तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा

काठमाडाैं । सरकारले २५ चैत देखि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा अब आगामी वर्षबाट भने देशैभर पुर्याउने भएको छ । यो कार्यक्रमबाट हालसम्म २७ लाखले स्वास्थ बीमा गराएका छन् । आगामी वर्ष सबै नागरिकमा पुग्ने गरी स्वास्थ्य बीमा पुर्याइने राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । हाल यो कार्यक्रमका लाग प्रति ५ जनाको परिवारका लागि ३५ सय रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ ।

बीमा दिवसः चेतना अभिबृद्धि नै मूल समस्या

काठमाडौं । विभिन्न किसिमका जोखिमको आर्थिक रक्षावरण गर्न बीमाले मद्धत गर्छ । पछिल्ला केही वर्षयता बीमाको दायरा र पहुँचमा बृद्धि भएपनि बीमा सम्बन्धि चेतनाको कमी नै मुख्य समस्या रहेको सरोकारवालाले बताएका छन् । बीमा सम्बन्धी पर्याप्त जानकारी नहुँदा अभिकर्ताले प्रभावकारी काम गर्न नसकेको, बिमितले पनि कस्तो जोखिमको रक्षावरण अतिआवश्यक हो भन्ने जानकारी नहुँदा अनावश्यक जोखिमको रक्षावरण गराउने तर आवश्यक पर्ने जोखिमको रक्षावरण नगराउँदा समस्या उत्पन्न भएको छ । बिमितले बीमा शुल्क कम गर्न गराउन मात्रै ध्यान दिने र अभिकर्ताले पनि बीमा गराउने वित्तिकै आफ्नो दायित्व पूरा हुने सोच पाल्ने गरेका कारण दाबी भुक्तानीमा समस्या आउने र त्यसले बीमाप्रति नै नकारात्मक धारणा बढ्दै जाने जोखिम छ । बीमा विज्ञ भोजराज शर्मा बीमा बारे ज्ञान कम भएको स्वीकार गर्छन् । पछिल्ला केही वर्षयता बीमा बारे जानकारी बढेको भएपनि त्यस्तो जानकारी वा ज्ञान अझै पर्याप्त नभएको शर्माको भनाइ छ । ‘पछिल्लो समय बीमाको प्रचार–प्रसार पनि राम्रोसँग भएको छ, सर्वसाधारणमा पनि बीमाबारे जानकारी प्राप्त भएको छ, तर यो अझै पर्याप्त छैन, बीमा ज्ञान र जानकारीका विषयमा थप मेहेनत गर्दै जानुपर्ने आवश्यकता छ,’ बीमा विज्ञ शर्माले भने । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमाको मुख्य कुरा भनेको दाबी भुक्तानी हो भन्छन् । बीमा गरेपछि त्यसको क्षतिमा जति सक्दो चाडो दाबी भुक्तानी दिए मात्रै बीमाप्रति सर्वसाधारणको विश्वास बढ्ने उनको भनाइ छ । ‘बीमा सम्बन्धी जानकारी प्राप्त गर्न अहिले खासै कठिन छैन, विभिन्न माध्यमबाट यससम्बन्धी ज्ञान लिन सकिन्छ, तर दाबी भुक्तानी चाडै दिन सक्दा सर्वसाधारणमा यसको महत्व अनुभूत हुन्छ,’ पौडेलले भने । जीवन बिमक संघका अध्यक्ष तथा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे पनि बीमा सम्बन्धी जानकारी अझै प्रवाह गर्नुपर्ने बताउँछन् । बीमा सम्बन्धी सामान्य