एक्सिलेन्ट सेक्युरिटि सर्भिसका सबै कर्मचारीको कोरोना बीमा प्रभु इन्स्योरेन्समा
काठमाडौं । एक्सिलेन्ट सेक्युरिटि सर्भिस प्रा.लि.ले आफ्ना सबै कर्मचारीहरुको कोरोना भाईरस (कोभिड १९) विरुद्धको बीमा गराएको छ । सेक्युरिटि सर्मिसले उनीहरुको स्वास्थ्यको ख्याल गर्दै प्रभु इन्स्यारेन्सबाट प्रतिकर्मचारी ५० हजार रुपैयाँका दरले कोरोना बीमा गराएको हो । प्रभु इन्स्यारेन्समा गराएको बीमाबाट सेक्युरिटि सर्भिसमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा बीमांक बराबरको रकम क्षतिपुर्ति प्रदान गरिनेछ ।
कोरोना बीमामा एकै पटक ठूलो संख्यामा दाबी परे पाइन्छ भुक्तानी ?
काठमाडौं । बीमा समितिको विशेष अग्रसरतामा आएको कोरोना बीमाको भविष्यलाई लिएर केही प्रश्न उठाउन थालिएको छ । पीसीआर पद्धतीबाट कोरोना संक्रमण पुष्टी हुने वित्तिकै बिमितलाई दाबी भुक्तानी दिने गरी ल्याइएको यो प्रडक्टमा जोखिम धेरै भएकोले चासो प्रकट भएको हो । अहिलेसम्म नेपालमा कोरोना पुष्टी भएका संक्रमितको संख्या ६ सयको हाराहारीमा छ । कोरोना बीमा गर्नेहरुमा संक्रमण पुष्टी हुनेको संख्या धेरै भएमा बीमा कम्पनीहरुले दाबी भुक्तानीमा समस्या पर्ने हो कि भनेर यो प्रडक्टबारे चासो देखाइएको हो । बीमा कम्पनीहरु भने एकै पटक धेरै बिमितहरुलाई दाबी भुक्तानी दिनु पर्ने अवस्था आए पनि समस्या नपर्ने बताउँछन् । नेपालमै पुल मार्फत बीमा गराइएको कारण यो प्रडक्टप्रति शंका गर्नेहरुले बीमा कम्पनीले एकैपटक धेरैलाई दाबी भुक्तानी दिनुपर्ने अवस्था आए कम्पनीको भविष्य के हुने भनेर शंका गरेका हुन् । कम्पनीहरुले कोरोना बीमा नाफाका लागि भन्दापनि बिमितहरुको सेवाका लागि ल्याइएकोले नाफा घाटाको हिसाव गर्नु उपयुक्त नहुने बताएका छन् । दाबी भुक्तानी प्रक्रिया कोरोेना बीमा हाल संचालनमा रहेका २० वटै निर्जीवन बीमा कम्पनीहरुबाट गर्न मिल्छ । जुनसुकै बीमा कम्पनीबाट बीमा गरिएको भए पनि दाबी भुक्तानीको लागि सबै निर्जीवन बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीले दायित्व बोकेका हुन्छन् । जुनसुकै बीमा कम्पनीबाट कोरोना बीमा गराए पनि बीमा शुल्क सबै निर्जीवन बीमा कम्पनीहरुले ४/४ प्रतिशतको दरले र पुनर्बीमा कम्पनीले २० प्रतिशत बीमा शुल्क लिन्छन् । र, दाबी भुक्तानीमा पनि यही प्रक्रिया अनुसार हुन्छ । त्यसैले बीमा दाबी भुक्तानीमा सबै बीमा कम्पनीहरुलाई समान दायित्व पर्छ । अहिले संचालनमा रहेको कोरोना बीमा पोलिसी ३ महिनाको लागि ल्याइएको हो । यो पोलिसी संचालनमा आएको करिब १ महिना पूरा भइसकेको छ । बीमा कम्पनीहरुले दिएको जानकारी अनुसार अब करिब २ महिनासम्म यही प्रकृयामा कोरोना बीमा हुन्छ । तर २ महिनापछिको अवस्था मूल्यांकन गरेर यो बीमालाई कुन रुपमा अगाडि बढाउने भन्ने निक्र्योल हुनेछ । बीमा समितिले पनि यो बीमालेख स्वीकृत गर्ने बेलामा नै प्रत्येक महिना यो बीमालेखको विषयमा पुनर्बिचार गर्ने जनाएको थियो । कम्पनीहरु कोरोना महामारीले एकसाथ जोखिम सिर्जना गरेको अवस्थामा समेत आफूहरुले सेवा दिन केही योजना बनाएका छन् । यो बीमालेख जारी गर्ने बेलामा सबै निर्जीवन बीमा कम्पनीको भागमा ४÷४ करोड रुपैयाँ तथा नेपाल पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँ दायित्व पर्दासम्म यो प्रडक्ट संचालन गर्ने गरी ल्याइएको बताइएको छ । यसरी दायित्व लिँदा १ अर्ब रुपैयाँ बीमा दाबी भुक्तानी गर्न सकिन्छ । कोरोना बीमामा २ प्रकारका बीमालेख छन् । एउटा प्रतिव्यक्ति ५० हजार रुपैयाँसम्मको दाबी भुक्तानी गर्न पाउने र अर्काे १ लाख रुपैयाँसम्मको दाबी भुक्तानी लिन पाइने गरी २ प्रकारका बीमालेख संचालनमा ल्याइएको हो । ५० हजार रुपैयाँको बीमा गर्न ६ सय रुपैयाँ तिर्नुपर्छ भने १ लाख रुपैयाँको बीमा गर्न १ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । बीमा शुल्क रकम एक पटक तिरेपछि एक वर्षलाई बीमा हुन्छ । एक अर्ब रुपैयाँसम्म दाबी भुक्तानीको लागि तयार भएर बीमा कम्पनीहरुले संचालनमा ल्याएको यो बीमालेखले १ लाख रुपैयाँको बीमा गर्ने १० हजार जनालाई र ५० हजारको बीमा गर्ने २० हजार जनासम्मलाई दाबी भुक्तानी दिन समस्या नपर्ने देखिएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार आगामी दिनमा स्थिति असहज बन्ने अनुमानका आधारमा अहिलेदेखि नै काम गर्न छाड्नु हुन्न भन्ने छ । ‘स्थिति कावु बाहिर जान पनि सक्ला, तर अहिले नै डराएर बीमा कोरोना बीमा नै रोक्ने भन्ने हुँदैन, बीमा कम्पनीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना बीमा गरेका हुन्, थेग्नै नसक्ने अवस्था आयो भने त्यही बेला छलफल गरौंला, अहिले नै आत्तिने बेला होइन,’ सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले विकासन्युजसँग भने । अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीका अनुसार तत्कालका लागि कोरोना बीमा गराउँदा भोलि निम्तिने सम्भावित संकटका लागि अहिले आत्तिनु पर्दैन । ‘बीमा कम्पनीहरुले पुनर्बीमा पनि गराउँने भएकाले कुनै पनि जोखिममा दाबी भुक्तानीको लागि आत्तिनु पदैन तर भोलि अवस्था तिनै विकराल बन्दै गयो त्यतिबेलै निर्णय हुन्छ, अहिले आत्तिनुपर्ने अवस्था छैन,’ अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले भने । कुन कम्पनीले कति उठाए बीमा शुल्क ? पछिल्लो समय बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार कोरोना भाईरस (कोभिड–१९) विरुद्धको बीमाबाट ८ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । सो बीमा गराउँने बिमितको संख्या भने १ लाख ५९ हजार छ । कोरोना बीमा पोलिसीबाट अजोड इन्स्योरेन्सले ५१ लाख ९३ हजार रुपैयाँ, आईएमई जनरलले ३६ लाख ५४ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले २५ लाख ७४ हजार, एनएलजी इन्स्योरेन्सले ६३ लाख ५० हजार, प्रिमियर इन्स्योरेन्सले २८ लाख ६६ हजार र सगरमाथा इन्स्योरेन्सले ६० लाख १२ हजार बीमाशुल्क आर्जन गरेका छन् । यस्तै, शिखर इन्स्योरेन्सले १ करोड ७५ लाख रुपैयाँ, लुम्बिनी जनरलले ४४ लाख ४६ हजार रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ३३ लाख ८१ हजार रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले २६ लाख ३८ हजार, सिद्धार्थ इन्स्योरेन्सले ७८ लाख ४९ हजार, नेको इन्स्योरेन्सले ४३ लाख ६ हजार, प्रभु इन्स्योरेन्सले १६ लाख ६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । युनाईटेड इन्स्योरेन्समा ३१ लाख ८२ हजार, नेशनल इन्स्योरेन्समा ११ लाख ५२ हजार, हिमालयन जनरलमा ५० लाख ५५ हजार, सानिमामा १८ लाख ३१ हजार, ओरेन्टलमा २३ लाख ३९ हजार, जीआईसीमा २५ लाख १० हजार र राष्ट्रिय बीमा कम्पनीमा १६ लाख रुपैयाँ कोरोना बीमा शुल्क संकलन भएको छ ।
कोरोना संक्रमितको लागि एशियन लाईफ इन्स्योरेन्सले दियो एक लाख ५१ हजार रुपैयाँ
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले कोरोना संक्रमितको लागि एक लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषको लागि उक्त सहयोग उपलब्ध गराएको हो । महानगरले हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक पूर्व तयारी तथा उपचार सम्बन्धी पूर्वाधार निर्माण गर्न उक्त अभियान शुरु गरेको हो । कम्पनीको तर्फबाट प्रदेश २ प्रमुख रामरुप सहनीले आइतबार वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीलाई सहयोग राशीको चेक हस्तान्तरण गरेका हुन् । साथै, संस्थाले यसअघि सात वटै प्रदेश सरकारको कोभिड रोकथाम तथा उपचार कोषमा ५ लाखको दरले जम्मा ३५ लाख रुपैयाँ उपलब्ध गराइ सकेको छ ।