जीवन बीमाको महत्वसहित आईएमई लाइफले मनाइयो आठौँ वार्षिकोत्सव
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आठौँ वार्षिकोत्सवको अवसरमा देशव्यापी प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । 'स्वस्थ जीवनका लागि जीवन बीमा' भन्ने मूल सन्देशसहित काठमाडौंसहित सातै प्रदेशमा प्रभातफेरी आयोजना गरिएको हो । जीवन बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न उमेर समूहका ग्राहक, अभिकर्ता, सञ्चालक समिति, कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना शाखा कार्यालय तथा स्थानीय साझेदार संस्थासँग सहकार्य गर्दै वार्षिकोत्सवलाई स्वास्थ्य सचेतना र बीमा अभिवृद्धिको महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ । प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वास्थ्य र सुरक्षा दुवै जीवनको आधार भएको उल्लेख गर्दै, प्रभातफेरीमार्फत नागरिकलाई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्ने र जीवन बीमाको आवश्यकता तथा फाइदाबारे बुझाउने उद्देश्य राखिएको बताए ।
नेपाल पुनर्बिमा कम्पनीको स्वतन्त्र सञ्चालकमा किरण पौडेल
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा किरण पौडेल नियुक्त भएका छन् । गत साउन २९ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्यसमेत रहेका पौडेलले आगामी साधारणसभासम्मका लागि स्वतन्त्र सञ्चालक पदमा रहेर काम गर्नेछन् । यसअघि स्वतन्त्र सञ्चालक अनिता रायमाझी टण्डनले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएपछि पद रिक्त भएको थियो । टण्डनको राजीनामा वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो । त्यसपछि रिक्त पदमा पौडेललाई नियुक्त गरिएको हो ।
प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोषको आकार ३६.७५ प्रतिशत वृद्धि
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ४ अर्ब ३७ करोड २३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २२.८९ प्रतिशतले वृद्धि भएको हो । समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार ३६.७५ प्रतिशतले वृद्धि भएर १३ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो आवमा कम्पनीको जीवन बीमाकोषमा १० अर्ब ११ करोड रहेको थियो । गत वर्ष कम्पनीले ३७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा १.२५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष कम्पनीले ५ अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ४ अर्ब २३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२.२२ प्रतिशतले वृद्धि भएको हो । समिक्षा वर्षमा कम्पनीको सेयरपुँजी ५ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीको सञ्चित नाफा ५१ करोड ४१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, महाविपत्तिकोषमा ११ करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ७.२६ रुपैयाँ रहेको छ । प्रति सेयर नेटवर्थ ११५.९२ रुपैयाँ रहेको छ ।