अब घुम्त्ती बीमामा सरकारले सघाउँने, बन्द उद्योगको बीमा पोलिसीको म्याद लकडाउन भरी थपिने

काठमाडौं । सरकारले घुम्त्ती बीमा कार्यक्रम संचालन गरी कृषि तथा लघु उद्यम व्यवसायमा बीमाको पहुँच बढाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले सो कुरा बताएका हुन् । कोरोना महामारीका कारण संचालनमा आउँन नसकेका उद्योग प्रतिष्ठान तथा यातायातको बीमा पोलिसीको म्याद थपिने भएको छ । उक्त म्याद लक डाउनको अवधि भरी थपिने भएको हो ।  

३०० रुपैयाँमा १ लाखको कोरोना बीमा, पशुपन्छी बीमामा अनुदान वृद्धि

काठमाडौं । सरकारले १ लाख सम्मको कोरोना बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिने भएको छ । परिवारको बीमा गर्दा प्रतिव्यक्ति ६०० रुपैयाँ बीमा शुल्क लाग्दै आएकोमा अब ३०० रुपैयाँमा १ लाख रुपैयाँको कोरोना बीमा हुने भएको । त्यस्तै सरकारले पशुबाली बीमा शुल्कमा दिदै आएको अनुदान पनि वृद्धि गरेको छ । यसअघि सरकारले बीमा शुल्कको ७५ प्रतिशत अनुदान दिदै आएको थियो । अर्थमन्त्री युवराज खतिवडाले पशुबाली बीमा गर्दा लाग्ने शुल्कमा कति अनुदान बढाएको उल्लेख गरेनन् । तर बालीको बीमा शुल्क बाली पाकेपछि तिर्न मिल्ने व्यवस्था गरेको उनले बताए ।

४ लाख नागरिकले नि:शुल्क स्वास्थ्य बीमा पाउने

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ आर्थिक वर्षमा थप ४ लाख विपन्न परिवारका नागरिकलाई नि:शुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने भएको छ । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । यो आर्थिक वर्षमा ३ लाख जनालाई नि:शुल्क स्वास्थ्य बीमा लागू गरिएकोमा नयाँ आर्थिक वर्षमा थप ४ लाख विपन्न नागरिकलाई नि:शुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराइने उनले जानकारी दिए। यस्तै उनले कोरोना रोगको थप बीमा हुने बताएका छन् । उनले १ लाख रुपैयाँसम्मको वार्षिक कोरोना बीमा शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको जानकारी दिए। यस्तै, स्वास्थ्यकर्मी, महिला स्वयमंसेवीकाहरुको बीमा दायित्व शुल्क सरकारले व्यहोर्ने भएको छ ।