जानकारी पाउन समस्या नभएपनि यसका विभिन्न आयामबारे सन्देश र जानकारी प्रवाह गरिरहनुको विकल्प नभएको अध्यक्ष पाण्डेको भनाइ छ । ‘बीमा क्षेत्रमा धेरै कम्पनी आएकाले प्रतिस्पर्धा बढेको छ, प्रतिस्पर्धाले यससम्बन्धी जानकारी र सन्देश प्रवाहमा पनि बृद्धि गरेको छ, तर यसका अन्य प्राविधिक र व्यवहारिक जानकारी प्रवाहलाई अझै जोड दिनुको विकल्प छैन,’ अध्यक्ष पाण्डेले भने । नेपाल बिमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे बीमा ज्ञानको कमी रहेको स्वीकार गर्छन् । बीमा सम्बन्धी जानकारी र सन्देशहरु निरन्तर प्रवाह गरिरहेको अवस्थामा आवश्यक पर्नेहरुले बीमा गराउने अवस्था आउने अध्यक्ष पाण्डेले बताए । ‘केही हदसम्म सबै जनालाई बीमा बुझाउँन नसकेको कुरा सही पनि हो, अहिलेसम्म धेरै धन वा पैसा हुनेले मात्रै गर्ने विषय हो भने बीमाप्रति बेग्लै प्रकारको धारणा रहेको पाइन्छ, तर बीमा सबैको लागि हो भन्ने सन्देश प्रवाहलाई निरन्तरता दिनुपर्छ, जस्तो कि कृषि तथा पशुबाली बीमामा निरन्तरको प्रयासपछि धेरै किसान यो कार्यक्रममा समेटिएका छन्,’ अध्यक्ष पाण्डेले भने । पेशागत अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारी पनि अभिकर्ताले अभिकर्ताको जोडबलमै बीमा भएको तथ्य पेश गर्छन् । बीमा आवश्यक हो, त्यसैले गर्नै पर्छ भन्ने मान्यताले भन्दा पनि अभिकर्ताको जोडबलका कारण बीमा हुने गरेको उनको भनाइ छ । ‘बीमाको आवश्यकता महशुस गरेर भन्दापनि जवर्जस्ती बीमा गराउँने काम पनि भइरहेका छन्, बीमा बुझेर आवश्यकता महसुस गरी बीमा गराउने भन्दा पनि अभिकर्ताको जोडबलले बीमा गराउनेको संख्या बढी जस्तो देखिन्छ,’ अध्यक्ष तिवारीले भने । भोजराज शर्मा, बीमा विज्ञ बीमा शिक्षामा वृद्धी आएको छ । अभिकर्ताहरुले प्रोडक्टको विषयमा सबैलाई जानकारी दिने क्रममा बीमाबारे आफूले जानेको कुरा भन्नैपर्ने हुन्छ । कुनै प्रोडक्ट लिएर बिमित कहाँ जादा अभिकर्ताले सकेसम्म त बीमाका बारेमा सकारात्मक सन्देश नै दिने गर्छन् । त्यस्तै, कहिकतै नचाहिँदा कुरा समेत अभिकर्ताहरुले भनेका हुन सक्छन् । जनतामा अहिले बीमा चेतनाको लहर आएको छ । कुनै विशेष प्रोडक्टको बारेमा थाहा नहुन सक्छ । तर, अहिले लकडाउनको अवस्थामा कोरोना बीमा पोलिसी २ हजार बिक्री भइसकेको छ । यसले पनि बीमा ज्ञान बृद्धि हुदै गएको पुष्टी हुन्छ । पूर्ण रुपमा बीमा चेतना छाइसकेको छैन । तर अहिले अनलाईन मार्फत बीमा गर्न सकिने भइसकेकोले यसको दायरा फराकिलो बनाउन पनि मद्दत मिलेको छ । हरेक क्षेत्रलाई समेट्ने भएकोले बीमालाई सबैले सुरक्षणका लागि आवश्यकता महसुश गरिसकेका