गुराँस लाइफको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवाबाटभुक्तानी गर्न सकिने भएको छ । यो सँगै गुराँस लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क तिर्न सकिन्छ । गुराँस लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने । ‘हामीले पछिल्ला दिनमा जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्ट सम्म पुग्न पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो सेवा सुरु गरेका हौँ । यस किसिमको सहकार्यले बमितहरूले घरमै बसेर सजिलै सँग प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ ।’ देशभरी ९० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोडभन्दा बढिले सेवा लिइरहेका छन् । इसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । कम्पनीले मुलुकभर ७६ वटा शाखा मार्फत सेवा दिँदै आएको छ । कम्पनीले गुराँस सावधिक जीवन बीमा योजना, गुँरास अग्रिम भुक्तानी सार्वधिक जीवन बीमा योजना, गुँरास जीवनश्री (सार्वधिक र आजीवन) बीमा योजना, गुँरास बाल सुरक्षा जीवन बीमा योजना, गुराँस संजीवनी अग्रिम भुक्तानी जीवन बीमा योजना, गुराँस जीवन रक्षक (सीमित भुक्तानी सावधिक जीवन बीमा योजना) जस्ता बीमा योजना सञ्चालन गरिरहेको छ ।

लकडाउनले बीमा कम्पनीहरुको ७ अर्बको आईपीओ अन्योलमा

काठमाडौं । पछिल्लो समय लाईसेन्स पाएका (नयाँ बीमा कम्पनी) हरुको साधारण सेयर कहिले निष्काशन हुने भन्ने विषयमा कुनै टुंगो लागेको छैन । साधारण सेयरका लागि कतिपय कम्पनीहरुले प्रकृया पूरा गरेपनि निष्काशनलाई भने समय लाग्ने देखिएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार बीमा कम्पनीहरुले आफ्नो तर्फबाट गर्नु पर्ने काम सकेका छन् । सेयर निष्कासनको लागि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डबा हुनु पर्ने केही काम भने बाँकी छन् । ‘अहिले देशभर लकडाउन छ, हामीले साधारण सेयर निष्काशन लागि गर्नुपर्ने सबै काम गरिसकेका छौं, धितोपत्र बोर्डमा विचाराधिन अवस्थामा रहेका कामहरु अहिले त्यत्तिकै थाती छन्, अहिले देशको परिस्थिति नै विषम छ, हरेक किसिमका क्रियाकलाप अहिले रोकिएकाले सेयर निष्कासन दोस्रो प्राथमिकताको विषय भएको छ,’ सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले विकासन्युजसँग भने । यस्तै, जनलर इन्स्योरेन्स कम्पनीका महा–प्रबन्धक एसके टमोटका अनुसार केही ढिलाईबाट भएपनि कम्पनीहरु सेयर निष्कासनको प्रक्रियामा अघि बढिसकेका छन् । तर, सेयर निष्कासन प्रक्रियालार्य लकडाउनले प्रभावित पारेको छ । ‘हामीले चैत्र १४ गते आर्थिक वर्ष २०७५/७६ को एजिएम राखेका थियौं, तर कोरोना महामारीका कारण एजिएम नै स्थगित हुन पुग्यो, सोही कारण हामीले एजिएम सारेका छौँ, अब अफिसहरु सामान्य रुपमा सुचारु भएपछि प्रकृया अघि बढ्छ, बोर्डबाट पास हुनपनि महिनौ लाग्ने देखिएको छ, त्यहाँबाट फटाफट काम भएमा त चाडै निष्काशन हुने सम्भावना पनि छ’, जनरल इन्स्योरेन्स कम्पनीका महा–प्रबन्धक टमोटले भने । अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीका अनुसार धितोपत्र बोर्डले केही कमेन्ट गरेको र त्यसको जवाफ दिन खोज्दैगर्दा लकडाउनको कारण काम रोकिएको छ । ‘साधारण सेयर निष्कासनको लागि धितोपत्र बोर्डले अन्तिम चरणमा पुगेको जानकारी दिएको थियो, हामीले आफ्नोतर्फबाट काम गरिरहेकै थियौं, बोर्डबाट आएको केही कमेन्टको जवाफ दिन बाँकी नै हुँदा काम रोकिन पुगेको अवस्था छ, चालु आर्थिक वर्षको असार मसान्तसम्म साधारण सेयर निष्काशन गर्न पनि त्यति सहज देखिदैन, अब हेर्दै जाउँ के के हुन्छ,’ अजोड इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत खत्रीले भने । कति आउँछ आईपीओ ? अहिले संचालनमा रहेका १० वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेका छैनन् । निर्जीवन बीमा कम्पनीतर्फ अडोज, जनरल र सानिमा जनरलले ३०/३० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारी गरेका छन् । यस्तै, जीवन बीमा कम्पनीतर्फ सिटिजन लाइफले ७५ करोड, ज्योति लाइफले ६६ करोड, युनियन लाइफले ६४ करोड ५० लाख, रिलायन्स लाइफले ६३ करोड र सानिमा लाइफले ६० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारी गरेका छन् । प्रभु लाइफ, आईएमई लाइफ, रिलायवल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ६०/६० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारी गरेका छन् । तर, कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले देशभर लागू गरेको लकडाउनको कारण कम्पनीहरुले जारी गर्न लागेको आईपीओ अनिश्चित भएको छ । यी सबै कम्पनीको गरी करिब ७ अर्ब रुपैयाँ बराबरको आईपीओ आउनेछ । आईपीओ जारी गर्ने प्रक्रियामा रहेको नेपाल पुनर्बीमा कम्पनीले भने आईपीओ जारी गरिसकेको छ ।

