मेटलाइफ नेपालद्वारा सर्पदंश नियन्त्रणका लागि सहयोग, झापामा जनचेतना अभियान सुरु

झापा । मेटलाइफ नेपालले झापास्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गर्दै ग्रामीण क्षेत्रमा बढ्दो सर्पदंशको जोखिम नियन्त्रण गर्न सहयोग गरेको छ । कम्पनीले यसलाई कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको महत्वपूर्ण पहलका रूपमा अघि सारेको हो । झापाको कृषिमुखी जीवनशैली र बढ्दो तापक्रमका कारण यहाँका ग्रामीण समुदाय सर्पदंशको उच्च जोखिममा रहेको बताइएको छ । नेपालमा हरेक वर्ष सयौं मानिसको ज्यान जाने सर्पदंशलाई गम्भीर सार्वजनिक स्वास्थ्य समस्या मानिन्छ । सीमित जनचेतना, समयमै उपचार नपाइनु र स्वास्थ्य सुविधाको कमीले मृत्यु दर अझै उच्च रहेको विशेषज्ञहरूको भनाइ छ । यस पहलमार्फत समुदायमा सर्पदंश रोकथाम र तत्कालीन उपचारबारे जनचेतना अभिवृद्धि गर्ने, ग्रामीण बासिन्दालाई उपचार सेवामा सहज पहुँच उपलब्ध गराउने र सर्पदंशजन्य मृत्यु कम गर्ने लक्ष्य राखिएको छ । मेटलाइफ नेपालले जनचेतना अभियान, रोकथामका उपायहरूको प्रवर्द्धन र जीवनरक्षक उपचारमा सहज पहुँच सुनिश्चित गर्न योगदान पुर्‍याउने जनाएको छ । 'सर्पदंश ग्रामीण नेपालमा गम्भीर तर प्रायः बेवास्ता गरिने सार्वजनिक स्वास्थ्य समस्या हो। कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गरेर हामी समुदायलाई सर्पदंशबाट बच्न आवश्यक ज्ञान मात्र नभई समयमा उपचारमा सहज पहुँच दिलाउन प्रतिबद्ध छौँ,' मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने ।

बीमाका ब्राण्ड, सफलताका पर्याय

काठमाडौं । सफलता ठूलो सपना देखेर मात्र प्राप्त हुँदैन । त्यसका लागि मिहिनेत, अनुशासन र धैर्यता अनिवार्य हुन्छ । यदि दुर्गाप्रसाद पाण्डेले आफ्नो छोरालाई अनुशासनसहित स्वतन्त्रता दिएर हुर्काएका थिएनन् भने सायद दीपप्रकाश पाण्डे आजको दिनमा बीमा क्षेत्रमा यसरी चम्किन पाउँदैनथे । दरबार र सिंहदरबारसँग निकट सम्बन्ध भएको परिवारमा जन्मिए पनि उनले सरकारी जागिर वा राजनीतिज्ञ बन्ने बाटो रोजेनन् । उनले सधैं आफ्नै क्षमतामा विश्वास गरे ।  बुवाबाट प्राप्त स्वतन्त्रता, आमाबाट सिकेको अनुशासन र दाईबाट पाइरहेको प्रेरणाले उनलाई बीमा क्षेत्रको उचाइमा पुर्यायो । अँध्यारोमा दीपले जस्तै प्रकाश दिने नाम बने- दीपप्रकाश पाण्डे । आज उनी नेपालको बीमा क्षेत्रका पर्याय बनेका छन् भन्दा फरक नपर्ला ।  काठमाडौंमै जन्मिएका दीपप्रकाश राजधानीकै सुविधासम्पन्न परिवेशमा हुर्किए । उनका बुवा दुर्गाप्रसाद उच्च प्रशासनिक तहका जागिरे थिए । बुवाको पदका कारण सरकारी निवास, गाडी, सुरक्षाकर्मी जस्ता सुविधा परिवारले पायो । तर दुर्गाप्रसादले कहिल्यै सत्ताको दुरुपयोग गरेनन् । ‘बुवाले सरकारी गाडी कार्यालय समय बाहेक कहिल्यै प्रयोग गर्नुभएन,’ दीप सम्झन्छन्, ‘जति कडा उहाँ हुनुहुन्थ्यो, उतिकै मायालु पनि हुनुहुन्थ्यो ।’ बुबाको सरुवाकै कारण उनले बाल्यकालमै भारतको कोलकत्ता, नेपालकै विराटनगर र विरगञ्जमा बस्ने अवसर पाए । विभिन्न संस्कार र वातावरणमा हुर्कँदै उनले नयाँ जीवनशैली अनुभव गरे । एकातिर सरकारी निवास र सुरक्षा गार्डसहितको विलासी वातावरण, अर्कातिर घरभित्रको पुरानो पिर्कामा बसेर खाने संस्कार ।  दीपप्रकाशलाई पिर्कामा बसेर खाएको अहिले पनि खुबै याद आउँछ । यी सबै अनुभवहरूले उनको जीवनदृष्टि फराकिलो बनायो ।  साथीजस्ता बुवा, कोलकत्तामा पढाइ  दीपप्रकाशका लागि बाल्यकाल सधैं रमाइलो थियो । विशेषगरी बुवासँग बिताएका क्षण अझै उनको मानसपटलमा ताजै छन् ।  ‘बुवाले प्रायः कपालमा फुलेको सेतो रौँ टिप्न लगाउनुहुन्थ्यो,’ उनी स्मरण गर्छन्, ‘सुरुमा एक पैसा दिनुहुन्थ्यो, मैले पनि बार्गेनिङ गर्दै एक रुपैयाँसम्म पुर्याउँथे ।’ यस्ता साना रमाइला सम्झनाले उनलाई पैसाको मूल्य बुझ्न र मिहिनेतको महत्व थाहा पाउन सिकायो । बुवाले अनुशासनमा राखे पनि कहिल्यै जबर्जस्ती गरेनन् । ‘यही काम अनिवार्य गर्नुपर्छ भनेर दबाब कहिल्यै दिनुभएन,’ दीपप्रकाश भन्छन्, ‘त्यसैले आज म जहाँ छु, त्यो मेरा आमाबुवाको योगदानले छु ।’ उनले कोलकत्ताको सेन्ट जेवियर्स कलेजबाट व्यवस्थापनमा स्नातक गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर पूरा गरे । पढाइपछि केही समय ए लेभल र ओ लेभलका विद्यार्थीलाई पढाउँदै मासिक १२ हजारसम्म कमाइ गरे ।  दीपप्रकाशको यस्तो मोड तब आयो जब प्रेमलाई विवाहमा परिणत गर्न जागिर आवश्यक भयो । उनका ससुराुबवा नैनबहादुर स्वार (तत्कालीन गृहमन्त्री)ले ‘जागिर नभएको केटासँग छोरी नदिने’ अडान राखेपछि उनी जागिर खानुपर्ने बाध्यतामा परे ।  म एउटा जागिरेको छोरा । तर आज ६५० जनालाई रोजगारी दिने स्तरमा पुगेको छु, उनी गर्वका साथ भन्छन्, ‘यदि नेपालमा म जस्ता २ हजार मान्छे भए, देश अर्कै स्तरमा पुग्छ । त्यसपछि दीपप्रकाशले स्थायी जागिर खोज्न थाले । दाई बैंकर थिए । बैंकमा सजिलै प्रवेश गर्ने अवसर हुँदा पनि उनले आफ्नै प्रयासमा आवेदन दिए । अन्ततः उनले सन् १९९० को दशकमा एभरेष्ट इन्स्योरेन्समा फाइनान्स एडमिनिस्ट्रेसन म्यानेजरको रुपमा करिअर सुरु गरे । त्यही जागिरले उनले मन पराएको केटीसँग विवाहको ढोका खोलिदिएको मात्रै थिएन, जीवनको नयाँ दिशामै मोडिदियो । अहिले उनको दुइटा छोराछोरी छन् ।  छोरी यतिखेर बेलायतमा चिकित्साशास्त्रमा स्नातकोत्तर गर्दैछिन् । छोरा नेपालमै आलु चिप्स उद्योग सञ्चालन गर्दै व्यवसायमा लागेका छन् । ‘मैले व्यवसाय गर्ने सपना पुरा गर्न सकिनँ । तर, अब छोराले त्यो सपना पूरा गर्छ भन्ने विश्वास छ,’ उनी गर्वका साथ भन्छन् ।  ३२ वर्षको उमेरमै सीईओ एभरेष्ट इन्स्योरेन्समा दीपप्रकाशले मिहिनेत गर्दै गए । एभरेष्ट इन्स्योरेन्समा उनले १० वर्ष बिताए । त्यतिबेला नेपालमा बीमा क्षेत्र अझै बाल्यावस्थामै थियो । निजी क्षेत्रका जम्मा चार कम्पनी मात्रै थिए । बीमामा दक्ष जनशक्ति अभाव थियो ।  