पुनर्बीमा कम्पनी दर्ताको प्रस्ताव पेश गर्न ७ दिन बाँकी, अहिलेसम्म परेन प्रस्ताव, समय थपिन्छ ?
काठमाडौं । बीमा समितिले थप एउटा नयाँ पुनर्बीमा कम्पनी दर्ताको लागि मागेको प्रस्तावको म्याद सकिन लागेको छ । अब १ साता मात्रै म्याद बाँकी छ । समितिले बैशाख १६ गते सार्वजनिक सुचना प्रकाशित गरी नयाँ थप एउटा पुनर्बीमा कम्पनी स्थापनाको लागि शिलबन्दी प्रस्ताव माग गरेको थियो । समितिले पहिलो पटक सुचना प्रकाशित भएको मितिले २१ दिनको १२ बजेभित्र प्रस्ताव पेश गर्न भनिएको थियो । समितिले मागेअनुसार प्रस्ताव पेश गर्ने मिति नजिकिए पनि अहिलेसम्म कुनै पनि नयाँ प्रस्ताव प्राप्त नभएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । समितिले दिएको म्याद अझै बाँकी भएकोले अहिले नै प्रस्ताव नआएको हुन सक्ने अध्यक्ष सिलवालको भनाई छ । अहिले सरकारी लगानी पनि भएको एउटा मात्रै पुनर्बीमा कम्पनी (नेपाल पुनर्बीमा कम्पनी) संचालनमा छ । एउटा मात्रै कम्पनी हुँदा बजारमा एकाधिकार भएको तथा सो कम्पनीले अन्तराष्ट्रिय बजारमा प्रवेश गर्नको लागि खासै पहल गर्न नसकेको गुनासो आएपछि समितिले पुनर्बीमा बजारलाई प्रतिस्पर्ध बनाउन भन्दै अर्काे थप एउटा कम्पनी संचालनको अनुमति दिनेगरी प्रस्ताव मागेको थियो । थपिन्छ समय ? समितिले पुनर्बीमा कम्पनी संचालन गर्नको लागि प्रस्ताव माग गर्दै बैशाख १६ गते सार्वजनिक सुचना प्रकाशित गरेको थियो । नेपालमा कोभिड महामारीको दोस्रो लहर चलेसँगै सरकारले सोही दिनदेखि काठमाडौं उपत्यकासहित देशभरका प्रमुख शहरहरुमा निषेधाज्ञा जारी गरेर सर्वसाधारणको हिड्डुलमा कडाई गरेको थियो । बैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा अहिले पनि जारी छ । गृहमन्त्रालयका अनुसार अहिले देशका ७० भन्दा बढी जिल्लाहरुमा आशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । कोभिड संक्रमण अनियन्त्रित रुपमा बढेर भयावह अवस्था आएको छ । सरकारले जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बाउने निर्णय सार्वजनिक भइसकेको छ । सरकारको निर्णय अनुसार बीमा समितिले बीमा कम्पनीहरुका काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालयहरु बन्द गराउन परिपत्र गरिसकेको छ । यस्तो अवस्थामा पुनर्बीमा कम्पनी संचालनको लागि प्रस्ताव पेश गर्ने म्याद थप हुन्छ कि हुन्न भन्ने चासो बढेको छ । तर, समितिका अध्यक्ष सिलवाल म्याद थप नहुने बताउँछन् । ‘हामीले दिएको म्याद अझै बाँकी छ, बीमा समिति खुल्लै छ, बीमा कम्पनीहरुका शाखा कार्यालयहरु मात्रै बन्द गर्न भनिएको हो, कर्पाेरेट कार्यालयहरु खुल्लै छन्, कुनै पनि कार्यालय बन्द भएका छैनन्, सिमित कर्मचारीबाट सेवा संचालन गर्नु भन्ने सरकारको निर्णय छ, नयाँ पुनर्बीमा कम्पनी संचालनको लागि भन्दै ५/६ वटा कम्पनी आन्तरिक तयारीमा थिए भन्ने सुनिन्छ, उहाँहरुको तयारी पूरा भएको होला, समय थप हुँदैन, तोकिएको समयभित्र प्रस्ताव आयो भने हामी त्यसलाई आवश्यक कारबाहीको लागि अघि बढाउँछौं, प्रस्ताव आएन भनेर समय थप गर्ने भन्ने हुँदैन,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने । हामीले मर्न होइन व्यवसाय गर्न चाहेका हौंः लगानीकर्ता नयाँ पुनर्बीमा कम्पनी स्थापनको गृहकार्य गरिरहेका लगानीकर्ताले भने अहिलेको विषय परिस्थितिमा समय थप गर्नुपर्ने धारणा राखेका छन् । कोभिड महामारी नियन्त्रण र रोकथामको लागि सरकारले निषेधाज्ञा जारी गरेर हिड्डुल