अहिलेकाे चुनौतीपूर्ण अवस्थामा सबै एकजुट भई अगाडि बढौं- सीईओ झा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पन का प्रमुख कार्यकारी अधिकृत विवेक झाले अहिलेको चुनौतीपूर्ण अवस्थाबाट पनि मानव जीवनले धैर्यताका साथ अगाडि बढ्नु पर्ने बताएका छन् । रातपछि सधैं नयाँ बिहानी आउँछ भन्दै उनले यस्तो अवस्थामा सबै एकसाथ एकजुट भै अगाडि बढेमा विजय प्राप्त गर्ने कुरामा सबै विश्वस्त हुनु पर्ने बताएका छन् । साथै, हाल कोरोना भाइरस (कोभिड-१९) का कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई धैर्य धारण गर्दै आफू, आफ्नाे परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै आवश्यक जीवनशैली अपनाउन उनले आग्रह गरेका छन् । कम्पनीको २०औं वार्षिकोत्सवको अवसरमा सीईओ झाले सो कुरा बताएका हुन् । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको यस इन्स्योरेन्स १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा इन्स्योरेन्सले बीमित, सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । यस अवसरमा सीईओ झाले बीमा समिति, बीमित, शेयरधनी, सञ्चालक समिति, नियमनकारी निकाय लगायत कर्मचारी, अभिकर्ता तथा सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गरेका छन् । सञ्चालक समितिका तर्फबाट नेपाल लाइफका अध्यक्ष गोविन्द संघईले आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गरेका छन् । २० औं वर्ष प्रवेशको उपलक्ष्यमा नेपाल लाइफका सम्पूर्ण कर्मचारीहरुको आफ्नाे तर्फबाट ८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु सहयोग स्वरुप प्रदान गरेको छ । उक्त रकमले सातै प्रदेशका विभिन्न स्थानहरुमा रहेका अनाथ, महिला तथा बृद्ध-बृद्धालाई राहत प्रदान गरेको कम्पनीले जनाएको छ । जस अन्तर्गत प्रदेश नं. १ मा प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश नं. १ कारोना जनसुरक्षा कोष’ मा रु. १ लाख २१ हजार रकम प्रदान गरेको छ । त्यसैगरी प्रदेश नं. २ भित्र रहेका विभिन्न अनाथाश्रम, महिला आश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न, अत्यावश्य वस्तुहरु, लत्ता कपडा, पानी ट्यांकी, पंखा, इन्भटर लगायत सहयोग गरेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेश भित्र रहेको विभिन्न अनाथाश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरु प्रदान गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका सम्बन्धित प्रदेशका क्षेत्रीय प्रमुखको नेतृत्वमा कर्मचारीहरुले उक्त सहयोग गरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस अघि नै कोरोना भाइरस (कोभिड-१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. १ (एक) करोड रकम योगदान गरिसकेको छ । हाल नेपाल लाइफले जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको छ । २० वर्ष प्रवेश गर्दा नेपाल लाइफको चुक्तापुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी ८६ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ८२ अर्ब रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ६० करोडभन्दा बढी रहेको छ । १ लाख ५४ हजार ५ सय ६ जना प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेशमा गरी २७ लाख ३६ हजार ३ सय ११ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिष्टम तथा डिजिटल वालेट बाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु इसेवा, खल्ती, कनेक्ट आईपीएस तथा प्रभु पे बाट अनलाइन भुक्तानी भइरहेको छ । त्यस्तै, फोन पे मार्फत आफ्नो बैंक खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिङ लगायतका मार्फत अनलाइन भुक्तानीको सेवा प्रदान गरिरहेको छ ।
पुनर्बीमा विज्ञ श्रेष्ठको निधन
