नेपाल इन्स्योरेन्सको नाफा ३३ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल इन्स्योरेन्सको खुद नाफा ३२.९९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २६ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३४ करोड ८७ लाख रुपैयाँ कमाउन सफल भएको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले १ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.५७ प्रतिशतले बढी हो । इन्स्योरेन्सले अघिल्लो आवको असार मसान्तसम्ममा एक अर्ब १८ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, इन्स्योरेन्सले खुद बीमाशुल्कमा ६.७० प्रतिशतले वृद्धि गरि ७१ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २८.०७ रुपैयाँ, पीई अनुपात ३६.४० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८१.८१ रुपैयाँ रहेको छ । एक अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा ४२ करोड ६ लाख रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, बीमा कोषमा ५९ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले यस अवधिमा १ लाख ४५ हजार २०८ वटा बीमालेख जारी गरी एक अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ५ हजार ६७५ वटा कुल दावी बापत ६० करोड ७ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ३ हजार ६६९ वटा दाबी बापत १ अर्ब ९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

आईएमई जनरल इन्स्योरेन्सको बीमाशुल्क साढे एक अर्ब बढी, प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक अर्ब ५२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.१२ प्रतिशतले बढी हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब ३६ करोड रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अविधमा इन्स्याेरेन्सकाे खुद बीमाशुल्क भने  ५८ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १४.०६ प्रतिशतले बढी हो । खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि ११.६० प्रतिशतले बढेको छ । अघिल्लो आवमा २१ करोड २ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको इन्स्योरेन्सले गत आवमा २३ करोड ४३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । यस्तै, कम्पनीले पुनर्बीमा कमिशन वापत २३ करोड ६३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ६ करोड रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड ९९ लाख रुपैयाँ र बीमा कोषमा ४७ करोड ६२ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २०.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६२.७४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.६४ गुणा बढी छ । कम्पनीले यस अवधिमा १ लाख २८ हजार ०५५ वटा बीमालेख जारी गरी एक अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ४ हजार ९५५ वटा कुल दावी बापत ७३ करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ७ हजार ७६१ वटा दाबी बापत १ अर्ब २७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

एशियन लाईफ इन्स्योरेन्सको सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । कम्पनीको १२औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र साधारण सेयरधनीको तर्फबाट २ जनालाई सर्वसम्मत निर्वाचित गरेको हो । नवनिर्वाचित संचालकहरुमा संस्थापक सेयरधनीको तर्फबाट दिपककुमार श्रेष्ठ, सुरेन्द्रकुमार गोयल, सुशान्त चाचान र निष्ठा प्रधानाङ्ग राजभण्डारी निर्वाचित भएका छन् । साधारण सेयरधनीहरुको तर्फबाट शौरभ रुंगटा र सजल मास्के निर्वाचित भएका छन् । यससँगै उनीहरुले आगामी ४ वर्षसम्म कम्पनीको सञ्चालक समिति सदस्य पदको जिम्मेवारी सम्हाल्नेछन् । कम्पनीको १२औं वार्षिक साधारण सभा बाराको सिमरा स्थित होटल क्लासिकमा साउन ३१ गते आइतबार सम्पन्न भएको हो । सभाले संचालक समितिको तर्फबाट अध्यक्ष दिपककुमार श्रेष्ठले पेश गरेका आ.व.२०७५।०७६ को वार्षिक प्रतिवेदन बहुमतले अनुमोदन गरेको छ । कम्पनीले २०६४ साल चैत २१ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको छ । गत असार मसान्तसम्ममा कम्पनीको २६ अर्ब ४८ करोड ७७ लाखको जीवन बीमा कोष र २४ अर्ब ७२ करोड १५ लाख रुपैयाँ लगानी तथा कर्जामा रहेकोे छ । त्यसैगरी, कम्पनीले यो अवधिसम्ममा कूल २९ अर्ब ५३ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरिसकेको छ । कम्पनीले हाल ४२ वटा शाखा तथा १०६ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २३ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । आगामी दिनहरुमा नेपालको ७७ जिल्लाको अधिकांश गाउँहरुमा समेत जीवन बीमाको पहुँच पुर्याई सर्वसुलभ बीमा सेवा प्रदान गर्ने तथा समय सापेक्ष र आकर्षक तथा नयाँ बीमा योजनाहरु ल्याउने कम्पनीको योजना रहेको छ ।