम्पनीले गत आवको सोही अवधिमा एक अर्ब ३० करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । जुन ४७.७३ प्रतिशतले बढी हो । त्यस्तै, यूनाईटेड इन्स्योरेन्सले पनि एक अर्ब ५ करोड रुपैयाँ बराबरको कूल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५२.१७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष इन्स्योरेन्सले ६९ करोड रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको थियो । त्यसैगरी, अर्ब क्लबमा प्रवेश गर्न सफल भएको एभरेष्ट इन्स्योरेन्सले गत एक वर्षमा १ अर्ब १ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०.९९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ९१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । १४.९३ प्रतिशतले बढ्यो निर्जीवन बीमा व्यवसाय समग्रमा एक वर्षको अवधिमा निर्जीवन बीमा व्यवसाय १४.९३ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेको २० कम्पनीमा ओरियन्टल इन्स्योरेन्सबाहेक बाँकी १९ वटा कम्पनीले औषतमा सो मात्राको वृद्धि हासिल गरेका हुन् । अघिल्लो वर्षमा कूल २६ अर्ब ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका उक्त कम्पनीहरुले गत आवमा कूल ३० अर्ब ४१ करोड रुपैयाँ आर्जन गर्न सफल भएका हुन् । जसमध्ये सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ । योभन्दा अघिल्लो वर्षमा पनि उच्च बीमाशुल्क संकलन गरेको कम्पनीले गत एक वर्षमा ३ अर्ब ९२ करोड रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ११.३६ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवमा ३ अर्ब ५२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, सगरमाथा, नेको, सिद्धार्थ र एनएलजी इन्स्योरेन्सले २ अर्ब बढी बीमाशुल्क आर्जन गरेर दुई अर्बको क्लबमा रहेका छन् । यसअघि एक अर्बको क्लबमा रहेको एनएलजी इन्स्योरेन्स यो पटक भने दुई अर्ब क्लबमा प्रवेश गर्न सफल भएको छ । १ अर्ब ७३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको कम्पनीले गत आवमा २ अर्ब ८ करोड रुपैयाँ प्रिमियम उठाएको छ । जुन एक वर्षको तुलनामा २०.२३ प्रतिशतले बढी हो । त्यस्तै, विभिन्न ११ वटा कम्पनीले एक अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । र, बाँकी तीन वटा कम्पनी भने करोडौंकै क्लबमा रहेका छन् । नेशनल, जनरल र सानिमा जनरल इन्स्योरेन्सले क्रमशः ७६ करोड, ६५ करोड र ६५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । उता ओरियन्टल इन्स्योरेन्सले भने हालसम्म गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको छैन ।