२६ प्रतिशतले बढ्यो बीमा बजार, ११ हजारले पाए रोजगारी
काठमाडौं । नेपालको बीमा बजार एक वर्षमा २६.१८ प्रतिशतले बढेको छ । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७७/७८ मा बीमा बजार सो मात्राले बढेको हो । समितिले दिएको तथ्याङ्क अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीले गत असार मसान्तसम्ममा १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बराबरको कूल बीमाशुल्क आर्जन गरेका छन् । जसमध्ये जीवन बीमा कम्पनीले १ अर्ब २० अर्ब ९५ करोड र निर्जीवन बीमा कम्पनीले ३१ अर्ब ७० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः २७.१२ प्रतिशत र २२.७४ प्रतिशतले वृद्धि हो । कुल ग्राहास्थ उत्पादनमा कूल बीमाशुल्कको योगदान (प्रचलित मूल्यमा) ३.५८ प्रतिशत रहेको छ । त्यस्तै, जनसंख्याको आधारमा बीमाको पहुँच (बैदेशिक रोजगार बीमा समेत) २७ प्रतिशत र बैदेशिक रोजगार बीमा बाहेक २४.७६ प्रतिशत रहेको समितिले जनाएको छ । हाल बीमा क्षेत्रमा कूल १० हजार ७५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यस्तै, बीमा सर्भेयर करिब ४०० जना र बीमा अभिकर्ता करिब साढे २ लाख रहेका छन् । नेपालमा हाल ४१ वटा कम्पनीले बीमा व्यवसाय गरिरहेका छन् । जसमा १९ वटा जीवन, २० वटा निर्जीवन र २ वटा पुनर्बीमा कम्पनी रहेका छन् । जसमध्ये जीवन बीमा कम्पनीको चुक्ता पुँजी कूल ३८ अर्ब २१ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको समितिले जनाएको छ ।
नेशनल लाईफ दोश्रो स्थानमा उक्लियो, कूल बीमाशुल्क १२ अर्ब माथि
काठमाडाैं । जीवन बीमा व्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनी मध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो । कूल बीमाशुल्क १२ अर्ब १६ करोड सहित प्रथम बीमाशुल्क चार अर्बभन्दा माथि पुर्याउन सफल भएको छ । बीमा समितिको सुत्र अनुसार एलआइसी नेपालको प्रथम बीमाशुल्क ३ अर्ब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा रहेको छ भने युनियन लाईफको ३ अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ । आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशतभन्दा बढि प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै, कम्पनीकाे नविकरण बीमाशुल्क समेत उल्लेख्य रुपमा वृद्धि भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बीमाशुल्क संकलन गरेकोमा गत आ.व.मा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको थियाे । सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अब नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अर्ब ८४ करोड कूल बीमाशुल्क आम्दानी गरेको छ ।
युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि युनियन लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । इन्स्योरेन्सले २०७८ साउन १ गतेदेखि लागू हुने गरी २ वर्षको लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यससँगै, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।