गर्न कडाई गरेको र महामारीको अवस्था भयावह भएकोले समय थप गर्नुपर्ने उनीहरुको भनाई छ । ‘समितिले चुक्ता पुँजी १० अर्ब रुपैयाँ चाहिन्छ भनेको छ, हामी त्यो पुर्याउन तयार छौं तर, प्रस्तावित कम्पनीको प्रबन्धपत्र र नियामावलीमा सबै संस्थापकले हस्ताक्षर गर्नुपर्छ, हाम्रा लगानीकर्ताहरु देशका विभिन्न स्थानमा हुनुहुन्छ, यस्तो बेलामा कसलाई कहाँ बोलाएर कसरी हस्ताक्षर गराउने ? एकातिर सरकारले निषेधाज्ञा जारी गरेर हिड्न दिएको छैन, लुकिछिपी हिडौं भने पनि कोभिड संक्रमण भएर मरिएला कि भन्ने त्रास छ, हामीले मर्न होइन, व्यवसाय गर्न चाहेका हौं तर, समितिले म्याद थप नगर्ने हो भने नयाँ पुनर्बीमा कम्पनी संचालन गर्न चाहन्छौं भने कोभिड संक्रमणबाट मर्न पनि तयार हौ भन्ने जस्तो सन्देश प्रवाह भयो, त्यसैले हाम्रो अभिभावक तथा राज्यको जिम्मेवार निकाय भएकोले समितिले म्याद थप गरेर सहजीकरण गरिदिनु पर्छ,’ प्रस्तावित एक पुनर्बीमा कम्पनीका एक लगानीकर्ताले भने ।
नेशनल लाइफ इन्स्योरेन्सले ९ महिनामै आर्जन गर्यो साढे ८ अर्ब रुपैयाँ बढी खुद बीमाशुल्क
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ अर्ब ६९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५३.६८ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ अर्ब ६५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा सामान्य वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्ममा ३१ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोषमा ४० अर्ब २१ करोड रुपैयाँ, जगेडा कोषमा ८१ करोड १७ लाख रुपैयाँ र महाविपत्ती कोषमा २९ करोड रुपैयाँ सञ्चित रहेको छ । समिक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.३८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९१.०१ गुणा रहेको छ ।
९ महिनामा एनएलजी इन्स्योरेन्सको खुद नाफा ३५ प्रतिशतले बढ्यो, बीमाशुल्क आर्जनमा पनि सुधार
काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक पहिलो ९ महिनामा २१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३५.२२ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफासँगै खुद बीमाशुल्कमा पनि वृद्धि भएको छ । कम्पनीले चालु आवको चैत मसान्तसम्ममा ८५ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३६.२६ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ६२ करोड ६५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २५.८८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३३.७८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.९४ गुणा बढी छ । त्यस्तै, कम्पनीले पुनर्बीमा कमिशनबाट २२ करोड ५४ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ७ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जगेडा कोषमा ४२ करोड २८ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब २७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड १२ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले १ लाख ६८ हजार २२८ वटा बीमालेख जारी गरी कुल १ अर्ब ६९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, ६ हजार १९४ वटा दाबी बापत १ अर्ब ७ करोड ७६ लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीले ६ हजार १३० वटा दाबी बापत ९८ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको वित्तीय विवरणमा उल्लेख छ ।