लकडाउनले ह्वात्तै घट्यो मोटर बीमामा दाबी

काठमाडौं । लकडाउनअघि बीमा कम्पनीहरुमा मोटर बीमा सम्बन्धि औसतमा दैनिक ५० वटा जति दाबी पथ्र्यो । लकडाउनको अवधिमा सो संख्या दैनिक १ देखि २ मा समित हुन पुगेको छ । लकडाउनले सडकमा सवारी साधन गुड्न नपाउँदा बीमा कम्पनीहरुमा आउँने मोटर दाबीको संख्यामा ह्वात्तै कमी आएको कम्पनीहरुले बताएका छन् । विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरुले बताए अनुसार लकडाउनकै कारण पहिलेको तुलनामा अहिले मोटर बीमाको दाबी संख्या अत्यन्तै न्युन छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले दिएको जानकारी अनुसार सडकमा अहिले गाढी ठप्प रहेकाले दुर्घटना कम भएको तथा बीमा दाबी पनि घटेको हो । ‘लकडाउन पहिले दैनिक ४० को संख्यामा सवारी दुर्घटना बीमा दाबी पर्ने गरेको थियो, अहिले मुस्किलले १ देखि २ वटा दाबी पर्ने गरेका छन्, सडकमा गाडीको संख्या घटेसँगै बीमा दाबी समेत एकाएक घट्न थालेको हो’, प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले विकासन्युजसँग भने । यस्तै, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीका अनुसार मोटरको दाबी केही मात्रामा परेपनि संख्या भने घटेको छ । ‘अहिले अलि–अलि दाबी परेपनि पहिलेको तुलनामा घटेको छ, दाबी संख्या घट्बढ भइरहने भएपनि लकडाउनको कारण अर्थतन्त्र नै प्रभावित हुने अवस्था आएमा बीमा कम्पनीहरुले आवश्यक रणनीति अपनाएर अघि बढ्नु पर्छ,’ प्रमुख कार्यकारी अधिकृत खत्रीले भने । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैद्यवारका अनुसार मोटर दाबी अत्यन्तै कम परेका छन् । तर, जति दाबी परेका छन्, तिनको भुक्तानी बीमा कम्पनीहरुले तुरुन्तै गराउँदै आएका छन् । ‘लकडाउन पहिले एकदिनमा पर्ने मोटर बीमा दाबी अहिले बल्लतल्ल महिनामा दिनमा पर्न थालेको छ, हामी कहाँ परेको दाबीको तत्काल भुक्तानी गर्ने गरेका छौं,’ प्रमुख कार्यकारी अधिकृत बैद्यवारले भने ।