छन् । यस्तै, जीवन बीमाको तुलनामा निर्जीवन बीमा अभिकर्ताहरुले बिमितको घर घरमा पुग्नु आवश्यक छ । निर्जीवन बीमा व्यवसाय धेरै जसो उद्योग कलकारखानामा सिमिति रहेको जस्तो पनि देखिन्छ । विगतको एक, दुई वर्षको चेतनाको स्तर हेर्दा क्रमिक मात्र होइन अब दु्रत गतीमा बीमा चेतनाको विकास हुने देखिन्छ । राजुरमण पौडेल, कार्यकारी निर्देशक बीमा समिति बीमाको मुख्य कुरा भनेको बीमा गरेपछि त्यसको क्षतिमा जति सक्दो चाडो दाबी भुक्तानी दिन सक्नुपर्छ । यसरी दाबी भुक्तानी चाडै दिन सक्दा छिट्टै मानिसहरुलाई बीमाको महत्व थाहा पाउँन मद्दत गर्छ । जीवन बीमामा बचत तथा रक्षावरण दुवै हुने गर्छ । थोरै पैसा तिर्दा उच्च जोखिमको रक्षावरण हुन्छ । कतिपय अवस्थामा व्यक्तिहरुले बीमा नबुझेको हुन सक्छन् । अर्को भनेको बीमा क्षेत्रका सरोकारवालाहरुले पनि कहीकतै बुझाउँन आवश्यक छ । भुकम्पपछि दाबी भुक्तानी पाउँदा सबैलाई बीमा आवश्यक हो भन्ने लागेको थियो । त्यस्तै, राज्यले पनि राष्ट्रिय सम्पत्तीहरुलाई बीमाको दायरामा ल्याउँनु आवश्यक देखिन्छ । शिवनाथ पाण्डे, जीवन बीमक संघका अध्यक्ष तथा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीमा क्षेत्रमा धेरै कम्पनी आएकाले प्रतिस्पर्धा बढेको छ । प्रतिस्पर्धा बढेसँगै बीमा जानकारी तथा ज्ञान बढेको छ । बीमा भनेको प्राविधिक विषय पनि हो । प्राविधिक विषय भएकोले अण्डर राईटीङ जस्ता विषयमा अभिकर्ताहरुले राम्रो जानकारी पाउँन नसकेको अवस्था पनि हुन सक्छ । बीमा ज्ञानको कमी भएकै कारण बीमा क्षेत्रलाई अघि बढ्उन केही समस्या भएको हुन सक्छ । तर सबैतिर नराम्रो भएको छैन । कहिलेकाही कहिकतै बीमा बजारमा कहिले काही जबरजस्ती बीमा बेच्ने गरेको पाइएमा अभिकर्तालाई राम्रो तालिम दिन आवश्यक छ । अर्को भनेको जीवन बिमक संघबाट छलफल गरेर हामीले यस्ता समस्याका तत्काल समाधान निकाल्न सक्छौँ । तरपनि कहिकतै आएका घटनामा सबैलाई मुछ्नु भन्दा त्यसबाट पाठ सिकेर अगाडी बढ्नु पर्छ । दीपप्रकाश पाण्डे, नेपाल बिमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत केही हदसम्म सबै जनालाई बीमा बुझाउँन नसकेको कुरा सही पनि हो । अहिले हाम्रोमा आर्थिक रुपमा सबल भएकाहरुले नै बीमा गर्दा आएको पाइन्छ । हो, बीमा गर्नको लागि बीमाशुल्क तिर्न सक्ने क्षमता चाहिन्छ पनि । तर बीमा सबैको लागि आवश्यक छ भन्ने कुरा बुझाउन आवश्यक छ । पहिले कृषि बीमामा त्यति आर्कषण थिएन । सरकारले कृषि बीमामा अनुदान दिन थालेपछि आकर्षण बढेको छ । भुकम्पको बेलामा त बाहिरबाट पैसा आयो । त्यति बेला बीमा गर्नेहरुलाई पनि सहज नै भयो । तर, अहिलेको