काठमाडौं । पुनर्बीमा विज्ञ शैलेन्द्र कुमार श्रेष्ठको निधन भएको छ । क्यान्सर रोगबाट पीडित श्रेष्ठको ६८ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो । नेपालमा बीमा क्षेत्रको बारेमा जानकार श्रेष्ठ राष्ट्रिय बीमा संस्थानको उपमहाप्रबन्धक पदबाट अवकाश पाएका व्यक्ति हुन् । संस्थानबाट अकाश पाएका श्रेष्ठ त्यसपछि यनाइटेड इन्स्योरेन्स, अलायन्स इन्स्योरेन्स, एभरेष्ट, लुम्बिनी जस्ता बीमा कम्पनीको उच्च व्यवस्थापन तहमा बसेर काम गरेका थिए । लुम्बिनी इन्स्यारेन्स कम्पनीमा कार्यकाल सकिएपछि श्रेष्ठ नेपालको एकमात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको विज्ञका रुपमा संलग्न भएका थिए । श्रेष्ठको भारत, युरोप, अमेरिका तथा अफ्रिकाका पुनर्बीमा कम्पनीसँग राम्रो सम्बन्ध र सम्पर्क थियो । श्रेष्ठको हिजो निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका एक छोरी र एक छोरा छन् । उनका छोरा बुहारी अष्ट्रेलियमा बस्दै आएका छन् भने छोरी ज्वाइ अमेरिकामा छन् । उनकी श्रीमती पनि केही समयअघि छोरी ज्वाइ भेट्न अमेरिका गएकी थिइन् । छोरी ज्वाइ भेट्न अमेरिका गएका समयमा श्रेष्ठको निधन भएको हो । श्रेष्ठको निधनले आफूहरुले अभिभावक गुमाएको र नेपाली बीमा क्षेत्रलाई ठूलो नोक्सानी भएको बीमा कम्पनीका उच्च व्यवस्थापन तहका अधिकारीहरु बताउँछन् । प्यांक्रियाजको क्यान्सरबाट पीडित श्रेष्ठको करिब ४ वर्षअघि सल्यक्रिया गरिएको थियो ।
दुई सातामै ३० हजारले गरे काेराेना बीमा, थप राहत दिन अध्ययन समिति गठन
काठमाडौं । दुई साताअघि शुरु भएको कोरोना भाइरस सम्बन्धि बीमा प्रभावकारी देखिएको छ । यस अवधिमा झण्डै ३० हजार बीमा पोलिसी बिक्री भएको छ भने १ करोड ५० लाख रुपैयाँ भन्दा बढी बीमा शुल्क संकलन भएको छ । शनिवारसम्ममा २५ हजार ३७७ वटा बीमा पोलीसि जारी भएको छ । त्यसबाट १ करोड ३५ लाख १७ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ । आइतबारसम्म ३० हजार भन्दा बढी बीमा पोलिसी बिक्री भएको अनुमान छ भने १ करोेड ५० लाख रुपैयाँ भन्दा बढी बीमा शुल्क संकलन भएको छ । २० वटा निर्जीवन बीमा कम्पनीहरु मध्ये १९ वटाले कोरोना भाइरस बीमा पोलिसी बिक्री गर्न थालेका छन् । राष्ट्रिय बीमा कम्पनीले भने अहिलेसम्म एउटा पनि यस्तो बीमा पोलिसी बिक्री गरेको छैन । कोरोना बीमामा पनि सबैभन्दा बढी पोलिसी शिखर इन्स्योरेन्सले बिक्री गरेको छ । शनिबारसम्म यस कम्पनीले ५१२ बीमा पोलिसी बिक्री गरेको छ । हिमालयनले ३२० र सगरमाथा इन्स्योरेन्स कम्पनीले २०१ बीमा पोसिली बिक्री गरी यस क्षेत्रमा क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । शनिबारसम्म यस्तो बीमा गर्नेबाट बीमा दावी भएको छैन । यस पोलिसीप्रति सर्बधारणमा सकारात्मक सन्देश गएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । कोरोना भाइरस बीमा शुरू, न्युनतम बीमा शुल्क ३ सय रूपैयाँ आइतबार बीमा समिति र बीमक संघबीच कोरोना बीमा पोसिलीको प्रभाव र अब गर्ने नयाँ कामको बारेमा छलफल भएको छ । छलफलमा कोरोना बीमा प्रभावकारी देखिएको, कोरोना भाइरसबाट बढी प्रभावित जिल्लाहरुमा यसको विस्तारमा जोड दिनुपर्नेमा सबै सहमत भएका छन् । छलफलमा बीमा क्षेत्रबाट बीमितलाई कसरी बढी भन्दा बढी लाभ दिन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न एक टोलि गठन भएको छ । समितिमा नेपाल बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्री, एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त, लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार खत्री छन् । अध्ययन समितिले बीमितलाई के कस्तो सुविधा दिन सकिन्छ भनेर अध्ययन गरी एक सातामा बीमा समितिलाई सुझाव बुझाउने छ । सुझावका आधारमा बीमा समितिले आवश्यक निर्देशन जारी गर्ने छलफलमा सहमति भएको स्रोतले जानकारी दियो ।