उनको मिहिनेत देखेर कम्पनीले उनलाई ३२ वर्षको उमेरमै एक्टिङ सीईओ बनायो । ‘यदि त्यतिबेला असफल भएको भए, म सायद आज यहाँ हुने थिइनँ,’ उनी भन्छन् ।’ १० वर्षमै कम्पनीलाई अग्रणी अवस्थामा पुर्याएपछि उनले नयाँ चुनौतीको खोजी गरे । एभरेष्टपछि उनको यात्रा शिखर इन्स्योरेन्ससँग जोडियो । सुरुमा जम्मा ५/६ शाखा भएको कम्पनीलाई उनले आज १२० भन्दा बढी शाखासहित देशकै अग्रणी कम्पनी बनाएका छन् । त्यसको प्रिमियम संकलन २० वर्षमा ७०/७२ करोडबाट बढाएर ६ अर्ब पुर्याएका छन् । शिखरले लगानीकर्तालाई राम्रो प्रतिफल दिइरहेको छ ।  उनलाई लामो समय सीईओमा निरन्तरता दिएको भन्दै आलोचना पनि भयो । त्यसको जवाफ दिँदै उनी भन्छन्, ‘संस्थालाई अझै मेरो आवश्यकता छ भने नेतृत्व गर्न म तयार हुन्छु ।’ बीमामा योगदान  दीपप्रकाशले बीमामा विभिन्न प्रडक्टहरूको परीक्षण गरे । कतिपय सफल भएनन् । कतिपय प्रडक्टले उनलाई बीमा क्षेत्रमा चिनयो, उनी बीमामा एक ब्राण्ड हुन् भन्ने बलियो आधारस्तम्भ तयार गर्यो । दीपप्रकाश भन्छन्, ‘हामीले गल्तीबाट पाठ सिक्दै अगाडि बढ्नुपर्छ ।’ उनको बुझाइमा संस्थाको सफलता एउटै व्यक्तिको नभई समूहको हुन्छ । त्यसैले उनी टिम वर्कमा जोड दिन्छन् । ‘मैले मेरो टिमलाई विश्वास गरेर एउटा सपना देखाउँछु,’ उनी भन्छन्, ‘म चाहिँ भाग्यमानी रहेछु, एउटा बलियो टिम मसँग छ ।’ आगामी तीन वर्षसम्ममा एक हजार करोड प्रिमियम पुर्‍याऔं भन्ने एउटा आँट, अठोट र साहस लिएर काम भइरहेको उनको भनाइ छ ।  ‘पहिले ६ सय करोड पनि पुग्छ कि पुग्दैन भन्ने सपना थियो त्यो अहिले पुरा भएको छ, अब हामी एक हजार करोडको प्रिमियम पुर्याउने योजनामा छौं,’ उनले भने ।  ६० वर्ष नजिकिँदै गर्दा पनि उनी सक्रिय छन् । सकारात्मक सोच, शान्ति र साधारण जीवनशैलीमा उनी विश्वास गर्छन् ।  ‘नेगेटिभ भाइब्समा अल्झिनु भन्दा पोजिटिभ भाइब्ससँग अघि बढ्नुपर्छ,’ उनी भन्छन् ।  पछिल्ला दिनमा दीपप्रकाशलाई घरमा परिवारसँग समय बिताउनु नै ठूलो खुसी लाग्छ । ‘परिवारसँग सँगै खान बस्न पाउँदा नै जीवनको सबैभन्दा ठूलो आनन्द मिल्छ,’ उनी भन्छन् ।  ‘म एउटा जागिरेको छोरा । तर आज ६५० जनालाई रोजगारी दिने स्तरमा पुगेको छु, उनी गर्वका साथ भन्छन्, ‘यदि नेपालमा मजस्ता २ हजार मान्छे भए, देश अर्कै स्तरमा पुग्छ ।’ 

क्रेस्ट माइक्रो लाइफको सेयर लकइन असोज ५ गते सकिने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर लकइन अवधि सकिने भएको छ । कम्पनीको सामूहिक लगानी कोषका लागि छुट्याएको सेयरको लकइन सकिने भएको हो ।  कम्पनीले ७५ करोड रुपैयाँमध्ये ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई बिक्री गरेको थियो ।  सामूहिक लगानी कोषलाई छुट्याएको सेयरको लकइन असोज ५ गते सकिने कम्पनीले जनाएको छ । त्यसपश्चात् उक्त सेयर साधारण सेयर सरह कारोबारमा आउनेछ ।