अवस्था भनेको सबै देशलाई एक किसिमको संकट छ । सोही कारण हाम्रो सरकारले पनि बीमा गराउँने वातावरण सिर्जना गर्ने कुरा सोच्न जरुरी छ । तीन लाख रुपैयाँ बराबरको घर बीमा गर्न वार्षिक ४ सय रुपैयाँ जति गर्छ । यो कुरा ३ लाखको घर हुनेलाई थाहा नहुन सक्छ । सरकारले यस्ता कुरामा सघाएमा राम्रो हुन्छ । आजको दिनमा बीमा बुझ्नेले पनि गरेका छैनन् । त्यसमा आर्थिक पाटो एक ठाउँमा छ । अर्को भनेको पहिले दाबी भुक्तानीमा केही ढिलाई हुने भएकाले बीमा बजारलाई त्यसरी नै हेर्ने पनि छन् । तर, अहिले बीमा कम्पनीहरु सचेत भइसकेका छन् । फोन, भिडीयोले गर्दा अहिले कम्पनीको वित्तीय विवरण हेरेर बीमा गर्न मिल्ने समय आइसकेको छ । न्यून आय भएकालाई केही राहत दिएर बीमा क्षेत्रमा समावेश गराउँन सकिन्छ । मुख्य कुरा भनेको बीमा गराउँने बानी बसाउँनुु पनि हो । सरकारले अनुदान दिएमा बीमा क्षेत्रमा राम्रो हुने देखिन्छ । जुम्ला जस्तो ठाउँमा हामीले वार्षिक ३ करोडको बीमा गछौँ । यसमा बीमा सम्बन्धि जानकारी तथा सरकारले अनुदान दिएर सम्भव भएको हो । अबको बीमा बजार भनेको सबैले आफूूले हाँसिल गरेको जानकारी अरुलाई समेत दिएर अघि बढ्नु पर्ने बेला आएको छ । नन्दप्रसाद तिवारी, पेशागत अभिकर्ता संघका अध्यक्ष बीमाको आवश्यकता महशुस गरेर भन्दापनि जबर्जस्ती बीमा गराउँने काम पनि भइरहेका छन् । धेरैे जसो अवस्थामा बीमा गर्नेले बीमालाई राम्रैसँग बुझेका पनि पाइन्छ । तर, जबर्जस्ती बीमा भिडाउने परिपाटीलाई पूर्णरुपमा निस्तेज पार्न आवश्यक छ । यस्ता क्रियाकलापले बीमाको महत्व ओझेलमा पर्छ । बीमा अभिकर्तालाई दिइने तालिम बीमा कम्पनीले होइन, बीमा समितिले दिन आवश्यक छ । कम्पनीहरुले अभिकर्तालाई तालिम दिदा आफ्ना प्रोडक्टमा मात्रै फोकस भएको पाइन्छ । डबल बोनस पाउँनु हुन्छ भन्ने लोभ बिमितलाई देखाएर बीमा गर्ने होइन । अभिकर्ताहरुले कुनै बीमा कम्पनीले दिएको निर्देशन अनुसार काम गर्ने हो । तरपनि कहीकतै कुनै अभिकर्ताहरुले गर्ने गल्तीलाई लिएर सबैलाई उस्तै मान्ने गरिन्छ । त्यसरी सबैलाई मुछ्नु राम्रो कुरा होइन । बिमितको आवश्यकता अनुसारको बीमा अभिकर्ताहरुले गराई दिएमा बीमाको पहुँच वृद्धीमा सघाउ पुग्ने थियो ।

बीमा गर्ने घरधनीलाई बेनिफिट दिऊँ, सबैलाई फाइदा हुन्छ-दीपप्रकाश पाण्डे

