नेशनल लाइफ इन्स्योरेन्स र दुई लघुवित्तका सञ्चालकले दिए राजीनामा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्ससहित तीन कम्पनीका सञ्चालकले राजीनामा दिएका छन् । नेशनल लाइफ इन्स्योरेन्स, ग्लोबल आईमएई लघुवित्त वित्तीय संस्था र ईन्फिनिटी लघुवित्त वित्तीय संस्थाका १/१ जना सञ्चालकले आफ्नो पदबाट राजिनामा दिएका हुन् । जसमध्ये नेशनल लाइफका संस्थापक समूहबाट निर्वाचित सञ्चालक राजिव विक्रम शाहले राजीनामा दिएका हुन् । असार २८ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनालाई स्वीकृत गरेको हो । त्यस्तै, ग्लोबल आईएमई लघुवित्तका सञ्चालक परमेश्वर श्रेष्ठले संस्थाको सञ्चालक पदबाट राजीनामा दिएका छन् । उनले ग्लोबल आईएमई बैंकको तर्फबाट प्रतिनिधि सञ्चालकको रुपमा लघुवित्तमा प्रतिनिधित्व गरिरहेका थिए । असार २९ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामालाई स्वीकृत गरेको हो । त्यसैगरी, इन्फिनिटी लघुवित्तका सञ्चालक संगिता कडरियाले पनि राजीनामा दिएकी छिन् । व्यक्तिगत कारणले दिएको उनको राजीनामालाई असार ३० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
चितवनकाे खैरहनी नगरपालिकामा निःशुल्क कृषि बीमा
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाभित्रका किसानले निःशुल्क कृषि बीमा गर्न पाएका छन् । बीमा गरेवापत लाग्ने प्रिमियम रकम नगरपालिकाले किसानलाई उपलब्ध गराएको हो । चालु आर्थिक वर्ष २०७७/७८ देखि यो कार्यक्रम लागू गरिएको हो । किसानले उत्पादन गरेको तरकारीलगायत अन्य बालीमा प्राकृतिक प्रकोप आदिका कारण क्षति हुने समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले निःशुल्क कृषि बीमा गर्ने कार्यक्रम ल्याएको नगरप्रमुख लालमणि चौधरीले बताए । हावाहुरी, असिनापानीका कारण प्रत्येक वर्षजसो क्षति बेहोर्दै आएका यहाँका किसानलाई राहतस्वरूप बीमा कार्यक्रम लागू गरिएको हो । प्रकृतिलाई कसैले रोक्न नसक्ने भन्दै प्रमुख चौधरीले भने, ‘आफ्नो बालीको बीमा गरे, त्यस्ता घटनाबाट हुने क्षतिमा राहत मिल्छ ।’ बीमाले जोखिमबाट किसान मुक्त हुने नगरप्रमुख चौधरीको विश्वास छ । दुई वर्षअघि असिनापानी र हावाहुरीका कारण सयौँ किसानको बालीमा क्षति पुगेपछि नगरपालिकाले मूल्याङ्कन गरेर राहत उपलब्ध गराएको थियो । बीमा कार्यक्रम ल्याएपछि पहिलो चरणमा १२ किसानले प्रिमियम रकम पाएका छन् । प्रिमियम रकम प्रदान गरेको थाहा पाएपछि थप केही किसानले समेत बीमा गरेको कागजपत्र पेश गरेका छन् । बाह्र किसानलाई बीमा गरेवापत रु ४५ हजार उपलब्ध गराइएको हो । नगरपालिकाका कृषि शाखा प्रमुख दीपेन्द्र अर्यालका अनुसार तरकारी, फलफूल, खाद्यान्न आदि बालीमा बीमा गर्दा सङ्घीय सरकारबाट किसानले प्राप्त गर्ने ७५ प्रतिशत प्रिमियममा अनुदान हुने व्यवस्था रहेकामा खैरहनी नगरपालिकाले २५ प्रतिशत किसानले तिर्नुपर्ने प्रिमियम शुल्कमा पनि अनुदान दिएर किसानले निःशुल्क बीमा गर्न सक्ने व्यवस्था मिलाएको हो । चालु आवमा प्रिमियम अनुदानमा चार लाख विनियोजन गरिएको थियो । सो बजेट आगामी आवका लागि वृद्धि गरी १० लाख यस कार्यक्रमलाई छुट्याइएको कृषि शाखा प्रमुख अर्यालले बताए । विभिन्न कारणबाट बालीमा हुने क्षति असरलाई न्यूनीकरण गर्ने तथा किसानलाई बाली बीमाप्रति आकर्षित गर्ने नगरपालिकाको योजना रहेको उनले जानकारी दिए ।
नेपाल लाइफ इन्स्योरेन्सबाट बिदा भए मेघेन्द्र प्रकाश गिरी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्र प्रकाश गिरी बिदा भएका छन् । विगत ४० महिनादेखि इन्स्योरेन्समा कार्यरत रहेका गिरी आजबाट औपचारिक रुपमा बिदा भएका हुन् । एनआईसी एशिया बैंक हुँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ र मिडियाको दुनियाँमा आफ्ने छुट्टै पहिचान बनाउन सफल गिरीले यस क्षेत्रमा दुई दशक पार गरिसकेका छन् । सिर्जनशिल सोचलाई व्यवहारमा उतार्न खप्पिस मेघेन्द्र प्रकाश गिरी नेपालको कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल पात्र मानिन्छन् । उनले हालै मात्र आफ्नै निर्देशन तथा योजनामा सन्देशमूलक भिडियो बनाएका थिए । उक्त भिडियो अहिलेको महामारीलाई मध्यनजर गर्दै सचेत बनौं! कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौं भन्ने सन्देश सहितको रहेको थियो । यस्तै, उनले यो अवधिसम्म साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेका बताएका छन् । ‘मेरो करियरको सुरुवातदेखि नै म र मेरो कर्मक्षेत्रलाई यो उचाईसम्म पुर्याउनको लागि सदैव उत्साह, हौसला, सकारात्मक मार्ग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु । साथै, आगामी यात्रामा पनि यहाँहरुको निरन्तर विश्वास, सहयोग, सद्भाव एवं सत्मार्गको अपेक्षा गर्दछु ।’, बिँदा हुँदै गिरीले भने ।