नेपाल बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे बीमा क्षेत्रकै केन्द्रविन्दुमा छन् । उनले नेतृत्व गरेको कम्पनी शिखर इन्स्योरेन्स निर्जीवनतर्फ धेरै सूचकाङ्कमा सबैभन्दा अगाडि छ । जहिले पनि बजारमा आक्रामक रुपमा प्रस्तुत हुनु, सिर्जनात्मक कार्यमा लगानी गर्नु, नियामकसँग नजिक बसेर काम गर्नु उनको व्यक्तिगत खुबी र विशेषता हो । कोरोना भाइरस बीमा गराउने क्रममा पनि उनको कम्पनी अगाडि देखिएको छ । प्रस्तुत छः कोरोना महामारी र बीमा क्षेत्रमा परेको असरबारे केन्द्रीत भएर बीमक संघका अध्यक्ष पाण्डेसँग गरिएको विकास वहस । कोरोना महामारीको असर निर्जीवन बीमा क्षेत्रमा कस्तो पर्दैछ ? यो वर्ष साढे ८ महिना अवस्था सामान्य थियो । सबैको विजनेशन नर्मल थियो । २ महिनाअघिको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ । अनिश्चितता बढेको छ । लकडाउन कहिलेसम्म जान्छ, महामारीले कुन रुप लिन्छ, अनुमान गर्न पनि नसकिने परिस्थिति छ । आज ठिक लागेको कुरा भोलि ठिक नलाग्न सक्ने अवस्था छ । बीमा क्षेत्रको कुरा गर्ने हो भने अहिले धेरै सेवाहरु इन्टरनेटको माध्यमबाट भईरहेको छ । बीमा समितिले पनि इमेलबाट गरिएको सञ्चारलाई मान्यता दिने भनेको छ । अवस्था सामान्य भएपछि प्रिन्टेट डकुमेन्ट बन्छन् । बीमा पोलिसी नविकरण गर्ने, नो क्लेम दावी गर्ने लगायतको सेवा अवधि थपिदिएको छ । व्यक्तिगत रुपमा मलाई के लाग्छ भने यतिबेला सबैलाई राहात चाहिएको छ । ठूलालाई ठूलै राहात चाहिएको होला, सानालाई सानै राहात चाहिएको होला । बीमा कम्पनीहरुले पनि यतिबेला बीमितलाई सहयोग गर्नुपर्छ । सहयोग भनेको पैसामा मात्र हुने होइन, अन्य सेवा दिएर पनि सहयोग गर्न सकिन्छ । यतिबेला मोटरहरु गुडेका छैनन् । यसमा जोखिम कम छ । दावी काम आउला । उनीहरुलाई केही राहात दिन सकिन्छ । जसरी घरमा श्रीमान्  ले भान्छामा गएर आलु तास्ने काम गर्दा श्रीमतीले सहयोग पाएको महसुस गर्छिन, त्यसरी हामीले ग्राहकलाई सिम्बोलिक रुपमा भए पनि सहयोग गर्नुपर्छ । आलु तास्ने वा केराउ छोडाउने काम के ठूलो हो र ? तर त्यसले परिवारमा खुशी ल्याउँछ । कोरोना महामारीसँगै बीमा प्रति सर्वसाधारणको मानसिकतामा कस्तो प्रभाव देखिन्छ ? नेपालमा बीमा भनेको जहिले पनि फोर्स मार्केट नै हो । नेपाल इन्स्योरेन्सको स्थापना भएको नेपाल बैंकको मोर्गेज लोन इन्स्योर गर्न हो । सशस्त्र द्वन्द्वको बेलामा उद्योग, कारखाना, घरको बीमा अलि बढ्यो, हुलदंगा बीमा हुन थाल्यो । सवारी दुर्घटना बढेपछि तेस्रो पक्षको बीमा शुरु भयो । कृषि बीमामा अनुदान दिनु पनि फोर्सफूली मार्केटिङ नै हो । बीमा जहिले पनि आर्थिक अवस्थासँग जोडिएर आउँछ । आफ्नो आयले खान, बस्न, लाउन, छोराछोरीको पढाईमा पुगेर बचत भयो भने बल्न मान्छेले बीमाको बारेमा सोच्न सक्छ । बचत नै नभएको अवस्थामा मान्छेलाई बीमा गराउन गाह्रो छ । अहिलेको अवस्थामा जो बीमित छन्, उनीहरुलाई सुरक्षित राख्नन सकिन्छ उनीहरुलाई केही राहात दिने कार्य गर्नु नै अहिलेको सबैभन्दा ठूलो काम हो । अहिले कोभिड–१९ बीमा शुरु भएको छ । कोभिड लागेकाको उपचार खर्च त सरकारले गरिदेला । तर उनीहरुको आफन्तहरुलाई धेरै सकस परेको हुन्छ । उपचारको लागि घर छोडेर हिड्नुपर्ने होला । उनीहरुलाई बस्न खान खर्च चाहिन्छ । विरामीलाई ठिक भएपछि पनि पौष्टिक खाना खानुपर्यो । कोभिड बीमाले बीलभर्पाई मागिन्न । कोभिड–१९ बीमालाई सर्वसाधारणले कसरी लिएका छन् ? धेरैले खुशीका साथ कोभिड–१९ बीमा गरेका छन् । सहरमा पनि, गाउँमा पनि यसप्रति मानिसहरुको रुचि छ । मिडियाले पनि सकारात्मक रुपमा प्रचार प्रसार गरेर सहयोग गरेका छन् । बीमा समितिको भूमिका पनि राम्रो छ । कोभिड–१९ बाट आएको बीमा शुल्क अपरेशनमा अलिअलि खर्च होला । यसबाट बचेको सबै रकम महाविपत्ती कोषमा जम्मा गर्ने सोच रहेको छ । कोभिड–१९ बीमा पोलिसी जारी गरेपछि संकलित रकम महाविपत्ती कोषमा जम्मा गर्ने विषयमा सबै बीमा कम्पनीहरुबीच तथा बीमा समितिबीच सहमति भएको हो ? यो मेरो व्यक्तिगत धारणा हो । मलाई लाग्छ, बीमा समितिले पनि यहि चाहेको छ । अरु बीमा कम्पनीहरु पनि यसमा सहमति हुनुहुन्छ होला । किनभने हामीलाई विपद् पर्दा एकले अर्कोलाई सहयोग गर्नुपर्छ । अहिले विदेशी आएर हामीलाई ठूलो मात्रामा सहयोग गर्ने सम्भावना छैन । कोरोना महामारीबाट विश्वका सबै देश पीडित छन् । सम्पन्न देशहरु पनि अरुको सहयोग मागिरहेका छन् । यस्तो अवस्थामा हाम्रो देश आफै सक्षम हुनुपर्छ । बैकिङ क्षेत्र, बीमा क्षेत्र, कर्पोरेट क्षेत्र, कृषि क्षेत्र सबै सक्षम हुनुपर्यो । महामारी र बीमाको सम्बन्ध कस्तो हुन्छ ? महामारीको बेलामा कस्तो कस्तो जोखिम बीमाले धारण गरेका हुन्छ ? सिद्धान्ततः महामारीमा बीमाले जोखिम कभर गर्दैन । युद्ध वा महामारीको बेलामा कति क्षति हुन्छ भनेर हिसावकिताव गर्न पनि सकिदैन । हुन त भूकम्प पनि महामारी हो । तर भूकम्पको जोखिम लिदा कम्पनीहरुले ५ देखि २० प्रतिशतसम्म जोखिम आफूले लिएका हुन्छन् । कोरोना महामारी भनेको जन स्वस्थ्यसँग सम्बन्धित महामारी हो । यस्तो महामारीको बीमा हुँदैन । भारतमा स्वास्थ्य बीमामा महामारीको बीमा छैन भने पनि कभर गर्नु भनेर त्यहाँको सरकारले निर्देशन दिएको छ । शिखर इन्स्योरेन्सको कुरा गर्नुहुन्छ भने हामीले बिक्री गरेको स्वास्थ्य बीमा पोलिसीले कोभिड–१९ लाई कभर गर्छ । हामी बीमितको उपचारमा बीमा दावी भुक्तानी गर्छौ । जुन कम्पनीको स्वास्थ्य पोलिसीले कोरोना कभर गर्न सक्दैन, उनीहरुको लागि हामीले अहिले कोभिड–१९ बीमा पोलिसी ल्याएका छौं । अहिलेसम्म ६५ हजार भन्दा बढीले कोभिड–१९ बीमा पोलिसी लिइसक्नु भएको छ । २ करोड ८७ लाख भन्दा बढी बीमा शुल्क उठेको छ । हामी ३०० जनामा कोभिड देखियो भने पनि बीमा भुक्तानी दिन सक्छौं । महामारी धेरै फैलियो, १० हजार बीमितले कोरोना बीमा दावी गरेभने करिब ७५ करोड रुपैयाँ दावी आउँछ । एउटा कम्पनीको भागमा करिव साढे ३ करोड पर्ला । सबै बीमा कम्पनीको महाविपत्ती कोषमा केही न केही रकम छ । शिखर इन्स्योरेन्सकै कुरा गर्ने हो भने महाविपत्ती कोषमा १६ करोड रुपैयाँ छ । त्यसैले हामीले व्यवस्थापन गर्न सक्छौं । कोरोना बीमा पोलिसीको माग धेरै भयो, दावी पनि धेरै आउन थाल्यो भने हामीले बीमा शुल्क बढाउन सक्छौं । बीमा लेख धेरै गयो, दावी कम आयो भने बीमा शुल्क घटाउँला । केही नगर्नु भन्दा अहिले हामीले जे गरेको छौं, त्यो धेरै राम्रो काम भएको छ । यो सफल भयो भने हामीले भोलिका दिनमा अरु नयाँ काम पनि गर्नसक्छौं । २० हजारसम्म कोरोना दावी भयो भने पनि हामीले व्यवस्थापन गर्न सक्छौं । त्यो भन्दा पनि ठूलो महामारी आयो भने त्यसले नयाँ चुनौति सिर्जना गर्छ । त्यसैले हामीले अहिले पनि यस्तो प्रडक्टको पुर्नबीमाका लागि खोज गरिरहेका छौं । कोरोना बीमा स्वस्थ्य जोखिम न्यूनिकरण गर्नको लागि आयो । व्यवसायिक जोखिम न्यूनिकरण गर्ने बीमा पोलिसी किन आएनन् ? बीमा समिति, बीमक संघबीच कसरी राहात दिने भनेर छलफल भइरहेको छ । तर अहिले नै यहि भन्ने अवस्था छैन । सहयोग भनेको पैसा फिर्ता गर्नुपर्छ भन्ने होइन । बीमा अवधि बढाउन सकिन्छ । १२ महिनाको पोलिसीलाई १३ वा १४ महिना बनाउन सकिएला । दावी भुक्तानी प्रक्रियालाई अझ सरल बनाईदिन सकिन्छ । नविकरण गर्दा बीमा शुल्कमा छुट दिन सकिन्छ । तर व्यवसायिक घाटा वा महामारीको कारण आयमा कमी हुने जोखिमको बीमा नेपालमा नगन्य मात्रामा छ । पछिल्लो समय जलविद्युत कम्पनीहरुले कन्सेक्विन्सल लसको पोलिसी लिन थालेका छन् । किनकी त्यहाँ धेरै जोखिम देखियो । वहुराष्ट्रिय कम्पनीहरुले, विदेशमा पढेर आएको विजनेशन म्यानहरुले पनि यस्तो बीमा पोलिसी लिन चाहान्छन् । मलाई लाग्छ, अब यस्तो जोखिमको बीमा पोलिसीको माग बजारमा बढ्न सक्छ । बिडम्मना भूकम्प पछि केही समय घर बीमा गर्न धेरैले इच्छाए । अहिले त्यो हट्दै गएको छ । हवाई सेवा, होटल लगायत पर्यटन क्षेत्रले बीमा शुल्कमा छुट दिनुपर्छ भन्ने माग आएको छ । यी माग कति जायज र व्यवहारिक छ ? सरकारले पैसा हालिदिन्छ भने त त्यो राम्रो हो । तर बीमा कम्पनीले नै हवाई बीमामा शुल्क छुट दिन सक्दैन । हवाई बीमा शुल्क विश्वमा नै बढ्दै गएकोले पनि शुल्क छुट दिन सम्भव छैन । होटल क्षेत्रको बीमा शुल्कमा पुर्नविचार गर्न सकिन्छ, जसको जोखिम धेरै हदसम्म नेपाली बीमा कम्पनीहरुले धारण गरेका हुन्छन् । खासगरी पुर्नबीमा वापत विदेशमा जाने प्रिमियम कसरी कम गर्ने र कसरी नेपाली कम्पनीहरुको हिस्सा बढाउने भनेर गृहकार्य गरिरहेका छौं । यतिबेला बीमा कम्पनीहरुले सरकारसँग के अपेक्षा गरेको छ ? म फेरी परिवारको कुरा गर्छु । बुबाआमाको आम्दानीको स्रोत र क्षमताको आधारमा छोराछोरीले माग राख्नुपर्छ । बुबाआमाले धान्न नसक्ने माग छोराछोरीले पनि राख्नुहुन्न । अहिलेको महामारी कसैले परिकल्पना गरेको थिएन । सरकारका पनि आफ्नै लिमिटेशन छन् । सरकारले अध्ययन गरिरहेको होला । पक्कै सरकारले केही न केही राहातका कार्यक्रम ल्याउला । सरकारले नयाँ बजेट ल्याउँदैछ । यसमा बीमक संघको सुझाव के छ ? आयकर घटाउनु पर्छ भनेर म भन्दिन तर निर्जीवनमा भ्याट छुट गराउनुपर्छ । भ्यानले बीमा महँगो भयो । दोस्रो, नीतिगत रुपमा बीमालाई प्रोत्साहित गर्नुपर्छ । कृषि सहुलियत दिदाँ किसानहरुलाई धेरै राहात भएको छ । पशु तथा बालीमा रोग आयो, नोक्सान भयो भनेर किसानहरु सरकारसँग राहात माग्न जान छोडेका छन् । अब सरकारले लघु बीमालाई प्रोत्साहित गर्नुपर्छ । स्थानीय सरकारले बीमा गर्ने घरधनीलाई थोरै बेनिफिट दिने हो भने पनि मानिसहरुमा बीमाको बानी बस्छ । सबै घरको बीमा गर्न सकियो, बीमा गर्ने बानी सबैमा विकास गर्न सकियो भने सरकारलाई पनि, बीमितलाई पनि र बीमा कम्पनीहरुलाई पनि लाभ हुनेछ । बीमा कम्पनीहरुले यस वर्ष साधारणसभा पनि गरेका छैनन् । गत वर्षको नाफाबाट पनि सेयरधनीलाई लाभांश दिएको छैन । बीमा क्षेत्रले आगामी वर्ष लगानीकर्तालाई कति लाभांश देला ? पहिला २५ करोड पुँजी भएका कम्पनीहरुले अहिले १०० करोड पुँजी बनाएका छन् । मैले पहिला पनि भनेको थिए, २÷३ वर्ष लगानीकर्तालाई लाभांश दिन गाह्रो छ । शिखरको कुरा गर्ने हो भने गत वर्षको पनि लाभांश दिन बाँकी छ । तर कम्पनी बलियो भएको छ । कम्पनीको नेटवर्थ ३०० करोड हुन लागेको छ । कम्पनी बलियो भएपनि लगानीकर्तालाई पे गर्न सक्छ । लकडाउनको कारण उद्योग चलेका छैनन, सवारी गुडेका छैनन्, हवाई सेवा पनि बन्द छ । बीमा गरिएको सम्पत्ति सुरक्षित बसेको छ । जोखिम कम छ । बीमा दावी कम आउला । त्यसले कम्पनीहरुको नाफा वृद्धि गर्न सहयोग गर्ला नि ? पक्कै पनि । म त जहिले पनि पोजेटिभ । म त राम्रो देख्छु । लकडाउनमा पहिला जस्तो विजनेश हुँदैन । खर्च पुरानै हुन्छ । मुद्दति व्याज कम हुन सक्छ । तर लगानीको नयाँ क्षेत्र खोज्नुपर्छ । बीमा समितिले पनि हामीलाई सहयोग गर्ला । अर्को, हस्पिटल क्षेत्रबाट हुने फ्रड रोक्न सक्यो भने कम्पनीको नाफामा वृद्धि गर्छ ।